जुम्ला ः संघियताको कार्यन्वयनसँगै स्वास्थ्य चौकीको स्वामित्व र व्यवस्थापनको अधिकार क्षेत्र स्थानीय तहमा गएपछि निशुल्क बाड्ने औषधिमा अभावै अभाव हुन थालेको छ । २०७४ को पहिलो स्थानीय तहको निर्वाचनपछि स्वास्थ्य चौकीको स्वामित्व र व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय सरकारले लिएको हो । स्थानीय सरकारले जिम्मेवारी लिएको ७÷८ वर्षमै कहिले औषधि अभाव, कहिले उपकरण अभाव जस्ता धेरै चुनौती र समस्या देखिन थालेका छन् । यस्तै स्वास्थ्यकर्मीले समयमा सेवा सुविधा नपाएको देखि सुत्केरी महिलाले समयमा प्रोत्साहन भत्ता नपाएको समस्या देखिएका छन् ।
साधारण रुघाखोकी, ज्वरो तथा घाउचोट लागेका विरामीलाई समेत उपचार गर्ने औषधि स्वास्थ्य संस्थामा नभएको तिलाका स्थानीयवासी बताउँछन् । स्वास्थ्य संस्थाहरुबाट सहज रुपमा निःशुल्क औषधि लिन सर्वसाधारण वञ्चित भएको यहाँका स्थानीयवासी गुनासो गरेका छन् । औषधि खरिद र कर्मचारीको खटनपटनको सही व्यवस्थापन हुन नसक्दा यो समस्या आएको स्वास्थ्यकर्मी बताउँछन् ।
जिल्लाका एक नगरपालिका र ७ गाउँपालिकामा ६६ स्वास्थ्य संस्थामा १४९ करारसहित ३५१ जना स्वास्थ्यकर्मी कार्यरत रहेका छन् । प्रथामिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य केन्द्र र नगरपालिकामा सहरी स्वास्थ्य केन्द्र र गाउँपालिकामा सामुदायिक स्वास्थ्य केन्द्र रहेका छन् ।
४९ वर्षदेखि स्वास्थ्य क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा प्रमुख पृथ्वीनाथ योगीका अनुसार संघीयतापछि स्वास्थ्य र शिक्षा ओझेलमा परेका छन् । त्यो संघीयताकको उपज हो । ०७४ सालसम्म स्वास्थ्य क्षेत्रको प्रगति निकै राम्रो हुदै गएको थियो । जब संघीयतापछि स्वास्थ्य शिक्षा स्थानीय सरकारको क्षेत्रधिकार र व्वस्थापन जिम्मेवारीमा आयो । त्यसपछि स्वास्थ्य क्षेत्र निकै प्रभावित हुदै गएको छ ।
उनले भने स्थानीय तहका जनप्रतिनिधिले भौतिक विकासलाई मात्रै विकास मान्न थाले । स्वास्थ्य क्षेत्रमा न्युन बजेट विनियोजन गर्न थालेपछि सोचे जस्तो प्रगति देखिन थालेको छैन । सल्लाह सुझाब छैन । विधिको शासन छैन । आ आफ्नै ढंगले काम गर्दा स्वास्थ्य सेवा प्रभावित हुदै गएको हो । संघीयता पछि देशभरी स्वास्थ्य शिक्षा क्षेत्रमा यही समस्या छ । औषधि अभावदेखि विभिन्न समस्या आइरहेका हुन्छन् ।
स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समयमा समाधान हुदैन । जसको प्रभाव सेवाग्राहीमा परेको छ । संघीयता अघि सवै स्वास्थ्य संस्थामा एक रुपता भएको थियो । विकास गर्नका लागि एक रुपता हुन जरुरी छ । जिल्लाभरी एक किसिमका कार्यक्रम सञ्चालन हुने गरेका थिए । स्वास्थ्य निर्देशनालयले त्यसको नेतृत्व लिएको थियो । स्वास्थ्य क्षेत्र एक किसिमले अघि बढेको थियो । जसको प्रभाव राम्रो देखिएको थियो उनले भने ।
अहिले स्वास्थ्य क्षेत्रमा निकै उतारचडावका कारण सेवा प्रवाहमा असर परेको स्वास्थ्य शाखा संयोजक योगीले बताए । उनले भने प्रदेशको सामाजिक विकास निर्देशनालय स्वास्थ्य निर्देशनालयको कार्यक्रम डुव्लिकेशन हुने गरेका छन् । दुवै निकायले उस्तै प्रकृतिका कार्यक्रम सञ्चालन गर्दै आएका छन् । जसको प्रभावकारिता देखिएको छैन । विधिको शासन हराउदै गएपछि सवै आआफ्नो किसिमले अगाडी बढ्दा स्वास्थ्य सेवा प्रभावित हुदै गएको छ ।
तिला गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा औषधि अभाव देखिएको छ । गाउँपालिका–२ मा रहेको रारालिही स्वास्थ्य चौकीमा औषधि अभाव भएको स्वास्थ्य चौकी इन्चार्ज कमल रावतले बताए । नेपाल सरकारले तोकेका प्राँयजसो सबै प्रकारका औषधि स्वास्थ्य चौकीमा अभाव हुन थालेको छ । उनले भने स्वास्थ्य संस्थामा विरामी आउन्छन् । औषधि हुदैन, विरामीलाई के दिएर पठाउने निकै हैरान हुन । केही पनि औषधि नदिएर पठाउ भने सेवाग्राहीनै रिसाउने हुन् कि भन्ने हुन्छ ।
औषधि अभाव भएको विषयमा गाउँपालिका स्वास्थ्य संयोजकलाई समेत जानकारी गराएका छौँ । माग फाराम भरेर पठाएका पनि छौँ । त्यति गर्दा पनि औषधि समयमा स्वास्थ्य चौकीमा पुग्दै, इन्चार्ज रावतको भनाइ छ ।
सरकारी तवरवाट जाने निःशुल्क औषधिहरु समयमै उपलब्ध नहुँदा स्वास्थ्य संस्थामा औषधिको अभाव भएको तिला गाउँपालिका – ३ स्थित कुडारी स्वास्थ्य चौकी इन्चार्ज विजय रावलले बताए । उनले भने संघीयताको कार्यान्वयनसँगै स्वास्थ्य संस्थाहरुको स्वामित्व र व्यवस्थापनको अधिकारक्षेत्र स्थानीय तहमा गएपनि निःशुल्क बाँड्ने औषधि खरिद तथा बन्दोबस्त गर्ने सवालमा पालिकाले उचित समयमा औषधिको खरिद प्रक्रिया अगाडि बढाउन सकेको छैन ।
प्रमुख प्रशासकीय अधिकृत फेरबदल भइरहने, समयमा काम नहुने, समयमा औषधि खरिदका काम हुन सकेको छैन । जसका कारण पालिका सबै स्वास्थ्य संस्थामा अहिले सिटामल, ब्रोफिन लगायतका औषधी अभाव भएको कुडारी स्वास्थ्य चौकी इन्चार्ज रावलको भनाई छ । पालिकाले औषधि खरिद गर्न ढिलाइ गर्दा औषधि र सर्जिकल सामग्रीको अभाव देखिन थालेको जनगुनासो बढेको छ ।
सरकारले स्वास्थ्य संस्थामा औषधि खरिद गर्न स्थानीय तहमा पठाएको २१ लाखको बजेट अबको एक सातापछि टेन्डर प्रक्रियामा जाने र तिलाका सबै स्वास्थ्य संस्थामा औषधिको अभाव नहुने तिला गाउँपालिका स्वास्थ्य संयोजक हर्क रावतले बताए ।
पालिकाले चालु आर्थिक वर्षका लागि ८ लाख मात्रै बजेट स्वास्थ्य शाखालाई बिनियोजित गरेको छ । सिमित बजेटको सिमा भित्र भई काम गर्नुपर्ने भएकोले स्वास्थ्य शाखामा देखिएको औषधि अभावलाई हल गर्नेका लागि जनस्वास्थ्य सेवा कार्यालय जुम्लाबाट औषधिको माग फाराम भरी स्वास्थ्य संस्थामा औषधि ल्याएको छौँ । स्वास्थ्य संयोजक रावतले भने, “पालिकाले मलाई स्वास्थ्य संयोजकको जिम्मेवारी दिएको एक महिना मात्र भएको छ । स्वास्थ्य संस्थाका पहिला देखि नै औषधि अभाव रहेको रहेछ । अहिले पालिका भित्रका जम्मा १३ वटा स्वास्थ्य संस्थामा चाहिने औषधिको माग फाराम भरी पठाएको छ ।”
प्रशासकीय अधिकृत नहुदा औषधि खरिदमा दिलाई भएको हो । अब पालिकामा प्रशासकीय अधिकृत आइसक्नु भएको छ । औषधि खरिद लगायत अन्य स्वास्थ्य क्षेत्रमा रोकिएका काम अगाडि बढ्ने तिला गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष मोतीलाल रोकायले स्वास्थ्य संस्थामा देखिएको औषधि अभावलाई छिट्टै समाधान हुने छ । नयाँ प्रमुख प्रशासकीय अधिकृत पालिकामा हाजिरी भई सक्नु भएको छ । रोकिएको औषधि खरिद प्रक्रिया काम अगाडि बढाई पालिकामा सबै स्वास्थ्य संस्थामा सहज रुपमा औषधि उपलब्ध गरिने गाउँपालिका अध्यक्ष रोकायाले बताए ।



