जुम्ला । जुम्लाबाट प्रतिनिधि सभामा चार जना र प्रदेश सभामा दुईजना गरी ६ जना सांसद छन् । पहिलो पटक यत्तिधेरै सांसद पाएको जुम्लाले अपेक्षित विकास पाएको छैन् । नीति बनाउनु पर्ने विषयहरु थुप्रै छन् । जुम्लाको जल,जमिन,जंगल,जडिबुटिको सदुपयोग तथा परिचालन गरी रोजगारी सृजना र आम्दानी बृद्धि गर्ने नीति अहिलेको आबश्यकता हो ।
तर जुम्लाका सांसदहरु नीति बनाउन छाडेर मैले गरेको विकास हो भन्दै जुहारी खेल्नमै ठिक्क छन् । नीति बिना विकास सम्भव छैन् भन्ने कुराको नजरअन्दाज गर्दै सांसदहरु आपसमा लडिरहेका छन् । जुम्लाको उत्पादित स्याउले राम्रो मुल्य पाएको छैन् । किसानले आफ्नै उत्पादनको मुल्य आफै तोक्न पाएका छैनन् । स्याउ भण्डारणदेखी ढुवानीमा त्यस्तै समस्या छ । बहुमुल्य जडिबुटि कौडीको भाउमा विक्री भईरहेको छ । जडिबुटिको विक्री किसानको पहुँचमा छैन् । गाउँमा रोजगारी नहुँदा यूवा पलायन बढ्दो छ ।
विकासका नाममा टुक्रे योजनाको विगविगी र आएका योजनामा पहुँचवालाकै हालीमुहाली उस्तै छ । अनुदान पचाउन मात्रै खोलिएका उद्योगले राज्यको लगानी डुब्दै छ । जुम्लाको जल,जमिन,जडिबुटि,जंगल मासिदैँ छ । डोजरे विकासका नाममा बिनास निम्ती रहेको छ । बढ्दो यूवा पलायनले खेती योग्य जमिन बाझिदै गएको छ ।
ठोस नीतिकै अभावले जुम्लाका सम्भावनाहरु अबसरमा रुपान्तरण हुन सकेका छैनन् । जुम्लामा प्रयाप्त बजेट नआउनु,सरकारले ठुलो बजेट लगानी नगर्नुको मुख्य कारणनै नीति निर्माण तहमा जुम्लाको पहुँच नपुग्नु हो ।
सरकारलाई लगानी गर्न बाध्यकारी बनाउने खालको नीति बनाउन तर्फ सांसदहरुको ध्यान छैन् । तर टावर मेरो पहलमा बन्यो,बाटो मैले गर्दा खनियो, भन्ने जस्ता टुक्रे विकासमा श्रय लिन लडिरहेका छन् ।
सांसदले आफ्नो विद्यायकको भुमिका भुलेर उपभोक्ता समितिको अध्यक्ष जस्तो मैले गर्दा योजना बन्या भन्न थालेका छन् । जसले गर्दा संसदीय अभ्यासकै बेईजत समेत भएको छ । सांसदहरुको एक वर्ष कार्यकाल सकिएपनि देखिने विकास कुनै भएको छैन् ।
एकै जिल्लाका सांसद दुई कित्तामा,विकास बाधक आफै
जुम्लाबाट प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ राष्ट्यि प्रजातन्त्र पार्टिबाट ज्ञान बहादर (ज्ञानेन्द्र) शाही,समानुपातिक तर्फमा नेपाली काँग्रेसबाट कान्तिका सेजुवाल,नेकपा माओबादी केन्द्रबाट छिरिङ ल्हामु लामा र राष्ट्यि स्वतन्त्र पार्टिबाट बिनिता कठायत रहेका छन् ।
त्यस्तै प्रदेश सभा तर्फ निर्वाचन क्षेत्र (क) बाट देवेन्द्र बहादुर शाही (काँग्रेस) र निर्वाचन क्षेत्र (ख) बाट टेकराज पछाई (एमाले)सांसद छन् । बुधबार सांसद छिरिङ लामा बाहेक अन्य पाँच जना सांसदले जिल्लाको विकासका लागि एकजुट रहेको साझा विज्ञप्ती सार्वजानिक गरे ।
शिक्षा,स्वास्थ्य,खेलकुद,खानेपानी,संस्कृति,पूर्वाधार लगायतका २१ वटा बहुवर्षिय आयोजनालाई अघि बढाउन पहल गर्ने र पार्टीको विचारभन्दा माथि उठेर जिल्लाको विकासमा एकजुट हुने भन्दै संयुक्त विज्ञप्ती जारी भयो ।
विज्ञप्ती आएसंगै नागरिकतहबाट कानुन बनाउन छोडेर सांसदहरु योजना बनाउन तम्सीएको र अर्कोतिर जिल्लाका सांसद एकजुट हुनु राम्रो कुरा हो भन्दै दुईथरी आलोचना भयो । २१ वटा बहुवर्षिय आयोजना भित्र ‘जुम्ला जिल्लालाई पूर्ण रुपले विद्युतीकरण गर्ने,पूर्ण रुपले सञ्चार सुविधाको पहुँचमा जोड्ने,जुम्ला विमानस्थलको जग्गा अधिकरण साथै स्तर उन्नति गर्ने,क्षेत्र नं. २ मा जिल्ला अस्पताल निर्माण गर्ने,हिमा खोला जलविद्युत निर्माण गर्ने,नाग्म गमगढी सडक खण्ड स्तरोन्नती साथै कालोपत्रे गर्ने,जुम्ला डोल्पा जोडने सडक,जुम्ल राराताल जोड्ने सडक स्तरबृद्धि तथा कालोपत्रे गर्ने,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको बृद्दि विकास गर्ने उल्लेख छ ।
त्यस्तै,हाई अल्टिच्युट टेर्निङ सेन्टर निर्माणलाई अघि बढाउने,रारालीही÷जिमले वृहत खानेपानी आयोजना निर्माण,माहावु लेक– डिल्लीकोट–भातडी– रतौडा सडक,जडिबुटी अनुसन्धान तथा प्रशोधन,साविक कर्णाली विकास परियोजना,खस सभ्यता,सुर्खेत–जुम्ला हुँदै नाक्चेनाग्ला सम्मको सडक राष्ट्रिय गौरवको आयोजनामा नामाकरण गर्ने लगायत २१ वटा बहुवर्षिय योजना सार्वजानिक गरे ।
संयुक्त विज्ञप्तीमा छिरिङ लामा बाहेक पाँचैजना सांसदको हस्ताक्षर छ । माओबादी समानुपातिक तर्फ निर्वाचित सांसद लामा भारत भ्रमण छिन् । यसअघि पनि जिल्लाको सबै विकास मैलेनै गरेको भन्दै सामाजिक सञ्जालमा सांसदहरु प्रतिनै कटाक्ष गर्दै आएकी सांसद लामाले संयुक्त विज्ञप्ती सार्वजानिकपछि आफुले अघि बढाएका योजनामा पाँच जना सांसदले हस्तक्षेप गरेको भन्दै टिप्पणी गरेकी छन् ।
प्राय सामाजिक संजालमा लेखीरहने सांसद छिरिङ ल्हामु लामा एकातिर र अन्य पाँच सांसद अर्कोतिर बनेको देखिन्छ । एकै जिल्लाबाट प्रत्यक्ष तथा समानुपातिक प्रणालीबाट संघ प्रदेशमा निर्वाचित भएका ६ जना सांसद मध्य पाँच जना एकतिर र सांसद लामा भने अर्कै कित्तामा उभिएकी छन् । यसरी सांसदहरुनै विकास बाधक आफै बनेका छन् ।
यसैबीचमा कनका खबर टिभीले गरेको एक सर्वेक्षणमा जुम्लाका पाँच सांसद जिल्लाको समग्र विकासका निम्ति एक भएर लाग्ने भनी गरेको घोषणा प्रति सांसद छिरिङ ल्यामु लामा तामाङले यो कदम आफूमाथि भइरहेको घेराबन्दी हो र सबै योजना आफूले अगाडि बढाइसकेकाले सामाजिक संजालमा सामुहिक फोटो सेसन गर्नुको तुक छैन भन्नुलाई तपाईं के भन्नु हुन्छ भनेर गरिएको प्रश्नमा ५९ प्रतिशतले यो सरासर गलत हो भनेका छन् । अर्थात सांसद मिल्नुलाई सकरात्मक रुपमा लिएमा छन् । भने २३ प्रतिशतले यो ठिक हो भनेका छन् । साथै १८ प्रतिशतले मौन बस्छुमा भोट गरेका छन् ।
सर्वेक्षणको नतिजा यस प्रकार छ

राजनीति विचार फरक भएपनि जिल्लाको विकास ६ जनानै एकजुट हुनु पर्ने नागरिकले अपेक्षा गरेपनि सांसद लामाको आबेग र अभिव्यक्तिलाई हेर्दा एकजुट हुन्छन् भन्ने कुरामा विश्वास गर्न सकिन्न । यसले समग्र जिल्लाकै विकासमा बाधा पुग्ने र नीति बनाउन छाडेर सांसहरु टुक्रे योजनाकै जस लिन तछाडमछाड गर्नमै पाँच वर्ष बित्ने निश्चित छ ।
सांसद लामाको सामाजिक संजालमा आएको स्टाटले सांसदहरुको जुहारी उत्कर्षमा पुगेको स्पष्ट हुन्छ । यदपी सबै सांसदहरुलाई नभनेको र केहि सांसदलाई आफ्नो काममा बाधक नबन्न भनेकी छन् ।
जिल्लाको विकासका लागि अधिकांश आफुले अघि बढाईसकेको,केहि काम भईसकेको दाबी गर्दै पाँच जना सांसदले संयुक्त विज्ञप्ती मार्फत २१ वटा योजना सार्वजानिक गरी भ्रमको खेती गरेको समेत आरोप लगाएकी छन् । प्रमाण सहित मैदानमा उत्रिन समेत उनले चेतावनी दिएकी छन् । यदपी,पाँच जना सांसद भने मौन छ । संयुक्त विज्ञप्ती निकाले आफुलाई सकाउने खेल खेलेको सांसद लामो तर्क छ । उनी भन्छन,‘काम गर्ने कालु मकै खाने भालु भनेजस्तो काम गर्ने म फोटो खिचेर प्रचार गर्ने उनीहरु ? यो कदापी स्वीकार्य हुन्न । कसले कति गर्यो भन्ने कुरा प्रमाण सहित मैदानमा आउन चुनौती दिन्छु । यो सबै मलाई सकाउने खेल हो ।’
तर जिल्लाका समस्या सुल्झाउन नीति निर्माणमा माखो नमारेकी सांसद लामाले सुरुदेखिनै जिल्लाकै सांसदहरु समधुर सम्बन्ध बनाउन सकेकी छैनन् । सबै विकास मैले मात्र गरेको हुँ भन्ने उनको दाबी प्रति अन्य सांसदहरुले टिप्पणी गरेका छैनन् ।
जुम्लाबाट प्रत्यक्ष निर्वाचित सांसद ज्ञानेन्द्र शाही भन्छन,‘हामीले कसैको राजनीति सकाउन संयुक्त विज्ञप्ती निकालेको हैन् । जिल्लाको विकासमा एकजुट हुनु नराम्रो कुरा हैन् । हाम्रो भुमिका नीति बनाउने भएपनि जनताले विकास माग्छन् । त्यसैले पनि बढी विकास केन्द्रित हुनु परेको छ । तर हामी विद्यायक हौ भन्ने कुरा भुल्नु हुदैन् ।’



