जुम्ला । कर्णाली प्रदेश सरकारको बजेट खर्च बर्सेनि बजेट खर्च निरासाजनक हुने गरेको छ । कर्णालीका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाही,जीवन बहादुर शाही हुँदै हालका मुख्यमन्त्री राजकुमार शर्माले बजेट खर्चलाई प्रभावकारी बनाउने बताएपनि कार्यान्वयन निरासाजक हुदै आएको छ ।
चालू आर्थिक वर्ष २०८०÷८१ को पहिलो चौमासिकमै सबै योजनाको ठेक्का पट्टा सक्ने,साना योजना सम्झौता गरि सक्ने,ठेक्का नखोलेका योजनाको बजेट रोक्का गर्ने र एकै वर्षमा १० हजार यूवालाई रोजगारी दिने नीति तथा कार्यक्रम ल्याएसंगै बजेट खर्च बढ्ने आशा जागेको थियो ।
लिएको नीति कागजी रुपमै सिमित भएपछि त्यसको प्रत्यक्ष प्रभाव बजेट खर्च र असर दुर्गम कर्णालीको विकासमा देखिएको छ । कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्ष ०८०÷८१ को पहिलो चौमासिकमा मुस्किलले ७.११ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय कर्णाली प्रदेश सुर्खेतका लेखाअधिकृत मिलन कुमार शर्माले प्रदेश सरकार मातहतका ७ वटा मन्त्रालय सहित १५ निकायको चार महिनाको समग्र बजेटखर्च ७.११ प्रतिशत भएको बताए । उनका अनुसार पहिलो चौमासिक बजेट खर्च गत असोज मसान्तको भन्दा २ प्रतिशतले मात्रै बढि हो ।
चालु आर्थिक वर्ष ०८०÷०८१) मा कर्णाली प्रदेश सरकारले चालू र पुँजीगत गरि कुल ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार बजेट विनियोजन गरेको थियो । जसमध्य चालू आवको पहिलो चौमासिकको साउनदेखि कार्तिक मसान्तसम्म कुल बजेटको ७.११ प्रतिशतमात्रै बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय प्रदेशको प्रतिबेदनमा उल्लेख छ ।
कर्णालीमा चालू आवका लागि कुल पुँजीगत तर्फ१९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार बजेट विनियोजन गरिएको थियो ।
जसमध्य चौमासिक सम्म कुल पुँजीगत बजेटको ८४ करोड २ लाख ९३ हजार अर्थात ५.२९ प्रतिशत मात्रै खर्च भएको छ । असोज मसान्तसम्म पुँजिगत खर्च ४.०५ प्रतिशत खर्च भएको थियो ।
त्यस्तै, चालू तर्फ कुल १३ अर्ब ८० करोड २४ लाख ६४ हजार बजेट विनियोजन गरेकोमा बितेको चार महिनामा ११.११ प्रतिशत
बजेट खर्च भएको छ । जबकीअसोज मसान्तसम्म ८.३६ प्रतिशत चालु खर्च थियो ।
मन्त्री तथा मुख्यमन्त्रीले बजेट खर्च बढाउने योजना अघि सारे पनि नीति बनाएपनि कार्यान्वयन सरकार सधै चुक्दै आएको छ । कर्णालीमा बजेट खर्च बढाउन मन्त्री र कर्मचारीबीच कार्यसम्पादन सम्झौता नभएको पनि हैन् । त्यसले पनि पार लाग्ने स्थिती देखिन्न ।
मुख्यमन्त्री राजकुमार शर्माले जुम्ला आएका बेला प्रदेश माहतहका कर्मचारीलाई बजेट कार्यान्वयनका ध्यान दिन र प्रदेशको लक्ष्यनुसार काम गर्न निर्देशन दिएका थिए । तर पनि प्रदेश र जिल्लाका स्थानीय तथा मातहतका कार्यालय बीच समन्वय प्रभाकारी नहुँदा अपेक्षित बजेट खर्च हुन सकेको छैन् ।
चालू आर्थिक वर्ष सकिन ८ महिना बाँकि रहँदा कर्णाली प्रदेश सरकार संग अझेै ३१ अर्ब ६३ करोड भन्दा बढी रकम मौज्दात रहेको छ । ८ महिनामा ३१ अर्ब अर्चिनु पर्ने बाध्यता सरकार संग भएपनि बजेट खर्च समग्रमा ६० प्रतिशत सम्म पनि मुस्किलले हुने निश्चित छ ।
मंसिर लागे संगै चिसो बढेको छ । चिसो बढेसंगै विकासे काम रोकिन थालेका छन् । मंसिर,पुस माघ र फागुनको आधा महिना विकासे काम पुरै ठप्प हुन्छन् । पुन पनि कर्णालीमा असारे विकासलेनै निरन्तरता पाउने र एकै दिनमा अर्बाै बजेट निकास हुने,रकमान्तर गर्ने प्रबृत्तिले निरन्तरता पाउने छ ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले पनि जुम्ला पुगेका बेला पहिलो चौमासिकमै बजेट खर्च सन्तोषजनक हुने बताएका थिए । प्रदेशका सबै योजनाको ठेक्का तथा,सम्झौता सकेर खर्च बढि देखाउने अर्थमन्त्री सिंहको लक्ष्य सफल हुन सकेको छैन् ।
प्रदेश सरकारको बजेट खर्चको लक्ष्य र कर्णालीको मौसम प्रतिकुलत,भौगोलिक विकताले मेल खान सकेको छैन् । भूगोल सुहाउदो नीति र कार्यान्वयनमा जोड दिन जरुरी छ । कर्णाली सरकार मातहतका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय बजेट खर्च पुजिगत ०.१४ प्रतिशत र चालुतर्फ ८.७४ प्रतिशत बजेट कार्यान्वयमा भएको छ ।
सबैभन्दा बढी पुँजिगत बजेट भएको भौतिक पूर्वाधार मन्त्रालयको पहिलो चौमासिकमा ४.०३ प्रतिशत बजेट मात्रै खर्च गरेको छ । ९ अर्ब ८३ करोड ५५ लाख ४३ हजार विकास बजेट रहेको भौतिक मन्त्रालयले चार महिनामा २८ करोड ५५ लाख ३१ हजारमात्रै खर्च गरेको हो ।
त्यस्तै, भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालयले सिचाई तथा उर्जा विकास मन्त्रालयले कानुन मन्त्रालय,अर्थ मन्त्रालय र प्रदेश योजना आयोग लगायतका निकायाको बजेट खर्च निरासाजक देखिएको छ ।
प्रदेश कोष नियन्त्रक मानबहादुर बमका अनुसार पहिलो चौमासिकमा सबैभन्दा बढि बजेटखर्चिने सामाजिक विकास मन्त्रालय रहेको छ । मन्त्रालयले पहिलो चौमासिकमा १०.३१ प्रतिशत बजेट खर्च गरेको छ । कर्णालीको पूर्वाधार विकासलाई गति दिन पुँजिगत बजेट खर्चलाई जोड दिन जरुरी रहेकोले कर्णालीको भूगोल,मौसम सुहाउदो नीति र कर्मचारी व्यवस्थापनमा जोड दिनु पर्ने कोष नियन्त्रक बमको भनाई छ ।



