कर्णालीमा पहिलो हिमपात,जनजीवन प्रभावित

जुम्ला । कर्णाली प्रदेशका हिमाली जिल्लामा यस वर्षको पहिलो हिमपात भएको छ । सोमबार विहानै देखि भएको मौसम खराबीपछि कर्णाली प्रदेशका हिमाली जिल्ला जुम्ला,मुगु,डोल्पा हुम्ला लगायतका जिल्लामा हिमपात भएको छ । उता हुम्लामा भने आईतबार रातीदेखिनै मौसममा बदली भई भारी हिमपात भएको भएको हो ।

मुगु जिल्लामा हिमपातले जनजीवन कष्टकर बनेको छ । रारा ताल समेत हिँउले छोपीएको छ । यता जुम्लाको उच्च भूभागमा बाक्लो हिउँ परेपनि बेसी क्षेत्रमा पर्न सकेन् । गत वर्ष माघबाट हिमपात सुरु भएको थियो । तर यस वर्ष मंसिर तेस्रो सातामा हिमपात भएको हो । हिमाली जिल्ला हुम्लामा यो वर्षकै पहिलो हिमपात भएपछि जनजीवन प्रभावित हुनुका साथै हवाई उडान प्रभावित भएको हुम्लाका प्रमुख जिल्ला अधिकारी बिनोदकुमार पोखरेलले बताए ।

हिमपातले हुम्लाको एक मात्र हवाई यातायात सेवा पनि अवरुद्ध हुने भएको छ । हवाई उडान प्रभावित हुँदा हुम्लीबासी मर्कामा परेको प्रजिअ पोखरेललको भनाई छ । हुम्लाको माथिल्लो क्षेत्र नाम्खा गाउँपालिका लिमी, यारी,चाला क्षेत्रमा पनि भारी हिमपात भएको छ ।

हिमपात र वर्षा संगै ह्वात्तै चिसो बढेपछि कर्णालीको जनवीवन कष्टकर बनेको छ । भने दिनभर मौसममा सुधार नभएपछि कर्णालीका जुम्ला,हुम्ला,मुगु र डोल्पामा हुने नियमित उडान प्रभावित भएका छन् । सोमबार जुम्लामा मौसम खराबीले कुनै उडान नभएको जुम्ला विमानस्थलका प्रमुख सन्तोष अधिकारीले बताए ।

उनका अनुसार मौसममा पुर्ण सुधार नआए सम्म कर्णालीमा हवाई सेवा अबरुद्ध हुने अबस्था छ । यदपी अहिले परेको हिउँले हिउँदेबाली बालीलाई राहत पुराउने भएपछि किसान खुसी छन् । किसान तारा बोहोरा भन्छन,“भर्खरै रोपेको जौबालीमा हिउँले राहत पुराउँछ । भने धुलो धुवाँका कारण रुघाखोकीका विरामी बढ्दै गएका छन् । हिमपातपछि बाताबरण सफा र स्वच्छ हुन्छ । बालीनाली सप्रिन्छ । किसान खुसीनै छौ ।”

दिउँसो सम्म हिमपात भएपनि साँझ ४ बजेपछि वर्षा भईरहेको छ । चिसो अत्यधिक बढेकोले महिला,बालबालिका,जेष्ठनागरिक बढी प्रभावित भएका छन् । यो अबस्थामा विशेष ख्याल राख्न समेत चिकित्सकको सुझाब छ ।

प्रकाशित मिति : २०८० मङ्सिर १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस