महासमिति सदस्य निर्वाचन अवैधानिक भएको आरोप

काँग्रेस केन्द्रीय कार्यालयमा उजुरी


जुम्ला ः जुम्लामा कांग्रेस महासमिति सदस्य निर्वाचन अवैधानिक भएको भन्दै केन्द्रीय निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । जुम्लाका महाधिवेशन प्रतिनिधि द्वय गोविन्द बहादुर शाही, भक्त बहादुर रोकाया र डिल्ली कुमारी हमालले केन्द्रीय निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन् ।
उनीहरुले अधिवक्ता विकाश शाही अधिकृत भएको महासमिति सदस्य चयन निर्वाचन समितिले नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीले निर्देशन अनुसार काम गरेका आरोप लगाएका छन् ।
निर्वाचन समिति सभापति कर्ण बहादुर शाहीले गठन गरेपछि कार्यबाहक सभापतिलाई जिम्मेवारी दिइएको थियो । तर कार्याबाहक सभापतिलाई समेत थाहा नदिएर निर्वाचन प्रक्रिया अगाडि बढेको देखिन्छ,’ निवेदक गोविन्द बहादुर शाहीले भने ।
केन्द्रीय निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन पाउने प्रावधान भएपनि महासमिति सदस्य निर्वाचन अवैधानिक भएको भनेर स्वीकार गर्न नसकिने प्रदेश सभापति ललितजंग शाहीले बताए ।
’यो विषयमा मैले भन्दा पनि निर्वाचन अधिकृतले नै जवाफ दिनु होला । मलाई एकलौटी ग¥यो भन्ने आरोपको खण्डन गर्छु,’ उनले भने, ’यो केन्द्रीय कार्यालयको निर्वाचन हो, प्रदेशको कार्यक्रम भए मेरो निर्देशनमा चल्ने कुरा हुन्थ्यो । निर्वाचन विधि र प्रक्रिया अनुसार नै भएको छ ।’ यता निर्वाचन अधिकृत शाहीले निर्वाचन प्रक्रियामा त्रुटि नभएको र निवेदकलाई पार्टीले पाँच वर्षका लागि अनुशासनको कारबाही गरेको हुनाले उजुरीका आधारमा उम्मेदवारी रद्द गरिएको बताए ।
उहाँहरुले उम्मेदवारी दिनुभएको थियो । उम्मेदवारी उपर उजुरी पनि परेको हो । उहाँहरुलाई सफाई पाएको चिठी ल्याउन पनि भनेका हौं,’ उनले भने, ’अनुशासन समितिले कार्वाही फुकुवा गरेको प्रमाण ल्याउनुपर्नेमा कार्यबाहक सभापतिले सफाई दिएको कागजात ल्याउनु भयो । त्यही आधारमा उम्मेदवारी खारेज भयो ।’
यता दुबै जना निवेदकले निर्वाचनका क्रममा असहयोग गरेको आरोपमा कारवाहीको लागि सिफारिस गरेपनि ०८० श्रावण २६ गते केन्द्रीय प्रतिनिधि महेन्द्र शर्माको उपस्थितिमा जिल्ला कार्य समितिले निर्णय गरि कार्यवाही फुकुवा गरेर केन्द्रिय अनुशासन समितिलाई समेत जानकारी गराई सकेको बताएका छन् । यस्तो अवस्थामा महासमिति सदस्यमा उम्मेदवारी दिन पाउनुपर्ने उनीहरुको तर्क छ ।
निवेदक शाही र रोकायाले कर्याबाहक सभापति कार्मा बुढाले निर्वाचन अधिकृतसँग बुझ्दा कर्णाली प्रदेशका सभापति ललित जगं शाही र पूर्व केन्द्रीय सदस्य दिनबन्धु श्रेष्ठसँग सल्लाह लिई निर्वाचन तालिका निकालेको भनि गैर जिम्मेवार जवाफ दिएको भनेर निरिहता प्रकट गरेको आरोप लगाएका छन् ।
जुम्लामा नेपाली कांग्रेस महासमिति सदस्य निर्वाचन तालिका अनुसार मंसिर दुई गतेबाट निर्वाचन सुरु भएर पाँच गते सम्पन्न भएको थियो । निर्वाचनबाट ललितजंग शाही, जयहरी आचार्य, दिनबन्धु श्रेष्ठ, गौरीनन्द आचार्य, लंक व शाही, दिलबहादुर महत, लक्ष्मी प्रसाद आचार्य, रामदेवि खड्का, भगवती श्रेष्ठ, पुन्नकली महतारा र श्रीकृष्ण कामी निर्वाचित भएको निर्वाचन अधिकृत शाहीले बताए ।

प्रकाशित मिति : २०८० मङ्सिर ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस