जुम्ला । जुम्लामा कपडा बैंक स्थापना गरिएकाे छ। चिसाे बढेसंगै प्रभावित विपन्न नागरिककाे राहतका लागि कपडा बैंक स्थापना गरिएकाे हाे । शुक्रबार विहान सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले कपडा बैंककाे उद्घाटन गरेका हुन् ।
एक पल्ट लगाइएका,घरमा राखिएका पुराना कपडाहरु संकलन गर्ने र विपन्न नागरिककाे राहतका प्रयाेग गर्ने गरी जुम्ला सदरमुकाम प्रशासन अगाडि चन्दननाथ मिनि मार्केटकाे आडमा कपडा बैंक स्थापना गरिएकाे व्यवस्थापक ऋषिराम पाण्डेले बताए ।
घरमा लगाएका पुराना संचित रहेका कपडाहरु अन्य कपडा विहिन मानिसहरुको उदार तथा सयोगको लागि कपडा बैंक स्थापना गरिएको उनकाे भनाई छ ।
उनले भने,’हामीले लगाएर पुराना भएका कपडाले कसैको आङ ढाक्नलाई ठूलो सहयोग पुग्न सक्छ । त्यसैले कपडा बैंक सुरुवात गरिएको हो।’
कपडा बैंकमा व्यक्तिहरुले पुराना कपडा राख्ने र आवश्यक परेकाले नि:शुल्क लिन सक्ने गरि व्यवस्था मिलाइएको छ।कपडा बैंक जुम्लाको चन्दननाथ अर्गानिक मिनि मार्केट अगाडि रहेको छ।
जिल्लाका व्यापारी देखि स्थानीयले स्वईच्छिक कपडा राख्न सक्ने छन् । कपडा सहयाेगका लागि समेत आह्वान गरिएकाे छ । कपडा बैंकले विपन्न नागरिकलाई राहत मिलेकाे छ ।



