कर्णालीमा न भाडादर घट्छ,न ईन्धनको मूल्यमा एकरुपता

जुम्ला । सरकारले जत्ती पटक ईन्धनको मूल्य घटाएपनि कर्णालीका नागरिक सधै महंगी र महंगो भाडाको मारमा छन् । ईन्धनको मूल्य घटेपनि सरकारले तोके बमोजिम भाडादर कर्णालीमा कहिले कायम हुदैँन् । ईन्धनको मुल्य घटेपनि कर्णालीमा यातायात व्यवसायीले मनोमानी रुपमा भाडा लिने गरेका छन् ।

कच्ची सडक भएकै अबस्थामा ६÷७ वर्ष पहिले कर्णालीमा सस्तो भाडा थियो । नेपालगन्जबाट १५ सयमा जुम्ला पुगिन्थ्यो भने । सुर्खेतबाट एक हजारमै आवत जावत हुन्थ्यो । तर अहिले अपेक्षित रुपमा नभए पनि विगतको भन्दा कर्णाली राजमार्ग सुधारउन्मुख छ । अधिकांश खण्डमा कालोपत्रे समेत भईसकेको छ । सरकारले पटक पटक भाडादर तोक्ने र ईन्धनको मुल्य घटाउदै समेत आएको छ ।

तर यातायात व्यवसायीले अप्ठयारो कर्णाली राजमार्गको कारण देखाउँदै गाडीको मर्मत खर्च समेत नआउने भन्दै मनोमानी भाडा लिने गरेका हुन् । हवाई सेवा आम सर्वसाधारणको पहुँचमा नहुँदा महंगो भाडा तिरेर समेत यात्रा गर्न कर्णालीबासी बाध्य छन् ।

नेपाल आयल निगमले कार्तिक १४ गते इन्धनको मुल्य घटाएसंगै पेट्रोलमा प्रतिलिटर ११ रुपैया र डिजेलमा प्रतिलिटर ४ रुपैया घटाएको हो । यो हिसाबले विगतमा २ सय रुपैया प्रतिलिटर विक्री हुदँै आएको पेट्रोल १८९ रुपैयामा र १ सय ८३ रुपैया प्रतिलिटर विक्री हुदैँ आएको डिजेल १७९ रुपैयामा विक्री हुनु पर्ने हो ।

तर कर्णालीका दुर्गम जिल्लामा ईन्धनको मुल्यमा मनोमानी भएको छ । थरीथरी मुल्य लिने गरेका छन् । जुम्लामा रहेको एक मात्र आधिकारिक आयल स्टोर (सुस्मा आयल स्टोर)ले मात्रै बास्तविक मुल्यमा ईन्धन विक्री गरेको पाईएको छ ।

पहिला २ सय प्रतिलिटर पर्ने पेट्रोल हाल १८९ रुपैया र पहिले १८३ पर्ने डिजेल हाल १७९ रुपैयामा विक्री गरेको सुस्मा आयल स्टोरका सञ्चालक महेन्द्र थापाले बताए । उनले भने,“सुर्खेत नेपालगन्ज चल्ने साना ठुला गाडीले आफ्नोबाट तेल हाल्दैनन् । हामीले सरकारले तोके बमोजिमकै मुल्यमा बेच्छौ । कार्तिक १४ गते मुल्यघटेपछि सोहीअनुसार बेचेका छौ । फुटकर विक्रेताको थाहा भएन् ।”

अन्जिला जनरल स्टोरका सञ्चालक रवि कठायतले पेट्रोल प्रतिलिटर १९५ मा बेच्दै आएका छन् । फुटकर बेच्ने उनी धेरै लिनेलाई १९० गरेको कम लिनेलाई १९५ प्रतिलिटर गरेको बताउँछन् । तर ग्रामिण बजारमा अहिले पनि २ सय सम्म लिने गरेको उनको दाबी छ ।

कर्णाली राजमार्गमा पर्ने,मान्म,पिलि,नाग्म,रारा,त्रिणेणी,कुडारी,लिताकोट,तातोपानी,एैरेनी,उम्गाड र जुम्ला बजारका विभिन्न पसलमा डिजेल पेट्रोल मनोमानी मुल्यमा विक्री हुदै आएको छ । प्रति लिटर पेट्रोलका बास्तविक मुल्य १८९ र डिजेलको १७९ रुपैया भएपनि फुटकर विक्रेताहरुले थरीथरीको मुल्यमा बेच्ने गरेको चालक पदम महताराले बताए ।

उनका अनुसार मुगुमा हाल पनि डिजेल प्रतिलिटर २ सय रुपैयामा विक्री भईरहेको छ । भने पेट्रोल प्रतिलिटर साढे २ सय सम्म पर्ने गरेको उनको भनाई छ । नियमित मुगु जुम्ला गाडी चलाउने पदम ईन्धनको मुल्य नघटेको र बाटो निकै जोखिमयुक्त भएकोले पनि गाडीभाडा घटाउन मुस्किल हुने गरेको बताउँछन् । प्रशासनले अनुगमन नगर्दा गाडी व्यवसायी र यात्रु मर्कामा परेको उनको गुनासो छ ।

भाडादर नघट्दा मर्कामा यात्रु
जुम्ला–सुर्खेत २३२ किमी र जुम्ला नेपालगन्ज करिब ३ सय २२ किलोमिटर दुरी छ । सरदर यो दुरीमा साना गाडीको बढिमा १५ सयदेखि २ हजार र बसको  एक हजारदेखि १५ सयसम्म भाडादर हो ।  विगतमा तिर्दे आएको भाडा पनि यहि हो । तर सडकको विकास भएपनि,ईन्धनको मुल्य घटेपनि भाडादर घटेको छैन्

जिल्ला प्रशासन जुम्लामा भएको पटक पटकको छलफलले पनि सरदर माथिकै रेटमा भाडा कायम हुन सकेको छैन् । अटो सञ्चालनले ठुला सवारीको कमाई नहुनु,कर्णाली राजमार्ग राम्रो नहुनु,बसपार्क सञ्चालन नहुनु लगायतका कारण देखाउदैँ कर्णालीमा गुड्ने लामो तथा छोटो दुरीका सवारीले भाडादर घटाएका छैनन् ।

अहिले जीपमा जुम्ला–सुर्खेत २५ सय,जुम्ला–नेपालगन्ज २६ सय भाडा छ । यो मुल्य दशैँ तिहार अघि र पछिको चापलाई मध्यनजर गर्दै अझै बढ्ने गर्छ । कर्णालीमा भाडा र ईन्धनको मुल्य नघट्दा नागरिक सधै दोहोरो मारमा पर्न बाध्य रहेको तातोपानीकी माया परियारले बताईन् ।

उनले भनिन,“ईन्धनको मुल्यघटेकोले भाडा घटेकोहोला सोचेको थिए । सुर्खेत सम्म २४ सय तिर्नु पर्याे । सडकमा सास्ती त्यस्तै छ । प्रशासनले कहाँ अनुगमन गर्छ होला ? सामान्य नागरिकलाई यात्रा गर्न सम्भव छैन् । हवाई जहाज पहुँचमा छैन् । भाडादरको महंगीले ढाड सेकिएको छ ।”

जुम्लामा पटक पटक छलफल चलाएपनि भाडादरमा एकरुपता आउन सकेको छैन् । यातायात व्यवसायी,ईन्धन बेच्ने व्यापारी सबै नाफामुखी हुँदा मारमा नागरिक परेको मानव अधिकारकमी मानदत्त रावल बताउँछन् । प्रशासनले सदरमुकामका बजारदेखि ग्रामिण बजारमा कडा अनुगमन गर्नु पर्नेमा उनको जोड छ । सयौको संख्यामा रहेका फुटकर बिक्रेताले मनपरी ईन्धनको मुल्य लिने र यातायात व्यवसायीले पनि भाडा नघटाउँदा नागरिकले सास्ती पाएका छन् ।

जुम्लाका यातायात व्यवसायीले बसपार्क सञ्चालन,राजमार्ग स्तरबृद्धि,गाडी मर्मतका महंगा सामान जुम्लामै उपलब्ध नहुने बेलासम्म भाडादर घटाउन नसकिने बताउँदै आएका छन् । जुम्ला,सुर्खेत र नेपालगन्जमा संयुक्त टिकट काउन्टर सञ्चालन गरिएको छ । ति काउन्टरले एक रुपैया पनि भाडामा घटाउदैनन् ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरले भाडादर निर्धारण गर्ने अधिकार प्रशासनलाई नभएको र प्रदेशलेनै गर्नुपर्ने बताए । प्रदेश सरकारले नयाँ निर्णय नगरुन्जेल आफु आउनु भन्दा पहिला निर्धाण भएकै भाडा लागु हुने उल्लेख गरे ।

उनले भने,“ईन्धनको मुल्यमा एकरुपता नभएको विषयमा अनुगमन ग्रामिण बजार केन्द्रित गर्छौ । भाडादर निर्धारणको अधिकार हामीलाई छैन् । यातायात व्यवसायीका आफ्नै माग छ । सरकारले तोकेनुसार कार्यान्वयन गर्नुपर्ने त्यसो नभएको गुनासो बढ्दो छ । यस विषयमा छलफल गर्न जरुरी छ ।”

राजमार्गमा सास्ती
कर्णाली राजमार्गको यात्रा अझै सहज बन्न सकेको छैन् । भाडादर महंगो त्यसैमाथि यात्रामा हुने सास्तीले नागरिकलाई आजित छन् । सुर्खेत जुम्ला २३२ किमी दुरी रहेको कर्णाली राजमार्गको जुम्ला कार्यक्षेत्र पर्ने दैखोलादेखि जुम्लातर्फको १०४ किमीको विभिन्न खण्डमा स्तरबृद्धिका नाममा सास्ती छ । भने,दैलेख खण्डमा नत स्तरबृद्धि हुन सकेको छ । नत राज्यकै ध्याननै पुगेको छ ।

सबैभन्दा पादुका खोलाको खण्डमा हिउँदमा धुलो र वर्खाका हिलो हुँदा यात्रुले सास्ती पाउने गरेका छन् । जुम्लाखण्ड भन्दा दैलेख खण्डमा यात्रुले बढी सास्ती पाईरहेको स्थानीय पुर्ण प्रसाद चौलागाई बताउँछन् ।

सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र विष्टले कर्णाली राजमार्गको स्तरबृद्धिमा सधै बजेट अभाव हुनाले समस्या भएको बताउँछन् । यदपी,यात्रालाई सहज र भरपर्दो बनाउन जुम्ला खण्डलाई डबल लेनको बनाउन थालिएको उनको भनाई छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस