जुम्ला ः १६ दिने लैगिक हिंसा विरुद्धको अभियान चलिरहेको अवस्थामा एक महिलामाथि बञ्चरो प्रहार गरी हत्या गरिएको छ । कनकासुन्दरी गाउपालिका ३ ओखरपाटाकी ३५ बर्षीया अमृता बुढाको मंसिर ८ गते हत्या गरिएको हो ।
दर्दानाक घटनाप्रति वालविवाह विरुद्धको साझा अभियान सञ्जाल जुम्लाले खेद प्रकट गर्दै घटनामा संलग्न व्यक्तिलाई यथासिघ्र कारवाहीको माग गरेको छ ।
सञ्जालले एक विज्ञप्ति जारी गर्दै लैंगिक हिंसा विरुद्धको अभियान चलिरहदा यसरी घटना हुनुले हामीलाई झन बढि सोचनीय र गम्भिर बनाएको उल्लेख गरिएको छ । कुनै कारण गल्ति भएमा कानूनी निकायमा जाने अधिकार भएपनि हत्या नै गर्नु, समाजमा डर, त्रास र अशान्ति फैलाउने जो कोहीलाई पनि कानून अनुसार कारवाही गर्न समेत सम्बन्धित निकायलाई ध्यानाकर्षण गरिएको छ ।
पछिल्लो समय जुम्ला लगायत कर्णाली प्रदेशमा विभिन्न समयमा महिला र वालवालिकामाथि लक्षित गरि यस्ता प्रकारका घटना बढ्दै गईरहेकाले सुरक्षामा चुनौती देखिएको छ । यस्ता घटनाका विरुद्ध सबैले सांझा धारणा बनाउनु पर्ने वालविवाह विरुद्धको साझा अभियान सञ्जाल जुम्लाका संयोजक दिलमाया शाहीले बताइन्



