जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान जुम्लामा कार्यरत डाक्टर र नर्सले देउसी खेलेर उठेको रकम जाजरकोट भूकम्पका पीडितलाई सहयोग गरेका छन् । तिहारको अबसरमा देउसी खेलेर उठेको ५३ हजार २ सय ९० रुपैयाँ जाजरकोटका भूकम्प पीडितलाई सहयोग गरिएको प्रतिष्ठानका डाक्टर कमल थानीले बताउनुभयो ।
संस्कृतिको संरक्षण गर्न हामीले देउसी खेल्यौ । पिडाले तिहारको उमंग नछाएको जाजरकोट र रुकुम पश्चिमका पिडितलाई राहत होस भनेर थोरै भएपनि सहयोग गरेको डाक्टर थानीको भनाई छ ।
देउसी खेलेर उठेको रकम जाजरकोट अस्पतालमा कार्यरत नर्स पुस्पा रावत र प्रिज्मा शाही मार्फत पठाउने निर्णय गरिएको हो । देउसी खेलेको रकम अधिकांशले भोज खाएर खर्च पनि गरेका छन् । तर प्रतिष्ठानका चिकित्सकहरुले देउसीको रकमलाई भुकम्प पिडितको उद्दारमा खर्चिएर राम्रो सन्देश दिएका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार नृपेन्द्र महतले नियमित स्वास्थ्य सेवा प्रवाहसंगै बीच देउसी खेलेर भुकम्प पिडितलाई सहयोग गरेर चिकित्सकहरुले राम्रो सन्देश दिएको बताउनुभयो । उहाँले भन्नुभयो,“जाजरकोट र रुकुम पिडामा रोईरहेको छ । त्रिपालमै तिहार बितेको छ । करोडौ सहयोग घोषणा भएपनि अझै राहतकै पर्खाईमा पिडित छन् । तर थोरै भएपनि सहयोग अभियानमा प्रतिष्ठानका स्वास्थ्यकर्मीले समेत हात बढाउनु सबैका लागि सन्देशमुलक छ ।”
साथै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर र पब्लिक हेल्थको टिमले भूकम्पले क्षति गरेको जाजरकोट र रुकुम पश्चिममा घरघरमा गएर सेवा दिईरहेको छ । जाजरकोटको भेरीगङ्गा र नलगाड नगरपालिका तथा कुशे गाउँपालिका र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका हातखुट्टा भाँचिएका, हड्डी टुटेकालगायत सबैखाले समस्या भएका घाइते तथा बिरामीको उपचार गरिएको उपकुलपति डा.रावलले जानकारी दिए ।
त्यस्तै भविष्यमा आइपर्ने विपद् प्रतिकार्य रोकथामका लागि अस्पताललाई तयारी अवस्थामा राख्न र त्यसमा प्रतिष्ठानले विशेषज्ञ डाक्टरी उपचार सेवा प्रदान गर्ने विषयमा पनि अन्तक्र्रिया भएको उहाँको भनाइ छ ।
उपकुलपति डा.रावलले भन्नुभयो,“सरकारले अत्याधुनिक उपकरणसहित शल्यक्रिया कक्ष, सघन उपचार एकाई (आइसीयू) लगायतका सुविधाको व्यवस्था गर्नुपर्दछ । विशेषज्ञ जनशक्ति प्रतिष्ठानले उपलब्ध गराउँछ ।” जिल्ला अस्पताल जाजरकोटको अस्पताल प्रमुख डा प्रतीक्षा भारतीलाई तीन लाखबराबरको आवश्यक औषधि, चिकित्सा सामग्री सहयोग गरिएको छ ।
उक्त टोलीले प्रभावित क्षेत्रमा स्वास्थ्य तथा सरसफाइसम्बन्धी जनचेतनाको अभियान सञ्चालन गर्नुका साथ अमेरिका–नेपाल मेडिकल फाउण्डेशनद्वारा पीडितलाई सहयोग गरिएको एक हजार हाइजेनिक किट्स वितरण गरेको छ ।



