जुम्ला। तातोपानी गाउँपालिका जुम्लाको तातोपानी स्वास्थ्य चौकीमा एक दिने पाठेघर सम्वन्धी शिविर सञ्चालन गरिएको छ । गाउँपालिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सहकार्यमा सर्बाेदय नेपाल जुम्लाले शिविर सञ्चालन गरेको हो ।
ग्रामिण गाउँबस्तीमा रहेका पाठेघर सम्वन्धी संक्रमण भएका महिला पहिचान गर्ने र औषधि उपचार गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको सर्बाेदय नेपाल जुम्लाका निर्देशक कमलराज खत्रीले बताए ।
शिविरमा ६७ जना महिलाको पाठेघर चेकजाँच गर्दा ४ जनामा संक्रमण देखिएको प्रतिष्ठानका स्त्रीरोग चिकित्सक संगिता न्यौपानेले बताइन् । उनले भनिन् संक्रमण भएका महिलालाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रेफर गरिएको छ ।
पाठेघर सम्वन्धी शिविरमा प्रतिष्ठानका स्त्रीरोग चिकित्सक संगिता न्यौपानेको नेतृत्वमा स्टापनर्स लक्ष्मी खत्री, विमला तिमिल्सिनालगायत तातोपानी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी पनि परिचालन भएको स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईले बताए । उनले भने कलिलै उमेरमा विवाह गर्ने र बच्चा जन्माउने, कम उमेरमा बच्चा जन्माउनु तथा गर्भान्तर नगरी बर्षेनी बच्चा जन्माउनु, बच्चा जन्मिसकेपछि चाँडै साल झरेन भनेर बल प्रयोग गरी साल निकाल्नु, सुत्केरी अवस्थामा टुक्रुक्क बसेर लुगा धुनु वा गह्रौँ कामहरु गर्नु र गर्भवती वा सुत्केरी अवस्थामा राम्रो स्याहार नपाउनु जस्ता कारणले पाठेघर खस्ने गर्दछ ।
पाठेघर खस्दा देखिने लक्षणहरु
यस्तो बेला टुक्रुक्क बस्दा केही अप्ठ्यारो हुन्छ र ढाड पनि दुख्छ । खोक्दा, टुक्रुक्क बस्दा, बल गरेर कन्दा पाठेघरको मुख योनीको प्वालमा देख्न सकिन्छ । यस्तो अवस्थामा पाठेघरले पिसाबको थैलीलाई थिच्ने भएकोले छिनछिनमा पिसाब लाग्ने, कम्मर दुख्ने, खोक्दा, भारी बोक्दा योनीको मुखमा केही डल्लो आएर बसेको जस्तो हुन्छ ।
पाठेघर खस्नबाट बच्ने उपायहरुः
किशोरीहरुलाई पोषिलो खाना खुवाउने, कम्तिमा २० वर्ष पुगेपछि मात्र छोरीको विवाह गर्ने, गर्भवती अवस्थामा कम्तिमा चारपटक र सुत्केरी अवस्थामा तीन पटक स्वास्थ्य जाँच गराउने, स्वास्थ्य संस्थामा गई दक्ष प्रसुतिकर्मीबाट प्रसुति गराउने स्वास्थ्यकर्मीको सुझाव रहेको छ ।
यस्तै गर्भावस्था र सुत्केरी अवस्थामा पोषिलो खाना पर्याप्त मात्रामा खाने, सुत्केरी भएको ६ हप्तासम्म आराम गर्ने, गर्भावस्था र सुत्केरी अवस्थामा गहृौ भारी नबोक्ने र दोस्रो बच्चाको लागि कम्तिमा दुई वर्ष पर्खिनु पर्दछ



