विषहरिया (सप्तरी) — जनमत पार्टीको विरोधका बाबजुद जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादबले सोमबार राजविराज-१३, विषहरियामा मधेश प्रदेश कृषि विश्वविद्यालयको शिलान्यास गरेका छन् । विरोधका बीच भएको उद्घाटन कार्यक्रममा जसपा अध्यक्ष यादवले एक लाइने भाषण गरेर मन्तव्य टुंग्याएका थिए ।
अध्यक्ष यादवले कार्यक्रममा विश्वविद्यालय स्थापनाका लागि प्रदेश सरकारलाई धन्यवाद मात्रै भनेका थिए । मुख्यमन्त्री सरोजकुमार यादबले भने सक्दो चाँडो कृषि विश्वविद्यालय निर्माण हुने प्रतिबद्धता जनाए ।
औपचारिक कार्यक्रम भइरहेका बेला जनमत पार्टीका नेता कार्यकर्ताले पटक-पटक विरोध गर्दै मञ्चमा जाने प्रयास गरेका थिए । त्यसमा प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव समेत थिए ।
जनमतका कार्यकर्ताहरुले प्रदर्शन गर्न थालेपछि प्रहरीसँग धकेलाधकेल भएको थियो । त्यसक्रममा भीड नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज समेत गरेको थियो ।
जनमत र प्रहरीबीचको झडपमा परेर शिक्षामन्त्री यादब र प्रदेश सासंद सतिशकुमार सिंह लगायत जनमत पार्टीका एक दर्जन कार्यकर्ता घाइते भएका छन् । अहिले उनीहरुको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । मन्त्री यादवको टाउकोमा चोट लागेको छ ।
विश्वविद्यालय शिलान्यास भएको क्षेत्र जनमतका अध्यक्ष सिके राउतको निर्वाचन क्षेत्र हो । तर विश्वविद्यालय जसपा अध्यक्ष यादबले शिलान्यास गर्ने भएपछि विरोधमा उत्रिएका जनमतका नेता कार्यकर्ताले आइतबार विश्वविद्यालयको कार्यालयमा तालाबन्दी नै गरेका थिए ।
शिक्षामन्त्री यादवले आइतबारै विश्वविद्यालयको शिलान्यास कार्यक्रम नै रोक्न समेत निर्देशन दिएका थिए । तर जसपाबाट निर्वाचित भएर मुख्यमन्त्री बनेका सरोजकुमार यादवले कार्यक्रम रोक्न अस्वीकार गरेपछि सोमबार जसपा र जनमतका कार्यकर्ताहरु आमने-सामनेको अवस्था बनेको थियो ।
दुई पक्षबीच झडपको सम्भावना भएपछि सदरमुकाम राजविराज र शिलान्यासस्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी परचालन गरिएको थियो ।
स्रोत ः कान्तिपुर



