जुम्ला । तातोपानी गाउँपालिका – ६ ले लक्षित वर्ग अन्तर्गत जेष्ठनागरिक, एकल महिला, गरिब, विपन्न, अपांगता भएका व्यक्ति, न्यानो कम्बल वितरण गरेको छ । जिल्लामा बढेको अत्यधिक चिसालाई मध्यनजर गर्दै वडापालिकाले यहाँका लक्षित वर्गका नागरिकलाई कम्बल वितरण गरेको वडाध्यक्ष विशाल खड्काले बताए ।
उनका अनुसार लक्षित वर्ग अन्तरर्गत न्यानो कम्बल वितरण गरिएको हो । चिसो बढ्दै गएको बेला न्यानो कम्बल पाएपछि राहत महसुश भएको तातोपानी –६ का ज्येष्ठ नागरिक काले विष्टले बताए ।
लक्षित वर्ग कार्यक्रम अन्तर्गत वडाले यो वर्ष तीन लाख बजेट विनियोजित गरेको थियो । सोही बजेटबाट तातोपानी –६ का १७० जनालाई कम्बल वितरण गरिएको वडाध्यक्ष खड्काले जानकारी दिए ।
तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले पालिकाले हचुवाका भरमा राहत दिने भन्दा आबश्यकता पहिचान गरेर मात्रै राहत दिने गरिएको बताए ।
उनले भने,“सरकारको राहत भन्ने बित्तिकै हुनेखानेहरु पनि आवेदन दिन आउँछन् । तर हामीले बस्ती बस्तीमा पुगेर वास्तविक विपन्न, राहत आबश्यक भएको मान्छे पहिचान गरेर वितरण गर्ने गरेका छौँ ।
पालिकाको सबैभन्दा दुर्गम क्षेत्र मानिने वडा नंं.७ र ८ भेरीखोलाका जेष्ठनागरिकका लागि सामाजिक सुरक्षा भत्ता बुझ्न आउँदा निशुल्क यातायात सेवाको समेत व्यवस्थापन गरिएको गाउँपालिका अध्यक्ष चौलागाईले बताए ।



