जुम्ला । २५ वर्ष पहिले माघ ४ गतेका दिन २०५५ सालमा जुम्ला विमानस्थलमा (नेकोन एअरको) सिंगल इन्जिन सेस्ना विमान रनवेमै एक्कासी दुर्घटना भयो । जुम्लाबाट नेपालगन्जका लागि उडेको जहाज धावनमार्गमै दुर्घटना हुँदा क्याप्टेनसहित पाँच जनाको मृत्यु भयो भने दुर्घटनामा ७ जना घाइतेसमेत भए ।
क्याप्टेन सुरेन्द्र बहादुर चन्द्र,सह चालक हरि बहादुर मल्ल लगात पाँच जनाको मृत्यु भएको थियो । यस अघिको समचारमा २०५५ सालमा भएको नकोन जहाज दुर्घटनामा पाँच जनाको मृत्यु भएको र (निरविक्रम शाही र भृकुटी खाँण ठकुरी सकुशल रहेको) हुनु पर्नेमा अन्यथा भएकोमा सच्याइएको छ । भुलबस हुन गएकाे गल्तीले सम्बन्धित पक्षलाई पर्न गएकाे असुविधा प्रति क्षमा प्रार्थि छाै ।
विमान दुर्घटनापछि जुम्ला विमानस्थल स्तरबृद्धिको बहस नभएको हैन तर दसकौँ बितेपनि विमानस्थले काँचुली फेर्यो,न स्तरबृद्धि भयो । नत नियमित उडान नै हुन सकेको छ ।
त्यस्तै, २०६३ साल असार ७ गते यति एरलाईन्सको टुईनेटर विमान दुर्घटना हुँदा चालक दलका तीन जनासहित ८ जनाको मृत्यु भयो । सुर्खेतबाट जुम्ला उडेको उक्त विमान जुम्ला विमानस्थलमा दुर्घटना भएको थियो । ०६३ यता १७ वर्ष बित्दा पनि विमानस्थल सुधार भएन ।
विमानस्थल स्तरबृद्धि गर्ने बहस चलिरहेकै बेला २०७५ जेठ २६ गते नेपालगन्जबाट जुम्लाको लागि उडेको तारा एयरको (नाइएन एइभी) विमान जुम्ला विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भयो । उक्त विमानमा सवार १८ यात्रु सकुशल रहे पनि विमान भने पुरै ध्वस्त भयो । जहाजको प्राविधिक समस्यासँगै धावनमार्ग स्तरीय नहुनु,रन्वे छोटो हुनु विमान दुर्घटनाको मुख्य कारण रहेको प्रारम्भीक अनुसन्धानले बतायो ।
जुम्ला विमानस्थलमा हालसम्म तीन विमान दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । २०७५ सालमा भएको तारा एयरको विमान दुर्घटनापछि मात्रै जुम्ला विमानस्थल स्तरबृद्धिको बहस चर्को रुपमा सुरु भएको हो । जस अन्तर्गत २०७६ मा डिपिआर समेत भयो । अहिले विमानस्थल विस्तारको प्रक्रिया जग्गाह अधिग्रहण सम्म पुगेको छ ।
जुम्ला विमानस्थलको विस्तारपछि ठुला जहाज अवतरण हुने र यात्रा सहज हुने आशामा जुम्लाबासी छन् । जुम्ला विमानस्थल विस्तार तथा हवाई इन्धनको डिपो स्थापनापछि साविक कर्णालीको पर्यटन प्रर्बद्धनमा टेवा पुग्ने समेत अपेक्षा छ ।
जुम्ला विमान स्थलमा क्रमिक रुपमा हुदैँ गएका विमान दुर्घटनालाई मध्यनजर गरेर विमानस्थल विस्तार गर्न खोजिएको नागरिक उड्यन प्राधिकरणको तर्क छ । विस्तार गरेर ठुलो जहाज अबतरण गर्ने भन्ने हैन् । विमानस्थललाई सुरक्षित बनाउन विस्तार गर्न खोजिएको हो ।
प्राधिकरणका प्रबक्ता जगन्नाथ निरौला भन्छन,“‘जुम्लामा जहाज दुर्घटना भएपछि दुर्घटना न्युनिकरण गर्न तथा विमानस्थललाई सुरक्षित बनाउन विस्तार गर्न लागिएको हो । ठुला जहाज लैजानका लागि नभएर साना जहाज पनि सुरक्षित होउन् भन्नका लागि विमानस्थल विस्तार गर्न लागेका छौ । यसमा तत्काललै ठुला जहाज आउँछन् भन्ने भ्रम नहोस् ।”
अहिले एकातर्फबाट मात्र जहाज अवतरण गर्ने गरेकोमा विमानस्थल विस्तार पछि दुवैतर्फबाट अवतरण गर्न मिल्ने छ । हाल विमानस्थलको धावनमार्गको लम्बाई ६७० मिटर लामो छ । विस्तारपछि एक हजार २० मिटर लामो हुने छ । यो रन्बेका लागि उडान भर्ने ४२ सिटे जहाज नेपालमा छैनन् ।
जुम्ला विमानस्थलमा १६ सिटे जहाज अवतरण भईरहेका छन् । हाल उडान भरीरहेका ट्विनअटर र डोनियर जहाजका लागि अहिलेकै ६ सय ७० मिटरको धावनमार्ग पर्याप्त छ ।
विस्तारपछि बन्ने १ हजार २० मिटरको धावनमार्गका लागि (एटिआर–४२) अर्थात ४२ सिटे जहाजको उडान गर्नुपर्ने हो । तर नेपालमा नेपालमा (एटिआर–४२) जहाजनै छैनन् । त्यसैले जुम्ला विमानस्थल विस्तार दुर्घटना घटाउन तथा विमानस्थललाई सुरक्षित बनाउनका लागि हो भन्ने बुझन् जरुरी छ ।
साना जहाजको लागि अहिलेकै धावनमार्ग पर्याप्त थियो, विस्तारपछि पनि ठुला जहाज अवतरण नहुने भएपछि विमानस्थल विस्तार किन त ? भन्ने प्रश्नमा जुम्ला विमानस्थलका प्रमुख सन्तोष अधिकारी भन्छन,“साना जहाजलाई उडान तथा अवतरणमै समस्या छ । टर्मिनल भवन,धावनमार्ग सबै पुराना छ । त्यसैले पनि विस्तार आबश्यक हो । तर ठुला जहाजकै लागि विस्तार भन्ने सम्झीनु भएन् ।”
एयरलाईन कम्पन्नीहरुले खरिद गरेको खण्डमा (एटिआर–४२) जहाज आउन सक्छ । तर नाफा नहुने ठाउँका लागि खरिद गर्छन् भन्ने एकिननै हुन सक्दैन् । तर विमानस्थल विस्तारपछि हाल नियमित उडान भईरहेका जहाजका लागि सहज हुने प्रमुख अधिकारीको भनाई छ । सानो धावन मार्ग र त्यसैमाथि हावाको भेगनै नमिल्ने हुँदा पनि जहाजलाई अप्ठयारो पर्ने गरेको छ ।
जग्गा एकिन गर्दै नापी मालपोत
विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहणका गर्न गत मंसिर १० मा नागरिक उड्यन कार्या जुम्लाले सार्वजनिक सूचना जारी गरेको थियो । अधिग्रहण गर्ने जग्गा यकिनका लागि आइतबार प्राधिकरणको कार्यालयले मालपोत र नापी कार्यालयलाई पत्राचार समेत गरेको छ ।
अबको २÷३ दिनमा प्रतिवेदन तयार गरेर जिल्ला प्रशासन कार्यालयमा बुझाउने गरी काम भइरहेको नागरिक उड्डयन कार्यालय जुम्लाका प्रमुख सन्तोष अधिकारीले बताए । जग्गा नाप नक्सा एकिन गरेपछि मुआब्जा समिति गठन हुन्छ । समिति गठनपछि अधिग्रहणको काम काम अघि बढ्ने छ ।
उनले भने,“विमानस्थल विस्तारका लागि केन्द्रदेखि जिल्ला स्तरमा चासो बढेको छ । सबै लागि रहेका छन् । १८३.८० रोपनी जग्गा अधिग्रहण गर्नु पर्ने छ । त्यसका लागि ४८ करोड बजेट लाग्ने अनुमान छ । चर बजेटको टुंगो छैन् । बजेट व्यवस्थापन गर्ने जुम्लाका सांसदहरुको आश्वासनले काम अघि बढाएका छौ ।”
अधिग्रहण गर्न लागिएको जग्गामा घर टहराहरू नपर्ने खेती योग्य जमिन मात्र पर्ने कार्यालयले जनाएको छ । उत्तरतर्फ नयाँ टावर, नयाँ टर्मिनल, सुरक्षा आवास गृह, एयरलाइन्सहरूको कार्यालय बन्नेछन् ।



