जुम्ला । विश्वमा महामारीका रुपमा फैलिएको कोभिड–१९ ले उद्योग कलकारखाना बन्द भएपछि हजारौ यूवाको रोजगारी खोसियो । कोरोनाले थला परेको अर्थतन्त्र अझै लयमा फर्किन सकेको छैन् । भने ताला लागेका उद्योगधन्दा अझै सञ्चालनमा आएका छैनन् । जसका कारण ठुलो संख्यामा यूवाहरु बेरोजगार छन् ।
कोभिडपछि बैदेशिक मुलुकबाट फर्किएका यूवा सबैभन्दा बढी बेरोजगारीको पिडामा छन् । केहि यूवा ऋण जोहो गरेर गाउँमा रोजगारी नपाएपछि खाडी र कालापहाड हानिएका छन् । तर विपन्न यूवाहरु जसको घरमा आम्दानीनै छैन् ।
उनीहरु नत पुनःबैदेशिक रोजगारीमा जान सकेका छन् । नत कुनै इलम गर्न गरेका छन् । ईच्छा जाँगर र सिप भएपनि लगानी नहूँदा खम्चीन बाध्य छन् । तीनै तहका सरकारले उपयुक्त रोजगारी दिएको छैन् । उत्पादनशील क्षेत्रमा लगानी न्युन हुँदा स्रोत र सम्भावना भएर पनि यूवा विदेशीन र घरमा भएका यूवा काम हुन हुन बाध्य छन् । स्थानीय तहमा संघ तथा प्रदेश सरकारको प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रमले पनि यूवा रोजगारीलाई बढवा दिन सकेको छैन् ।
तातोपानी र तिलामा राईज परियोजना
कोभिड प्रभावित यूवाहरुलाई गाउँमै रोजगार प्रदान गर्न जुम्लाका दुई पालिकामा ‘साना उद्यम र रोजगारी मार्फत आम्दानी बृद्धि’ (राईज) परियोजना सञ्चालन हुन लागेको छ । वल्र्डभिजनको आर्थिक सहयोग किर्डाक नेपालको साझेदारीमा जुम्लाको तातोपानी र तिला गाउँपालिकामा राईज परियोजना सञ्चालन हुन लागेको हो ।
उक्त परियोजना मार्फत दुई पालिकाका तीन सय ८० जना यूवाले गाउँमै रोजगारी पाउने छन् । गाउँमै ईलम गर्ने ईच्छा शक्ति भएका कोभिड प्रभावित यूवालाई लक्षित गरी परियोवना लागु गरिएको किर्डाक नेपाल जिल्ला संयोजक दिपराज रावतले बताए । राईज परियोजना यूवालाई उद्यमशीलता र आयआर्जन संग जोड्ने परियोजना हो ।
उनले भने,“कोभिडबाट प्रभावित,वैदेशिक रोजगारीबाट फर्केका,सिमान्तकृत समुदाय,विपदमा परेका गाउँघरमै केहि गर्ने ईच्छा जाँगर भएका विपन्न यूवालाई सिप र व्यापार मार्फत रोजगारी दिईने छ । तातोपानीका वडा नं.१,२,३,५ र ६ तथा तिलाका वडा नं. १ देखि ९ सम्म गरी १४ वटा वडामा परियोजना लागु हुने छ ।”
होटल व्यवसाय,अटो पार्टस,ईलेक्टीसियन,मोबाईल रिपेर्रिङ,पलम्बर,हियरकटिङ,टेलरिङ ब्युटिसियन लगायत ८ वटा सीप र व्यापारसंग जोडेर युवालाई गाउँमै रोजगार प्रदान गरिने छ । यदपी,ठाउँ,सम्भावना सुहाँउदो कृषि उत्पादनसंग जोडेर सिप तथा पुँजी दिनुपर्ने तातोपानीका जनप्रतिनिधिले जोड दिएका छन् ।
मंगलबार तातोपानीमा आयोजित स्थानीय सिप तथा श्रम बजार प्रतिबेदन अनुमोदन कार्यशाला गोष्ठीमा तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले परियोजना र पालिकाको समन्वयमा संख्यामा भन्दा गुणात्मक हिसाबले दिर्घकालिन हुने रोजगारी र सिप दिनुपर्ने बताए ।

उनले भने,“हाम्रो मुख्य चुनौती बेरोजगारी हो । पालिकामा स्रोत निकै सिमित हुन्छ । आबश्यकता सधै बाटो,धारा,चौतारा,सिँचाई कुलोकै आउँछ । रोजगारी बृद्धिमा अपेक्षित लगानी गर्न सकेका छैनौ । तर राईज परियोजनाले विपन्न यूवालाई गाउँमै रोजगारको पहूँचमा पुराउने आशा छ । त्यसलाई दिगो बनाउन पालिकाले थप लगानी गर्छ ।”
साथै तिला गाउँपालिकामा बुधबार राईज परियोजनाको प्रतिबेदनबारे छलफल गरिएको छ । प्रतिबेदनमा भएका ८ वटा सिप र व्यापार मध्यले तिलामा टेलरिङ,फर्निचर उद्योग,कम्युटर तालिम तथा मोबाईल मर्मत र पलम्बर तालिम सञ्चालन गर्ने र करिब ४० जना यूवालाई सिप र व्यापारका लागि तालिम तथा पुँजी सहयोग गर्ने निर्णय भएको छ ।
उत्पादनमुखी र लाभग्राहिको आयस्तर बृद्धि हुने गरी परियोजना कार्यान्वयन गर्नुपर्ने तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताए । उनका अनुसार पालिकाले पनि यूवा रोजगारी बृद्धिका लागि आबश्यक लगानी,समन्वय गर्ने छ । प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर बुढ्थापाले मानव विकास सुचांकमा तिला निकै कमजोर रहेकोले बेरोजगारी मुख्य समस्या भएको बताए ।
उनले राईज परियोजनाले विपन्न तथा कोभिड प्रभावित यूवाले राहत पाउने उल्लेख गरे । लाभग्राहि छनोट पारदर्शी नहुँदा प्राय कार्यक्रमको उपलब्धी नदेखिएकोले वास्तविक विपन्न तथा प्रभावित यूवा छनोटमा जोड दिन आग्रह गरे ।
७० लाख लगानी हुने
दुरदराजका यूवालाई रोजगारी दिन र आयआर्जन बृद्धि गर्न ‘साना उद्यम र रोजगारी मार्फत आम्दानी बृद्धि’ (राईज) परियोजनाले दुई पालिकामा ७० लाखबढी लगानी गर्ने भएको छ । तिला र तातोपानीका ३ सय ८० जना विपन्न तथा कोभिड प्रभावित यूवालाई रोजगारी दिन परियोजनाले ७० लाख २५ हजार पाँच सय रुपैया लगानी गर्ने परियोजनाका सीप विकास तथा दस्तावेजिकरण अधिकृत ऐन बहादुर कठायतले बताए ।
१० महिनाको कार्यवधि रहेको परियोजनाले स्थानीय स्रोत साधनको अधिकतम प्रयोग हुने गरी उत्पादन बृद्धि गर्र्दै बजार प्रर्बद्धन तथा आयआर्जन बृद्धिका लागि सिप,पुँजी तथा प्रविधि समेत दिईने अधिकृत कठायतले उल्लेख गरे ।
उनका अनुसार दुई पालिकाका जम्मा ३८० जना यूवा परियोजनाबाट लाभान्वित हुने छन् । जसमध्य परियोजनाबाट प्रत्यक्ष २४० जना,पालिका र नीजि क्षेत्रबाट १४० जना गरी ३८० जना यूवा लाभान्वित हुन छन् । त्यसमा २० जना अपांगता भएका यूवा समेत लाभान्वित हुने कठायतले जानकारी दिए ।
साथै १४० जना यूवालाई प्रविधिक शिक्षा सम्बन्धि सिपमुलक तालिम,६० यूवालाई उद्यमशीलताका लागि आबश्यक पुँजी दिईने र ६० जना यूवा व्यवसायीक तालिम प्रदान गरिने छ ।
साथै यूवालाई डिजिटल तथा वित्तिय साक्षरताका बारेमा समेत सचेत गराईने छ । लाभग्राहि यूवा छनोट गर्दा जोखिममा रहेका तथा कोभिड प्रभावित यूवालाई पहिलो प्रथामिकता दिईने छ । तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायतले तालिम लिने र व्यवहारमा कार्यान्वयन नगर्ने मुख्य समस्या रहेकोले परियोजनाका गतिविधिलाई उत्पादनमुखी बनाउनु पर्ने बताए ।

उनले भने,“पालिकाका विभिन्न शाखाबाट हालसम्म ३ सयबढीले तालिम लिएका छन् । तर ५ प्रतिशत पनि व्यवहारमा कार्यान्वयन देखिन्न । त्यसैले संख्यात्मक भन्दा गुणात्मक रुपमा ध्यान दिउँ । सिजननुसार उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न जरुरी छ । तालिमको कार्यान्वयनबारे अनुमगन निरिक्षणमा ध्यान दिउँ ।”
साथै जडिबुटिको प्रर्बधन तथा बजारीकरणमा समेत नीति लगानी बढाउन जरुरी रहेकोमा जोड दिए । परियाजनालाई प्रभावकारी बनाउन लाभग्राहि छनौटमा विशेष ध्यान दिनुपर्ने उनको भनाई छ ।



