‘जवा–तिला’ जलविद्युत निर्माणकाे सर्वे लाइसेन्स प्राप्त, डेढ कराेड बजेट निकासा

जुम्ला । जुम्लामा निर्माण हुने ७० मेगावाटको जवा–तिला जलविद्युत् आयोजना निर्माणका लागि सर्वे लाइसेन्स प्राप्त भएको छ । उज्यालो जुम्ला बनाउने अभियानका साथ दुई वर्ष पहिलेदेखि पहल थालनी गरिएको जलविद्युत आयोजना निर्माणका लागि सर्वे लाइसेन्स प्राप्त भएको हो ।

जवा–तिला जलविद्युत आयोजनाबाट १५० मेगावाट क्षमताको विद्युत उत्पादन गर्ने भनिए पनि नेपाल विद्युत प्राधिकरणले ७० मेघावाटको आयोजना निर्माणका लागि सर्वे लाइसेन्स दिएको पहलकर्ता कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री नरेश भण्डारीले बताए । उज्यालो जुम्लाको सपनालाई सार्थक तुल्याउन नेपाल विद्युत प्राधिकरणले ७० मेगावाट क्षमताको जवा–तिला जलविद्युत आयोजना निर्माणका लागि सर्वे लाइसेन्स प्राप्त गरेको छ ।

उनले भने, ‘यस ऐतिहासिक कदमले हर्षित तुल्याएको छ । ऊर्जा उपयोगको यो कार्यले मातृभूमिका लागि जीवनपर्यन्त योगदान गर्ने संकल्पमा ऊर्जा थपिएको छ । मेरो र जुम्लीबासीको उत्साहको ग्राफ बढेको अनुभूति भएको छ । जवा हुँदै तिलामा बगेर खेर गइहेको पानीलाई जुम्लाको समृद्धिमा उपयोग गर्ने लक्ष्यका साथ जलविद्युत निर्यात गर्ने वर्षौंको सपना सार्थक हुँदैछ । जुम्लाका लागि गौरवको कुरा हो ।’

विद्युत अभावकै कारण जुम्लामा औधोगिकीकरण हुनसकेको छैन । उद्यमशीलता फष्टाउन सकेको छैन । उत्पादित वस्तुको प्रशोसधनमा उस्तै समस्या छ । करिब १३ करोड खर्चिएर निर्माण भएको बहुउद्देश्यीय कोल्ड स्टोर विद्युत नहुँदा प्रयोग भएको छ । विद्युत अभावका कारण निम्तिएका समस्या समाधान तथा बिजुली निर्यात गरी आर्थिक रूपमा समृद्ध जुम्ला बनाउन सकिने जलस्रोतको सम्भावनालाई अवसरमा उपभोग गर्ने दिन नजिकिएको समेत भण्डारीले उल्लेख गरे ।

पहिलो चरणमा डेढ करोड निकासा

जवा–तिला ७० मेगावाट जलविद्युत आयोजना निर्माणका लागि सर्वे लाइसेन्स प्राप्त एक करोड ६० लाख बजेटसमेत निकासा भएको छ । तत्कालीन ऊर्जामन्त्री पम्पा भुसालले नेपाल विद्युत प्राधिकरण बोर्डबाट निर्णय गराएर आयोजना कार्यान्वयनको औपचारिक बाटो खुला गरेकी थिइन् । सरकारका वर्तमान ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले पहिलो चरणमा सर्वे लाइसेन्सका लागि एक करोड ६० लाख बजेट निकासा गरेका हुन् ।

प्राधिकरणले एक सय मेगावाटभन्दा बढी क्षमताको जलविद्युत आयोजना निर्माण गर्ने गरेको छ । प्राधिकरण बोर्डले जुम्लामा १५० मेगावाटको जलविद्युत आयोजना निर्माण गर्ने निर्णय गरेको भएता पनि जिल्लाको समग्र जलविद्युत सम्भावनाको अध्ययन गर्दा जुम्लाको जलक्षमताबाट १५० मेगावाटको विद्युत आयोजना निर्माण गर्न सम्भव नभएपछि ७० मेगावट आयोजना निर्माणको लाइसेन्स मिलेको हो ।

जवा–तिला जलविद्युत आयोजना कुडारीमा निर्माण हुने भएको छ । जुम्लाको सबैभन्दा बढी क्षमताको जलविद्युत आयोजना बन्ने सम्भावना कुडारी देखिएको छ । ७० मेगावाट जलविद्युत निर्माणका लागि लाइसेन्स प्राप्त भएको खबरले जुम्लाबासी उत्साहित भएका छन् ।

प्रकाशित मिति : २०८० असोज २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस