कर्णाली राजमार्गः अझै भगवान भरोसामा यात्रा,स्तरबृद्धिमा बजेटकै पिरलो

हिउँदमा धुलाम्य,बर्खामा हिलाम्य कहिलेसम्म ?

जुम्ला । कर्णाली राजमार्ग कर्णाली प्रदेशका पाँच हिमाली जिल्ला जुम्ला,हुम्ला,कालिकोट,डोल्पा र मुगुलाई प्रदेश राजधानीसंग जोड्ने एकमात्र राजमार्ग हो । २०६२ सालबाट सञ्चालनमा आएको कर्णाली राजमार्गमा सम्म नागरिकले ढुक्कले यात्रा गर्न पाएका छैनन् । राजमार्ग सञ्चालन भएको करिब दुई दशक बितिसक्दा पनि हिउँदमा धुलाम्य र वर्खामा हिलाम्य हुने स्थिती अझै सुध्रिएको छ ।

साँघुरो एकलेनको सडम,साँघुरा मोड,खाल्डा खुल्डी,पहुँच सडक निर्माण जस्ता कारणले ठुलो संख्यामा दुर्घटना हुन थालेपछि कर्णाली राजमार्ग मृत्युमार्गका रुपमा समेत कहलिएको छ । राजमार्ग सञ्चालनको करिब दुई दशकको अबधिमा पाँच सयबढिको ज्यान गईसकेको छ । भने,एक हजारबढि घाईते भएका छन् ।

तर राज्यको उपेक्षाकै कारण कर्णाली राजमार्गको स्थितीमा सुधारआएको छैन् । कहिले बाढि पहिरो,कहिले स्तरबृद्दिका नाममा नागरिकले यात्रामा सास्ती पाउदै आएका छन् । सुर्खेतको बांगेसिमलदेखि जुम्ला खलंगाको जिरो प्वाईन्ट सम्म २३२ किलोमिटर दुरी लामो रहेको कर्णाली राजमार्गमा भगवान भरोसामा यात्रा गर्न नागरिक बाध्य छन् । स्तरउन्नतीको काम भईरहेपनि जोखिमयुक्त तथा अत्याआबश्यक ठाउँमा कुनै काम भएको छैन् ।

धेरै ढिलो भएपनि ६÷७ घण्टामा पार गर्नु पर्ने दुरी १५÷१६ घण्टा लगाएर मुस्किलले गन्तव्यमा पुग्नु पर्ने बाध्यता छ । कर्णाली राजमार्गमा कहिले सुखको यात्रा गर्न पाईएको छैन् । यात्रु राजेन्द्र बुढाले भने,’हिउँदको धुलो र वर्खाको हिलोले कर्णालीमा यात्रा गर्न मुस्किल छ । हिउँदको धुलोले विरामी नपर्ने मान्छे पनि बिरामी हुन्छन् । थोत्रा गाडिको सास्ती छुट्टै छ । जहिले यात्रा गरेपनि डोजर लगाइएको बाटो बनाएको भेटिन्छ । तर सुधार कहिले हुने ? ढुक्कले यात्रा कहिले गर्ने ? “

आईतबार जुम्लादेखि नेपालगन्ज सम्म यात्रा गरेका उनले विहान ६ बजेगाडि चढेर साँझ ९ बजे नेपालगन्ज पुगे । कर्णाली राजमार्गको जुम्ला–कालिकोट खण्डको धेरै ठाउँमा साँघुरो सडकका कारण साईट दिने ठाउँसम्म नहुँदा चालकहरुको अडानले घण्टौ रोकिनु परेको उल्लेख गरे ।

धुलो धुवाँले गाडिको छतमा राखेका सामान मात्र नभई मान्छे समेत नचिनिने अबस्था हुन्छन् । उनले थपे,’कर्णाली राजमार्गमा यस्तो सास्तिपुर्ण यात्रा कहिले सम्म गर्ने ? किन राज्य अनुदार छ । सांसदहरु फेशबुकमा लेख्नमै ठिक्क छन् । हिउँदको समयमा सिमेन्टका काम गरेको देखिन्छ । त्यसको गुणस्तर र दिगो हुने नहुने के ग्यारेन्टी ? गुणस्तरमा ध्यान नदिँदा अघिल्लो वर्ष बनाउने पछिल्लो वर्ष भत्काउने परिपाटिको अन्त्य नभइ कर्णाली राजमार्गको सुधार हुन्न ।’

मृत्युमार्गको परिचय पाएको कर्णाली राजमार्ग सुधारका लागि पहल र लगानी नभएको हैन् । तर कनिका छराई बजेट अपेक्षित रुपमा राजमार्गको स्तरउन्नती हुन सकेको छैन् । ०७९ असोज १९ देखि २५ गते सम्मभएको अविरल वर्षापछिको बाढि पहिरोले कर्णाली राजमार्ग पुर्ण रुपमा ध्वष्त भएको थियो । त्यतिबेला भएको क्षतिपछि राजमार्ग पुरानै अबस्था आउन सकेको छैन् । भने विभिन्न खण्डमा डबल कटिङ भईरहेकोले पनि धुलो धुवा बढीनै भईरहेको छ ।

कर्णाली राजमार्ग बर्सेनि मर्मत हुने गरेपनि हिँउदमा धुलो,वर्खामा हिलो,खाल्डा खुल्डि जस्ता सास्तीबाट मुक्ति पाउन नसकिएको चालक हर्क बुढाले बताए । विपरित दिशाबाट आएको गाडिलाई साईट दिने सम्म ठाउँ नहुँदा समस्या छ । उनले भने,’कर्णाली राजमार्गमा गुड्ने गाडिको आम्दानी भन्दा खर्च बढि छ । ठाउँ ठाउँमा भएको खाल्डा खुल्डी,गाडिको मोबिल पाईप फुट्ने गरि खोलामा हालिएका ढलान उक्किएर छड बाहिएर आएका छन् । पट्टा भाचिने समस्या त्यस्तै हुन्छ । गाडि साहु चालक माथि खनिन्छ किन खर्च आयो भनेर । सबैको कारण राजमार्ग हो ।हामीले ढुक्कले कहिले गाडि चलाउन पाउने ?’

कर्णाली राजमार्गको सबैभन्दा धुलो र हिलो दैलेख खण्डमै हुने गरेको छ । दैलेखको पादुका खोलाको क्षेत्रको सडकमा धुलोले गुडिरहेका गाडि समेत देखिदैनन् । ‘दुई दशक बितिसक्दा पनि राजमार्गको हालत यस्तो छ । कहिले यो सडकमा ढुक्कले सहज यात्रा गर्न पाउने होला ? यो रासडजमार्गले भित्राएको विकासलाई नर्कान नसकेपनि पाईरहेको सास्तीलाई पनि भुल्नै नमिल्ने छ । यसमा सरकार बढि जिम्मेवार हुनुपर्छ ।’ दैलेखका पदमले भने ।

राजमार्गअन्तर्गत दैलेख खण्डको सियाँला, जाक्सी, राकमकर्णाली, घट्टेखोला क्षेत्रमा सडकको अवस्था नाजुक छ । बोट खोला क्षेत्रमा यात्रुले सास्ती बेहोर्नुपरेको छ भने दुर्घटनाको उच्च जोखिम छ ।

जुम्ला–कालिकोट खण्ड स्तरबृद्धि हुदैँ
कर्णाली राजमार्गको जुम्ला–कालिकोट खण्डको विभिन्न खण्डमा सडकको स्तरउन्नती भईरहेको छ । सडक डिभिजन जुम्लाको कार्यक्षेत्रमा पर्ने दैखोला देखि जुम्ला सम्मको १०४ किमी दुरीको विभिन्न खण्डमा डबल कटिङ,नाला पर्खाला निर्माण लगायतका काम भईरहेका छन् । ०७९ असोज १९ देखि २५ सम्मको बाढी पहिरोले ध्वष्त भएको राजमार्गलाई व्यवस्थित बनाउन स्तरबृद्धिको काम थालिएको सडक डिभिजन जुम्लाले जनाएको छ ।

सडक डिभिजन जुम्लाका सूचना अधिकारी चित्र चौलागाईले कर्णाली राजमार्गको कालिकोट–जुम्ला खण्डको विभिन्न खण्डमा काम भईरहेको बताए । उनले भने,‘जुम्लाको तातोपानी,कुडारी,रारालिहि क्षेत्र तथा कालिकोटको पिलि,नयाँ बजार,लगायतका ठाउँमा डबल कटिङको काम हुदैँ छ । बाढीले सडक क्षति ग्रष्त भएपछि स्तरउन्नतीलाई प्रथामिकता दिईएको छ । तर प्रयाप्त बजेट नहुँदा समस्या छ ।’


उनका अनुसार राजमार्गको सबैभन्दा अप्ठयारो तथा नागरिकलाई सास्ती दिने कालिकोटको सुनार खोलामा सरर गाडी गुड्ने गरी ढलान पिच गरिएको छ । अन्य जोखिम युक्त ठाउँलाई मध्यनजर गर्दै स्तरबृद्धिको काम भईरहेको उनको भनाई छ ।
नियमित आउने बजेटले दायित्व बाँकी रहेकै भुक्तानी दिन नपुग्ने,सांसदहरुले पहल गरेनुसारको अतिरिक्त बजेट नआउँदा विकासे काम गर्न कठिनाई भएको सडक डिभिजन जुम्लाले जनाएको छ ।

सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र विष्टले कर्णाली राजमार्ग कर्णालीको लाईफ लाईन भनिएपनि राजमार्गको विस्तार र स्तरउन्नतीका लागि प्रयाप्त बजेट नहूँदा काम गर्न समस्या भएको बताए । उनले भने,‘डिभिजन प्रमुखका हिसाबले मन्त्रालय देखि विभाग धाईरहेको छु । कर्णाली राजमार्ग संगै अन्य ठुला सडक आयोजना पनि सञ्चालित छन् । भौगोलिक विकटता,मौसम प्रतिकुलता र स्रोत अभावै बीचपनि काम गरिरहेका छौ ।’

प्रकाशित मिति : २०८० माघ १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस