गिडिदहमा पदमार्ग निर्माण

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका वडा नं ४ अबस्थित पर्यटिय गन्तव्य गिडिदह (तालमा) पदमार्ग निर्माण गरिएको छ । गत वर्ष गिडिदह सम्मेलन पछि चर्चामा आएको नयाँ पर्यटकिय गन्तव्य गिडिदहमा पर्यटकको आगमन बढाउन पदमार्ग निर्माण गरिएको हो ।

असजिलो बाटो,बास बस्न समस्या,प्रचार प्रसारको अभाव लगायतका कारण गिडिदह दशकौदेखि ओेझेलमा थियो । एकिन क्षेत्रफल आउन बाँकि रहेपनि आकारलाई हेर्दा मुगुको रारा,डोल्पाको शेफोक्सण्डोपछि कर्णालीकै ठुलो ताल गिडिदह हो । यदपी क्षेत्रफल मापनको काम सकेर नजिता सार्वजानिक गर्ने तयारी हुँदै छ ।

समुद्रि सतहदेखि ३४८२ मिटर उचाईमा अबस्थित गिडिदहमा दुईवटा दह (ताल) रहेका छन् । पाटन हुँदै गिडिदह सम्मको यात्रालाई सहज र पर्यटकको आगमनमा बृद्दि गर्न पदमार्ग निर्माण गरिएको तातोपानी गाउँपालिका वडा नं ४ का वडाध्यक्ष अम्मर बहादुर रोकायाले बताए ।

गिडिदह तातोपानीको मात्र सम्पत्ति र सम्पदा हैन् । हामीले ओझेलमा परेको सम्भावना उजागर गर्ने प्रयास गरेका हौ । उनले भने,,“गिडीदहमा पुग्न सबैभन्दा अप्ठ्यारो भनेकै बाटो हो । त्यसपछि खान बस्नको समस्या छ । पछिल्लो समय गिडिदह पुग्ने पर्यटकको रुचि बढेपछि सहजताका लागि गिडिदहदेखि पाटन सम्म पदमार्ग निर्माण गरेका हौ ।”

जुम्लाको प्रसिद्ध ताल गिडीदह पुग्ने पर्यटकलाई अवलोकन गर्न सजिला होस भनी पद मार्न निर्माण गरिएको छ । गिडीदहलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउने उदेश्यले प्रचारप्रसार थालिएको छ ।

अप्ठेरो बाटो, उचित बासस्थानको अभाव आदि कारणले गिडीदह अझै पनि पर्यटकीय गन्तव्य बन्न सकिरहेको छैन। तथापि भविष्यमा तमाम पर्यटक भित्र्याउन सकिने सम्भावनालाई मध्यनजर गरि पदमार्गलाई पहिलो प्रथामिकता दिएर निर्माण गरेको तातोपानी वडाध्यक्ष रोकायाको भनाई छ ।

पदमार्ग निर्माण तथा बाटोमा केही बासस्थान तथा प्रतिक्षालय निर्माणपछि सुन्दर पाटनहरूको अवलोकन गर्दै गिडीदहको काखमा सयौं पर्यटक एकसाथ आनन्द लिइरहेको कल्पना पालिकाले गरिरहेको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाँईले बताए ।

उनले भने,“गुमनाम गिडिदहलाई राष्ट्यि अन्तराष्ट्यि क्षेत्रमा चिनाउन मिडियाको अहम भुमिका रह्यो । प्रचुर सम्भावना भएर पनि गिडीदहमा जाने आउने बाटो नहुँदा समस्या भएको कुरा गिडिदह सम्मेलनमा जाँदा हामीले भोगेका थियौ । त्यसैले पालिकाको आन्तरिक स्रोतबाट पदमार्ग निर्माण गरेका छौ ।“

गिडीदह जाँदा हराउने, बाटो बिराएर अलमल हुने लगायतका समस्या रहेकोले दह किनारमा निर्मित धर्मशालादेखि ३५ सय मिटर बाटो निर्माण गरिएपछि सहज भएको वडाध्यक्ष रोकायाले उल्लेख गर्नुभयो ।

गाउँपालिकाले सहयोग गरेपछि स्थानीय युवाहरूले उपभोक्ता समिति बनाएर १० दिन लगाएर पदमार्ग निर्माण भएको हो । स्थानीय यूवा कौरव पाण्डेको अध्यक्षतामा गिडीदह धर्मशाला देखि पाटनसम्म पदमार्ग निर्माण छ ।

गाउँपालिकाको आन्तरिक स्रोतबाट सात लाख २५ हजार विनियोजन भएपछि कार्तिक १६ देखि २६ सम्म निर्माण सम्पन्न गरिएको उपभोक्त समितिका अध्यक्ष कौरव पाण्डेले बताउनुभयो । आकर्षक पर्यटकीय गन्तव्यका साथै साहसिक यात्रा पनि हुनेछ । यहाँ अझै लगानीको खाँचो छ । पूर्वाधार विकासमा लगानी बढाउन सके गिडिदह जुम्लाको आर्थिक समृद्दि तथा रोजगारी सृजनाको आयाम बन्न सक्ने सम्भावना रहेको उनको भनाई छ ।

तातोपानीले गिडिदहलाई आकर्षक पर्यटकिय गन्तव्य बनाउन प्रचार प्रशारदेखि लगानी जुटाउने प्रयास गरिरहेको छ । कर्णाली राजमार्गदेखि हाँकु जोड्न पक्कि पूल निर्माण,गिडि खोलादेखि फूलचौल्या सम्म ग्रामिण सडक निर्माणमा प्रथामिकता दिईएको तातोपानीले जनाएको छ ।

पालिकाको लगानीले मात्रै गिडिदहको विकास र अपेक्षित पर्यटक आगमन सम्भव नरहेकोले जिल्लाकै सम्पत्तिको रुपमा बुझेर सबैको साँझा पहल कदमी हुन जरुरी रहेको वडाध्यक्ष रोकायाको जोड छ ।

उनले राष्ट्यि ताल संरक्षण समितिले गिडिदहमा पुगेर लम्बाई,चौडाई र गहिराई नापेर लिईसकेकोले चाडै नतिजा सार्वजानिक गर्ने तयारी भईरहेको उल्लेख गरे । गिडिदहको विकासबारे जुम्लाका आठै पालिका र प्रदेश तथा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदहरुलाई जवाफदेहि बनाउन जरुरी रहेको छ ।

सिमित स्रोत र असिमित आबश्यकताले स्थानीय सरकारले पर्यटन क्षेत्रमा प्रयाप्त लगानी गर्न सक्ने अबस्था छैन् । कर्णालीको पर्यटन प्रर्बद्दन गर्न तथा रोजगारी सृजना गर्न संघ प्रदेशको लगानी आबश्यक छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस