जुम्ला । संघियता कार्यान्वयन भई स्थानीय सरकार सञ्चालन भएको करिब सात वर्ष पुग्न थाल्यो । स्थानीय सरकार सञ्चालनको सात वर्ष भईसक्दा पनि गाउँका सिंहदबारको बस्ने टुंगो छैन् । जुम्लाका आठ पालिकामध्य अझै तीन पालिका भाडाकै घरमा सञ्चालित छन् ।
चन्दननाथ नगरपालिका,तातोपानी गाउँपालिका,तिला गाउँपालिका,सिञ्जा गाउँपालिका र गुठिचौर गाउँपालिकाले आफ्नै सिहंदबार ठड्याई सकेका छन् । साविक कर्णालीको पहिलो चन्दननाथ नगरपालिकाले करोडौ लगानीमा पाँचतले भवन निर्माण गरि सञ्चालनमा ल्याएको छ । पुरानो गाविस भनवबाट सेवा दिदै आएको गुठिचौर ९ करोड खर्चिएर सुविधायुक्त भवन बनाउदैँ छ । पहिलो तला सम्पन्न समेत भईसकेको छ ।
उता तातोपानी गाउँपालिकाले पनि पालिकाकै करिब ५० लाख लगानीमा भवन निर्माण गरेको छ । तिला गाउँपालिकाले भने करोडौ खर्चिएर २ वटा प्रशासकिय भवन निर्माण गरेको छ । उता सिंजा गाउँपालिकाले पनि करोड खर्चेर भवन बनाएको छ । तल्लो तलाबाट सेवा दिएपनि दोस्रो तला निर्माण भईरहेको छ ।
आफ्नै भवन भएपछि सेवा प्रवाहमा सहज मात्र नभई लाखौ रुपैया जोगियो । तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाइले भने,‘मासिक लाखौ रकम भाडामा मात्रै जान्थ्यो । मासिक भाडा तिर्नु पर्ने झन्झट उस्तै हुन्थ्यो । साँघुरो घरमा कोचिएर सेवा दिनु पर्ने बाध्यता थियो । तर हामीले आफ्नै लगानीमा भवन बनाएका छौ । अहिले भाडाको रकम पनि बच्यो । सेवा पनि सहज रुपमा दिईरहेका छौ ।’
ठुला भवन निर्माण गरेका पालिकाले संघिय सरकारको अनुदानबाट निर्माण गरेका हुन् । पालिका केन्द्र जग्गाको टुंगो लगाएको खण्डका संघिय सरकारले पालिकाको प्रशासकिय भवन बनाउन बजेट दिने गरेको छ ।
तीन पालिका भाडाकै घरमा
जुम्लाका आठ पालिका मध्य अझै तीन पालिका भाडाकै घरबाट सेवा दिईरहेका छन् । गाउँका सिंहदबार अझै भाडाकै घरबाट चल्दा सेवा प्रवाहमा मात्र असहज भएको छैन् । लाखौ रुपैया भाडामा खर्चिनु पर्ने बाध्यता छ ।
आठ पालिका मध्य पातारासी गाउँपालिका,कनकासुन्दरी गाउँपालिका र हिमा गाउँपालिकामा अझै प्रशासकिय भवन बन्न सकेका छैनन् । छिमेकी पालिकाहरुमा सुविधायुक्त प्रशासकिय भवन ठडिदा आफ्नो भवन नभएका पालिकालाई चुनौती पनि थपिदै गएको छ । तर पनि आफ्नै भवन बनाउनेबारे अझै सुरसार देखिदैन् ।
हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बल्ल पालिकाको केन्द्र टुंगो लागेर जग्गा प्राप्त भएकोले भवन बनाउन तर्फ जुट्ने बताए । उनले भने,‘पहिलाको सरकारले न त पालिका टुंग्यायो । नत प्रशासकिय भवननै बनाए । म आईसकेपछि पालिका केन्द्र र जग्गा प्राप्तीमै समय बित्यो । लामो प्रयासपछि लाखौ पर्ने ३९ सय वर्गमिटर जग्गा निःशुल्क पालिकाले प्राप्त गरेको छ । अब जतिसक्दो चाडो भवन बनाउने पक्षमै छौ ।’
लाखौ भाडा तिर्न बाध्य छौ । तर सबै कर्मचारी बस्न मिल्ने । खुल्ला वाताबरणमा सेवा प्रवाह गर्ने अबस्था छैन् । कार्यक्रम गर्न सभाहल छैन् । भाडाको घरमा सरकार संचालन गर्न धेरै चुनौती रहेकोले आफ्नो कार्यकालमा जसरी पनि प्रशासकिय भवन बनाउने अध्यक्ष शाहीको दाबी छ । यदपी,हिमा गाउँपालिकाका सबै वडामा आफ्नै पक्की भवन निर्माण भएका छन् ।
उता कनका सुन्दरी गाउँपालिकाले पालिकाको केन्द्र तोकेपनि भवन बनाउने बारे कुनै सुर गरेको छैन् । यदपी पालिका केन्द्र जोखिमयुक्त स्थान भएको भन्दै स्थानीय विरोध समेत गरेका थिए । कनकासुन्दरीका अध्यक्ष दामोदर आर्चायले पालिकाको केन्द्र वडा नं.६ को गोठिज्युला तोक्ने कार्यपालिकाले निर्णय गरिसकेको बताए ।
यदपी,मन्त्रालयको स्वीकृति हुन बाँकि छ । उनले भने,’पालिका केन्द्र टुंगो लाग्ने बित्तिकै आफ्नै भवन बनाउने तयारी छ । हामी केन्द्रको स्वीकृति कुरेका छौ । पालिका भवन निर्माण तथा डिपिआरका लागि डेढ करोड बजेट समेत विनियोजन गरेका छौ ।चाडै निर्माण गर्छाै ।’ भाडा बापत मासिक करिब ८० हजारबढीखर्च हुँदै आएको अध्यक्ष आर्चायले जानकारी दिए ।
पातारासीमा पनि अझै भवन बनाउने कुनै सारसुर छैन् । पहिलाको सरकारले पनि बनाउन सकेनन् । अहिलेको जनप्रतिनिधिले पनि चासो दिएका छैनन् । पातारासीकि उपाध्यक्ष जनमाया रोकाया भन्छन,‘पालिका केन्द्र वडा नं ५ को लासीमा केन्द्र तोकिएको छ । पालिकाले करिब ४४ सय वर्गमिटर जग्गा समेत प्राप्त गरिसकेको छ । अब भवन बनाउने तयारीमा छौ ।’ हाल पालिकाको भवन,विषयगत शाखा गरेर मासिक करिब ७० हजारबढी भाडामै खर्च भईरहेको उपाध्यक्ष रोकायाले बताईन् ।
जनताको सबैभन्दा नजिकको स्थानीय सरकारले आफ्नै भवन बनाएको खण्डमा पालिका प्रति जनता पनि सुन्तुष्ट हुने र सेवामा पनि प्रभावकारीता आउने देखिन्छ । अब बाँकि पालिकाले भवन निर्माण गर्न ढिला गर्न हुन्न ।
प्रभावकारी सेवा तब मात्रै हुन्छ जब उचित बातावर्ण सृजना हुन्छ । त्यसैले पनि पालिकाले आफ्नो संरचना बनाउन तिर जोड दिनुपर्ने जिल्ला समन्वय समितिका उपप्रमुख जनक थकालीले बताए ।



