जुम्ला । कर्णाली प्रदेश समृद्धीको मार्ग राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको हाल सम्म करिब २ सय ६३ किमी सडक निर्माण भएको छ । एक दशक लामो समयदेखि निर्माणधिन यो आयोजना कठिन भूगोलका कारण सुस्त गतीमा निर्माण भईरहेको छ ।
कूल २ सय ६८ किलोमिटर लम्बाइको सो सडकमा हाल सम्म २ सय ६३ किमी सडकको ट्रयाक निर्माण भईसकेको छ । भने अब बाँकी ५ किलोमिटर सडकको ट्रयाक खोल्न मात्रै बाँकी रहेको आयोजनाले जनाएको छ । ट्रयाक खोल्न बाँकी ५ किमी मध्यको झण्डै साढे दुई किलोमिटर सडकको काम यतिबेला नेपाली सेनाले गरिरहेको छ ।
कर्णाली करिडोर कर्णाली समृद्धीको एक मात्र मार्गका रुपमा हेरिएको सडक हो । यस सडकमा संघिय सरकारले अपेक्षित बजेट लगानी गर्न सकेको छैन् । आर्थिक समृद्धी तथा व्यापारी गतिविधि बढाउन कर्णाली करिडोरको निर्माण जरुरी छ ।
एक दशक पहिले सडक निर्माण सुरु भएपनि कठिन भूगोलका कारण अझैसम्म पुर्ण रुपमा ट्रयाक खोल्न सकिएको छैन् । कडा चट्टान भएका खण्डमा ‘ब्लाष्टिङ’ पनि लामो र झन्झटिलो प्रक्रिया रहेको योजनाले जनाएको छ । ब्लाष्टिङका लागि आवश्यक सामग्री सेनाबाट लिनुपर्ने हुँदा समय लाग्ने गरेको हिल्सा सिमिकोट सडक योजनाका प्रमुख वीरेन्द्रबहादुर चन्दले बताए ।
उनले भने,“कठिन भूगोलका कारण अपेक्षित काम गर्न सकिएको छैन् । ब्लाष्ट गर्नुपर्ने धेरै ठाउँमा छ । बरुदको अभाव वर्षेनिक हुन्छ । नेपालगञ्ज हुँदै निर्माणस्थलमा आइपुग्न लामोे प्रक्रिया हुने गरेको छ । सिमिकोटभन्दा माथि मौसमका कारण चार महिना मात्रै काम गर्न सकिदैन् । तर पनि हामीले काम गरिरहेका छौ ।”
कतिपय खण्डमा भने निर्माण व्यवसायीका कारणले ढिलाइ भएको देखिन्छ । माथिल्लो भागमा सामान पहिले चीन भएर आउने गरेकामा कोभिडका कारण नाका बन्द थियो । त्यसले गर्दा पनि विगत वर्षहरुमा निर्माणले गति लिन नसकेको प्रमुख चन्दले बताए ।
सेनाले जिम्मेवारी लिएको खण्डबाहेक अरुतिर ट्याक खोल्न ठेक्का भइसकेको छ । माथिल्लो क्षेत्रमा ट्याक पनि खुलिसकेको र हुम्लाभन्दा तल्लो क्षेत्रमा मात्रै दुई ठेक्का बाँकी रहेको छ ।
हुम्ला सलीसल्लाबाट सिमिकोट खण्डमा ट्रयाक नै खोल्न बाँकी रहेको छ । खुलालुदेखि सरिसल्लासम्म स्तरोन्नतिको काम भइरहेको योजनाले जनाएको छ । यस वर्ष पनि स्तरोन्नतिका लागि ठेक्का हुने उनले बताए । यस वर्ष ग्राभेल गरिने योजनाको तयारी छ । कालिकोटको खुलालुदेखि चीन सम्म जोडन्े मार्ग हो ।
अहिले सम्मको प्रगती केके भए ?
अहिलेसम्म कालिकोट खुलालु–सरिसल्ला १ सय २२ किमी सडकमध्ये ३५ किमी सडक चौडा गर्ने काम भइसकेको छ । हिल्सा–सिमिकोट ९५ किमी र सिमिकोट–सरिसल्ला सडक ५० किमीमध्ये ३८ किमी ट्र्याक खोलि सकिएको योजनाले जनाएको छ ।
सरिसल्ला सडक खण्डको लाली बगरदेखि छारे सडक खण्डको ११ किमी सेनालाई जिम्मेवारी दिइएको थियो । सिमिकोटबाट स्याम्ने साढे चार किमी खण्डमा स्थानीयले मुआब्जा माग गरेर केही विवाद सिर्जना भएको प्रमुख चन्दले जानकारी दिए ।
योजनामा हालसम्मको भौतिक प्रगति २४ प्रतिशत र वित्तीय प्रगति २० दशमलव ४१ प्रतिशत रहेको छ । हालसम्म रु एक अर्ब ३६ करोड खर्च भइसकेको छ भने हालसम्मको ठेक्का रकम रु दुई अर्ब ३० करोड ९२ लाख रहेको छ ।
कर्णाली करिडोरको निर्माण २० ठेक्कामध्ये गत आवमा तीन सम्पन्न भएको थियो । भने बाँकी एउटा ठेक्कामा सुस्त गतिमा काम भइरहेको छ । सरकारले २०६९ देखि योजना शुरु गरेको थियो । भने आव २०८३÷८४ सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । योजनाको कूल लागत छ अर्ब ६६ करोड १९ लाख रहेको छ ।
कर्णाली समृद्धीको आशा
गौरवको आयोजना कर्णाली करिडोरको विकासले कर्णालीको समृद्धीमा टेवा पुग्ने विश्वास छ । कर्णालीको विकट जिल्ला हुम्लालाई राष्ट्यि सडक सञ्जालमा जोड्न्,हिल्सा नाका हुदैँ चीनसंग कर्णालीको व्यापारिक सम्बन्ध विस्तार गर्न तथा कालिकोट,बाजुरा र हुम्लालाई त्रिकोणात्मक रुपमा जोड्न कर्णाली करिडोरको भुमिका महत्वपुर्ण हुने देखिन्छ ।
अहिले पनि करिडोर निर्माणका लागि चीनबाट केहि निर्माण सामाग्री आयात हुदै आएका थिए । यदपी पछिल्लो केहि वर्षमा कोरोनाका कारण नाका बन्द भएपनि सामान आयात रोकिएको हो ।
सरकारले कालिकोटको खुलालुदेखि सिमिकोट हुँदै हिल्सासम्म कालोपत्र सडक निर्माण गरी कालिकोट, बाजुरा र हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने लक्ष्य लिइएको छ ।
कर्णालीका कृषि,जडिबुट लगायतका उत्पादनले राम्रो भाउ पाउन तथा पुरानो व्यापारिक सम्बन्धलाई समेत विस्तार गर्नका लागि कर्णाली करिडोरले कर्णालीको विकास टेवा पुराउने विश्वास गरिएको छ ।
कर्णाली समृद्धीको माग भनिएपनि संघिय सरकारले वर्षेनी सडक निर्माणमा बजेट छुटाउँदा कन्जुसाई गरिरहेको छ । राष्ट्यि योजना आयोगका पुर्वसदस्य मिन बहादुर शाही भन्छन,“सेनाले निर्माण गरिरहेको छ । बजेट र निर्माण सामाग्रीको अभाव उस्तै छ । कर्णालीको विकास हुन करिडोर बन्न जरुरी छ । सरकारले काम चलाउ बजेट दिएर हुदैन् । प्रयाप्त बजेट व्यवस्थापन गी निर्माणलाई गती दिन जरुरी छ ।”
आफु योजना आयोगमा हुँदा समेत पटक पटक कर्णाली करिडोरका लागि बजेट बढी छुटाउन प्रयास गरेपनि सम्भव नभएको बताए । कर्णालीका सबै सांसदहरुले एकजुट भएर कर्णाली करिडोरमा प्रयाप्त बजेट छुटाउन पहल गर्न जरुरी छ ।



