स्याउ सुपरजोनको प्रगतीः७ वर्षमा ३३ करोड खर्च,३२० हेक्टर स्याउ खेती विस्तार

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनामा १० वर्षे बजेट १ खर्ब ३० अर्ब
??????

जुम्ला । नेपालमा २०७३ सालदेखि सञ्चालनमा आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयनका लागि अपुग डेढ खर्ब बजेट लाग्ने लागत अनुमान गरिएको छ । २०७३ असारबाट सुरु भएको परियोजना २०८२ साल असार १० गते सम्म नेपालका ४८ जिल्लामा सञ्चालन हुने छ । यो दश वर्षको अवधि सम्म नेपालका ४८ जिल्लामा परियोजना कार्यान्वयनका लागि १ खर्ब ३० अर्ब ४३ करोड २० लाख बजेट खर्च हुने अनुमान छ ।

परियोजना कार्यान्वयनको अनुमानित नपुग डेढ खर्ब बजेट मध्य ६० प्रतिशतबढी बजेट सरकारले खर्च गरिसकेको छ । कार्यक्रम सञ्चालन भएको अहिले ७ वर्ष बितिसकेको छ । कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक व्यवसायीक,दिगो एवम्,आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने परियोजनाको मुख्य लक्ष्य रहेको थियो ।

उत्पादनमा बृद्धि गरी खाद्य पोषण सुरक्षा सुनिश्चित गर्दै कृषि औधोगिकरण उन्मुख दिगो आर्थिक उर्पाजनका अबसरहरु सृजना गर्ने र राष्टको आर्थिक समृद्धीमा टेवा पुराउने दिर्घकालिन सोचका साथ सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालनमा ल्याएको देखिन्छ । यदपी वितेको ७ वर्षमा लगानी अनुसारको परियोजनाले कति उपलब्धी गर्यो भन्ने विषय सरकारी प्रतिबेदन आउन बाँकीनै छ ।

उत्पादन सम्भावनाका हिसाबले परियोजना नेपालका ४८ वटा जिल्लामा स्याउ,आलु,ओखर,सुन्तला लगायतका विभिन्न फलफूलको उत्पादन बृद्धिका लागि काम भईरहेको छ । जसअन्तरर्गत जुम्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरर्गत स्याउ सुपरजोन कार्यालय सञ्चालनमा छ ।

जसले उच्चघनत्वका स्याउ खेती विस्तार,प्रविधि हस्तान्तरण,सिचाईँ आयोजना निर्माण लगायतका काम गर्दै आएको छ । १० वर्षको अवधिसम्म ४८ जिल्लामा परियोजना कार्यान्वयनका लागि १ खर्ब ३० अर्ब ४३ करोडबढी बजेट खर्च लाग्ने अनुमान गरेको सरकारले स्याउ सुपरजोन कार्यालय मार्फत जुम्लामा मात्रै ७ वर्षमा ४० करोडबढी बजेट विनियोजन भएको छ ।

७ वर्षमा ४० करोड विनियोजन,३३ करोड खर्च
स्याउको उत्पादन बृद्धि,सिप तथा प्रविधि हस्तान्तरण र सिँचाई सुविधा विकासका लागि संघिय सरकारले स्याउ सुपरजोन कार्यालय जुम्लामा वर्षेनी करोडौ बजेट विनियोजन गर्दै आएको छ । परियोजना सञ्चालन भएको सात वर्ष गर्त आव सम्ममा जुम्लामा मात्रै ४० करोड ४१ लाख बढी बजेट विनियोजन भएकोमा ३३ करोड ४५ लाख खर्च भएको पाइएको छ ।

आव २०७३÷७४ देखि आव ०७९÷८० सम्म सात वर्षमा कार्यालयले करिब साढे ३३ करोड बजेट खर्चिएको छ । उच्च घनत्वका स्याउको खेतीमा किसानलाई प्रेरित गर्ने,रोग किरा नियन्त्रणका लागि काम गर्ने,किसानलाई सिप प्रविधि हस्तान्तरण गर्ने लगायतका काम कार्यालयले गरेको स्याउ सुपरजोन कार्यालय जुम्लाका प्रमुख खेमराज शाहीले बताए ।

गत साता कार्यालयको समिक्षा तथा नयाँ कार्यक्रमबारे छलफलममा स्याउ सुपरजोन कार्यालय जुम्लाका प्रमुख खेमराज शाहीले सात वर्षमा स्याउको क्षेत्र विस्तारका ३३ करोड बढी खर्च भएको बताए । भने ३ सय २० हेक्टर क्षेत्रफल सुपरजोनले स्याउको क्षेत्र विस्तार गरेको दाबी गरे ।

चालु आवका लागि भने ५ करोड १७ लाख ६५ हजार विनियोजन भएकोमा खर्च भएको छैन् । १० वर्षमा किसान आत्मनिर्भर भएको र कृषिबाट मुलुकको समृद्धीमा टेवा पुराउने सरकारी लक्ष्यनुसार कामहरु अघि बढीरहेका छन् ।

स्याउ सुपरजोन मार्फत अझै बास्तविक किसान समेटीन नसकेको गुनासो आईरहेकोले अनुदान वितरणदेखि सिप प्रविधि हस्तान्तरणका कार्यक्रममा लाभग्राहि छनोटमा विशेष ध्यान दिन जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले सुझाब दिए ।

स्याउको क्षेत्र विस्तारमा परियोजनाले निर्वाह गरेको भुमिकाको प्रशंसा गर्दै प्रमुख आर्चायले आगामी दिन लगानी गरेका क्षेत्रको उपलब्धी खोज्न गाउँ गाउँ पुग्नु पर्नेमा जोड दिए ।

सुपरजोन कार्यालयका प्रमुख खेमराज शाहीले जुम्लालाई स्याउबाटै समृद्ध जिल्ला बनाउन परियोजना कोशे ढुंगा सावित हुने दाबी गरे । किसानको उत्थान हुने खालका कार्यक्रम सञ्चालनमा पहिलो प्रथामिकता दिदै आएको उनको भनाई छ । सुपरजोनले विचौलिया भन्दा बास्तविक किसान पहिचान गरेर मात्रै अनुदानदेखि सिप र प्रविधि दिने गरिएकोमा प्रविधिको प्रयोगबारे अनुगमन निरिक्षणमा केहि कमीकमजोरी रहेको उल्लेख गरे ।

विगत सात वर्षमा विनियोजित तथा खर्चको अबस्था यस्तो छ । (विनियोजन तथा खर्च करोडमा)

प्रकाशित मिति : २०८० कार्तिक १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस