जुम्ला ः गृह मन्त्रालयले दुई महिनापछि सिंजा गाउँपालिका नराकोटस्थित ईलाका प्रशासनमा शाखा अधिकृत खटाएको छ ।
ईलाका प्रशासन कार्यालय नराकोटमा शाखा अधिकृत रेश्मा बुढालाई खटाईएको हो । गृह मन्त्रालयका सुचना अधिकारी उमाकान्त अधिकारीका अनुसार शाखा अधिकृत रेश्मा बुढाक्षेत्रीलाई ईलाका प्रशासन कार्यालयमा खटाईएको छ । उनले भने ईलाका प्रशासन कार्यालय सिंजामा तत्काल नागरिकता लगायत अत्यावश्यक सेवा प्रवाह सुचारु गर्न कार्तिक १५ गते देखी गृह मन्त्रालय, सिंहदरवार काठमाडौंमा कार्यरत शाखा अधिकृत बुढाक्षेत्री खटिनु भएकोे छ । अब सिंजा क्षेत्रमा सेवा प्रवाह सहज हुने अपेक्षा गरिएको छ ।
शाखा अधिकृत स्तरको दरवन्दी भएको ईलाका प्रशासन कार्यालय नराकोटमा अधिकृत नआउदा नायब सुब्बालाई कामु बनाएर सिँजा क्षेत्रबाट नागरिकता वितरण भईरहेको थियो । करिब दुई महिना अघि नायव सुब्बा सुतबहादुर गिरीको अवधि सकिएपछि सिंजा क्षेत्रमा नागरिकता बितरण कार्य प्रभावित भएको थियो ।
यो दुई महिनाको अवधिमा इलाका प्रशासनमा नागरिकता वितरणका कागजात तयार गरेर सदरमुकाम खलंगास्थित जिल्ला प्रशासन कार्यालय जुम्लामा आएर हस्ताक्षर गरिदै आएको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए ।
ईलाका प्रशासन कायालय सिंजा नराकोटमा अधिकृत स्तरको दरवन्दी छ, तर सरकारले पठाउन सकेको छैन् । यस अघि पनि स्थानीय सुमन धिताल अधिकृत स्तरको कर्मचारी पहिलो पटक आएर सेवा प्रवाह गरेका थिए । उनको २०७३ कार्तिकमा सरुवा भएर गएपछि शाखा अधिकृत विहिन अवस्थामा रहेको थियो । २०७३ देखि ०८० असोजसम्म सरकारले अधिकृत स्तरको कर्मचारी पठाउन सकेको थिएन । अधिकृत स्तरको कर्मचारी नहुदा पाँच बर्ष अनुभव भएका नायव सुब्बालाई खटाउने व्यवस्था छ । करिव ८ वर्षपछि पुन इलाका प्रशासनले शाखा अधिकृत प्राप्त गरेको छ ।



