जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मलेसियाको सबै भन्दा ठुलो आधुनिक अस्पताल सनवे मेडिकल सेन्टरबीच विशषज्ञ सेवा आदान प्रदान गर्ने बारे सम्झौता भएको छ । एक औपचारिक कार्यक्रमका बीच कर्णाली प्रतिष्ठान र मलेसियाको अस्पतालबीच एक आपसमा जनशक्ति र सेवाको सहकार्यको सुरुवात गर्ने गरी मंगलबार मलेसियामा सम्झौता भएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको तर्फबाट उपकुलपति डा.मंगल रावल र सनवे मेडिकल हेल्थ केयर गुरुपको तर्फबाट प्रेसिडेन्ट डा.लाउ बेन लोङ्गले सम्झौतामा हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा मलेसियाका लागि नेपाली राजदुत डिल्लीराज पौडेल पनि सहभागी थिए ।
राजदुत पौडेलले कर्णालीका नागरिकलाई विशषज्ञ सेवाको पहुँचमा ल्याउन अहोरात्र खटिएको कर्णाली प्रतिष्ठान बृद्धि विकासमा सम्झौताले उल्लेखीय भुमिका खेल्ने बताए । राज्य अझै कर्णालीको स्वास्थ्य क्षेत्रमा अपेक्षित लगानी गर्न नसकेको र स्रोत र दक्षताले भ्याए सम्म प्रतिष्ठानले गाउँ गाउँमा विशषज्ञ सेवा पुराएकोमा खुसी व्यक्त गरे ।
मलेसियाको आधुनिक अस्पताल संगको सम्झौताले दुर्गम कर्णाली क्षेत्रको स्वास्थ्य सेवा सुधारका लागि कोशे ढुंगा सावित हुने अपेक्षा गरिएको उपकुलपति डाक्टर रावलले बताए ।
उनले भने,“निकै महत्वपूर्ण सम्झौता कार्यक्रम सम्पन्न भएको छ । सबैभन्दा दुर्गममा रहेको मेडिकल कलेज र उच्चतम् प्रविधिको प्रयोग गरी सेवा दिईरहेको आधुनिक मेडिकल कलेज बीचको सहकार्यले प्रतिष्ठानको बृद्धि विकासमा महत्वपूर्ण योगदान आशा छ । भने कर्णालीका नागरिकले समेत गुणस्तरीय विशषज्ञ सेवा पाउने छन् । प्रतिष्ठानका जनशक्ति र मलासियाका जनशक्तिको एकआपसमा सहकार्यको सुरुवात भएको छ ।”
२०६८ सालमा स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अध्यायन,अनुसन्धान तथा सेवा प्रवाहमा उल्लेखीय काम गर्दै आएको छ । यदपी,राज्यको उपेक्षा र स्रोत अभावले प्रतिष्ठान समस्यामा छ ।



