जुम्ला । हिमाली जिल्ला जुम्ला । पुषको कठ्याग्रिदो चिसो । यूवा बयस्कहरुनै चिसोबाट प्रभावित भईरहेका छन् । भने,बृद्धबृद्धा,एकल महिला अपांग भएका व्यक्तिहरुको अबस्था यतिबेला कस्तो होला ? सहजै अनुमान गर्न सक्छौ,जेष्ठनागरिक,अपांग भएका व्यक्तिहरु बढ्दो चिसोबाट बढी प्रभावित भईरहेका छन् । प्राय हुनेखाने घरमा मान्छे मंसिर नसकिदै तराई झरी सकेका छन् । गाउँमा बस्ने प्राय विपन्न घरपरिवारका नागरिक मात्रै छन् ।
उमेर छिपिदै जाँदा साहाराको खोजी बृद्धबृद्धा हुन्छन् । तातोपानी देवस,न्यानो कपडा देवस मिठो बोलोस भन्ने चाहान्छन् । विडम्बना जेष्ठनागरिकले अपेक्षाकृत व्यवहार घरपरिवार,गाउँ समाजबाट नपाएको गुनासो गर्छन् ।
तर स्थानीय सरकारले भने एकल महिला,जेष्ठनागरिक,अपांग भएका व्यक्तिहरुको राहतका लागि विभिन्न कार्यक्रम गर्दै आएका छन् । जसअन्तरर्गत तातोपानी गाउँपालिका वडा नं.५ ले वडाभित्र बृद्धबृद्धा,एकल महिला र अपांग भएका व्यक्तिलाई जेष्ठनागरिक दिवसका अबसरमा न्यानो कपडा वितरण गरेको छ ।

चिसो बढ्दै गएको बेला वडा पालिकाले न्यानो कपडा(जकेट,स्वीटर) दिँदा निकै राहत भएको जेष्ठनागरिक बताउँछन् । वडा पालिका भएदेखि बेलाबेला दिईने यस्तै राहतले विपन्न र निमुखाहरुका लागि पनि सरकार छ भन्ने अनुभुति भएको बृद्ध फाँचु दमाईले बताईन् । बेसाहरा फाँचुको साहारा भनेकै वडापालिका हो । भरोसा भनेकै वडाध्यक्ष र पालिका अध्यक्ष हुन् ।
उनीभन्छन,“न्यानो कपडा पाए खुसी छु । कसरी चिसो कटाउने भन्ने चिन्ता थियो अब ढुक्क भइयो । कोरोना बेला चामल नुन तेल दिया । त्यस्तै कहिले कम्बल,कहिले जकेट दिन्छन् । हामी जैथा कोहि नहुन्या वडा पालिका छ भन्ने आशा लाग्दो छ ।”
वडाबाट न्यानो कपडा राहत पाउँदा फाँचु दमाई जस्तै देविलाल चौलागाई र कृष्ण रावत पनि खुसी छन् । आगामी दिनमा पनि यस्तै जनमुखी कार्यक्रम ल्याउन उनिहरुको माग छ ।
कठ्याग्रिदो चिसोमा जेष्ठनागरिकहरुको राहतका लागि वडाभित्रका एक सय ७० जना बृद्धबृद्धा,एकल महिला र अपांग व्यक्तिलाई पालिका अध्यक्ष तथा प्रमुख प्रशासकिय अधिकृतको उपस्थितीमा न्यानो कपडा वितरण गरिएको तातोपानी गाउँपालिका ५ नम्बर वडाध्यक्ष छिरिङ महतले बताए ।
उनले भने,“कोहि नहुने हरुका लागि वडा सरकार छ । वडाका विपन्न व्यक्तिलाई खाद्यन्नदेखि लत्ता कपडा पनि दिदै आएका छौ । आज जेष्ठनागरिक दिवसका अबसरमा लक्षित वर्ग कार्यक्रम अन्तरर्गत उपहार स्वरुप न्यानो कपडा दिएका हौ । यसले हिँउद कटाउन सहज हुने राहत महसुश गर्ने अपेक्षा छ ।”

१ सय ७०जनालाई करिब ३ लाख बराबरको न्यानो कपडा वितरण गरिएको वडाध्यक्ष महतले जानकारी दिए । तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले सिमित स्रोतका बीच पनि सबै क्षेत्रको आबश्यकता पहिचान गरी काम गर्दै आएको बताए । लक्षित वर्ग हाम्रो विशेष प्रथामिकतामा छन् ।
उनले भने,“सबै वडामा एकल महिला,विपन्न समुदाय,जेष्ठ नागरिकका लागि हामीले विभिन्न राहत मुलक कार्यक्रम ल्याएका छौ । वडा नं.७ र ८ का जेष्ठनागरिकलाई भत्ता बुझ्न निशुल्क बसदेखि ग्यास चुलो,न्यानो कपडा वितरण गर्दै आएका छौ ।”



