गाउँमा घामलाग्दा मात्रै टावर,नेट चलाउन सदरमुकाम

जुम्ला । कृषि पर्यटन,जडिबुटि र भेडापालनको प्रचुर सम्भावना बोकेको पातारासी गाउँपालिका संचार असुविधाले वर्षाैदेखि ओझेलमा छ । पातारासीका गाउँगाउँमा सडक पुगि सकेका छन् । पालिकाभरी १६ वटा साना ठुला जलविद्युत आयोजना सञ्चालित छन् । उत्पादनका हिसाबले पातारासी जुम्लाको अन्नभण्डार पनि हो । जडिबुटि र भेडापालन पातारासीका नागरिकको मुख्य आयस्रोत हो । पर्यटनको सम्भावना पनि उतिकै छ ।

तर आधार भूत आबश्यकता भित्र पर्ने संचारको विकास नहुँदा पातारासी बासिले संघियताको खास्सै अनुभूति गरेका छैनन् । आजको प्रविधिको युगमा पनि पातारासीका दर्जनौ बस्ती संचार विहिन छन् । हजारौ नागरिक संचार सेवाबाट बन्चित छन् ।
पातारासीका यूवा भक्त बहादुर बुढा भन्छन्,‘गाउँमा घाम नलागे सम्म टावर आउदैन् । बादल लाग्यो फोन सेवा प्रभावित छ । नेट चलाउने त आशै छैन् । टावर आएपनि फोेनमा कुरा बुझिदैन् । पैसा मात्रै काट्छ । फोन गर्न गाउँबाट पालिका केन्द्र र ईन्टरनेट चलाउन सदरमुकाम धाउनु पर्ने बाध्यता छ ।’

पातारासीको उपल्लो क्षेत्रमा पर्ने दुर्गम वडा नं.१,२ र ३ का दर्जन बस्तीका झण्डै साढे ८ हजार नागरिक सञ्चार विहीन भएका हुन् । सङ्घीयतापछि पनि सञ्चार सेवाको विकासमा स्थानीय तहदेखि नेपाल टेलिकमले ध्यान नदिएको भन्दै पातारासीवासीले दुखेसो पोखेका छन् ।

डिजिटल युगमा पनि खबर आदान प्रदान गर्न सदरमुकाम धाउनु पर्ने पातारासीवासीको बाध्यता छ । निर्माणाधीन टावर अलपत्रदेखि सञ्चालित इन्टरनेटले सेवाभन्दा सास्ती दिएको छ ।

पटक पटक प्रशासन र नेपाल टेलिकमको ध्यानकर्षण गराएका पातारासीका नागरिकले आईतबार पनि संचार सेवा सुधार गर्न ध्यानकर्षण पत्र बुझाएका छन् । गाउँघरमा सबैका हात हातमा स्मार्ट फोन छन् । घरदेखि बाहिर रहेका आफन्त संग फोन ईन्टरनेटमा कुरा गर्ने चाहना र आबश्यकता उस्तै हुन्छ । तर पातारासीका नागरिकका सबै आशा निरासामा बद्लिएका छन् । तत्काल संचार सेवा सुधार्न ध्यानकर्षण गराईएको उनको भनाई छ ।

पातारासी गाउँपालिका वडा नं ५ को सातदेउलामा टेलिकमको टावर धौधौ गरी निर्माण गरेपनि घाम लागेपछि मात्रै सञ्चालन हुने गरेको छ । घाम लागे बाहेक अन्य अबस्थामा पातारासीका बस्ती संचार विहिन हुन बाध्य छन् ।

रातमा नआउने,झ्याप झुप्प हुने,घण्टी आउने कुरो नबुझिने,पैसा काट्ने,प्रायः मोबाइलमा टावरको सिग्नल नदेखाउने समस्या विधमान रहेकाले फोन गर्न र नेट चलाउन जुम्ला सदरमुकाम,पालिका केन्द्र लासी बजारमा धाउनुपर्ने बाध्यता रहेको स्थानीय नवीन रोकायाले बताए ।

पातारासी–२ तल्फी गाउँको फर्कीसल्ला डाडाचौरमा नेपाल टेलिकमले विगत ६÷७ बर्ष पहिले निर्माण गरेको टावर संचालन नआएरै अलपत्र अबस्थामा छन् । निर्माण गर्ने ठेकेदार पनि अलपत्र छन् । के कति कारणले टावर संचालन नभएको हो ? उक्त टावर संचालन तथा गुणस्तरीय संचार सेवाको लागि पहल गरिदिन ध्यानकर्षण पत्र बुझाएको रोकायाले उल्लेख गरे ।

पातारासीमा निर्माणाधीन टावर वर्षौँदेखि अलपत्र भएको र इन्टरनेट टेलिफोनले सेवाभन्दा सास्ती दिएपछि पातारासीका नागरिक आजित भएका छन् । यता नेपाल टेलिकम जुम्लाले जुम्ला संचार सेवा विस्तार तथा सुधारको काम भईरहेको बताएको छ । गाउँ गाउँसम्म फाईबर नेट पुराउने टेलिकमको योजना छ । सदरमुकाममा फाईबर नेट दुर्त गतिमा विस्तार भईरहेको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस