जुम्ला । राष्ट्यि स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य तथा सांसद बिनिता कठायतले राष्ट्रिय कृषि तथा अनुसन्धान परिषद् (नार्क) कार्यकारी निर्देशकको नियुक्ति मापदण्ड विपरित भएको भन्दै ध्यानकर्षण गराएकीछन् ।
नार्कमा हालै नियुक्ती गरिएको कार्यकारी निर्देशक मापदण्डनुसार नभएको भन्दै सांसद कठायतले सोमबार कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिका सभापति आर्जु राणा देउवालाई ध्यानकर्षणपत्र बुझाएकी हुन् ।
सांसद कठायतद्धारा हस्तान्तरण गरिएको ध्यानर्कषण पत्रमा भनिएको छ,“ कार्यकारी निर्देशकमा नियुक्त व्यक्तिले एनएआरसी ऐन २०४८ मा उल्लेखित योग्यताहरू पूरा नगरेको देखिन्छ । विशेष गरी कृषि सम्बन्धित विषयमा स्नातकोत्तर, कृषि अनुसन्धानमा दश वर्षको कार्य अनुभव र कृषि अनुसन्धानमा प्रकाशित कृतिहरूको अभिलेख भएको हुनुपर्ने मापदण्ड छ । तर यी कुनै मापदण्ड पुरा नगरी कार्यकारी निर्देशक नियुक्त गरिएकोले वैधता र नियम पालनाको बारेमा प्रश्न खडा भएको हो ।”
एनएआरसी ऐन २०४८ को पालना सुनिश्चित गर्न समितिलाई यस विषयमा तुरुन्त छानबिन गर्न समेत ध्यानर्कषण गराइएको सांसद कठायतले बताईन् ।
उनले भनिन,“प्रयाप्त र दक्ष जनशक्ति अभावले नेपालका अधिकांश अनुसन्धान केन्द्रहरु थलिएका छन् । त्यसैमाथि मापदण्ड विपरित योग्यता नपुगेका व्यक्तिलाई नार्कको निर्देशकमा नियुक्त गर्दा अपेक्षित उपलब्धी हासिल गर्न असम्भव छ । त्यसैले पनि निगरानी र खबरादी गर्न जरुरी छ ।” व्यवस्था नसुधारि अबस्था सुधार नहुने उनको तर्क छ ।



