‘सुशासन र विकासमा प्रतिबद्द ताताेपानी गाउँपालिका’ (प्रगती विवरणकाे पुर्णपाठ)

गाउँसभा अध्यक्ष महोदय, गाउँसभा सदस्यज्युहरु, राष्ट्रसेवक कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, तथा यहाँ उपस्थित सम्पुर्ण महानुभावहरु,
नेपालको संविधान, स्थानीय सरकार संचालन ऐन, २०७४ तथा अन्य कानूनी प्रावधन वमोजिम प्रत्येक आर्थिक बर्ष गाउँसभाको वैठक कम्तिमा दुई पटक बस्ने व्यवस्था छ सोहि व्यवस्था बमोजिम गाउँसभाको हिउँदे अधिवेशन आज हुनगईरहेको छ । आर्थिक बर्षको शुरुवातमै बार्षिक बजेट, नीति तथा कार्यक्रम ल्याईसकिएको कुरा यहाँहरु जानकारने हुनुहुन्छ र कानून निर्माणको अधिवेशनको रुपमा चिनिने यस गाउँ सभाको चौधौं अधिवेशनमा उपस्थित सम्पूर्ण महानुभावहरुमा हार्दिक स्वागत गर्न चाहन्छु ।

तातोपानी गाउँपालिका गाउँ कार्यपालिकाले आर्थिक बर्ष २०८०।०८१ मा सम्पादन गरेका भौतिक, वित्तय तथा अन्य क्षेत्रगत विषयको अर्धबार्षिक प्रगति विवरण यहाँहरुमाझ संक्षिप्त रुपमा राख्ने अनुमति चाहन्छु । प्राकृति, धार्मिक सांस्कृतिक तथा पर्यटकिय क्षेत्रको रुपमा परिचित तातोपानी गाउँपालिका ५२५.५१ बर्ग किलोमिटरमा फैलिएको छ । २०७८ सालको जनगणना अनुसार हाल यस पालिका भित्र जम्मा जनसंसख्या १५, ५७५ रहेको छ भने जसमा महिला ७,८७६ र पुरुष ७,६९९ रहेका छन् । त्यसैगरि ७०.२७% साक्षरता दर रहेको पालिका भित्र जम्मा २९ वटा सामुदायिक र २ वटा संस्थागत विद्यालयहरु सञ्चालनमा रहेको कुरा यहाँहरुमाझ संक्षिप्तमा जानकारी गराउदछु । असिमित मानविय आवश्यक्ता, केहि कानूनी बाधा अड्चन, स्रोत र मानविय जनशक्तीको अभावका बीच पनि “सुखि र समृद्ध पालिका” निर्माणमा जुटेको कुरा यहाहरु समक्ष अवगत गराउन चाहन्छु ।

तातोपानी गाउँपालिकाको पर्यटकिय सम्पतीको रुपमा रहेको तातोपानी धारा, गिडीदहको सम्बन्धित वडा कार्यालय र अन्य सरोकारवाला निकायहरुसंगको समन्वय र सहजिकरणरमा संरक्षण र प्रवर्द्धनमा जोड दिईएको छ । यस तातोपानी गाउँपालिकामा अधिकाश जनसंख्या कृषिमा आधारित रहेको र मुख्य आम्दानीको स्रोतनै कृषि भएकाले उक्त क्षेत्रलाई विभिन्न अनुदान र प्राविधिक सहयोग मार्फत कृषि उत्पादनमा जोड दिईएको छ । पछिल्लो समय पालिकामा मात्र नभई देशव्यापी रुपमा सार्वजनिक शिक्षाको गुणस्तर खस्किदै गएको तथ्यांक विभिन्न प्रतिवेदनले देखाईसकेको अवस्थामा र देश विकासको मूख्य आधारनै शिक्षा हो भन्ने ध्ययेले तातोपानी गाउँपालिकाले शिक्षा क्षेत्रलाई विशेष प्रथामिकता दिएको कुरा यहाँहरुलाई राख्न चाहन्छु । जस अन्तर्गत विद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्दी मिलान यस अघिनै भईसकेको र हाल विद्यालयको भौतिक संरचना निर्माण, दिवा खाजा व्यवस्थापन तथा बालमैत्री कक्षाकोठा निर्माण लगायत अन्य कार्यका लागि विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संघ संस्थाहरु संग सम्झौता गरि कामलाई अगाडी बढाईएको छ ।

यसका अलवा तातोपानी गाउँपालिकाले गत आर्थिक बर्ष २०७९।०८० को बार्षिक नीति तथा कार्यक्रममा वैशाख मसान्त भित्र वित्तिय समानिकरण अनुदान अन्तर्गत सञ्चालित सम्पूर्ण योजनाहरुको कार्य सम्पन्न गरि अन्तिम भुक्तानी दिने कुरा समावेश गरेको थियो र सोहि कार्यक्रमलाई यस आ.व. मा निरन्तरता दिई योजना सम्झौता सम्बन्धित वडा कार्यालयहरुमा गई सम्पन्न गरिसकिएको छ । यसैगरि पालिकाले हरेक महिनाको दोस्रो शनिवार सञ्चालन गरेको श्रमदान अभियान हालसम्म सफलतापुर्वक अघि बढेको र राष्ट्रिय स्तरमा चर्चाको विषय समेत बनेको कुरा यहाँहरुलाई जानकारी गराउदछु । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA), स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) जस्ता महत्वपूर्ण कामहरु सम्पन्न गरिसकेको अवस्था छ । अब म यहाँहरु माझ पालिकाले हालसम्म सम्पादन गरेका भौतिक, वित्तिय, संस्थागत तथा अन्य कामहरुहरुको संक्षिप्त प्रगती विवरण बुदाँगत रुपमा प्रस्तुत गर्न चाहन्छु ।

१. असारे विकासको प्रवृतिलाई अन्त्य गर्ने उदेश्यले योजनाहरुको वैशाख मसान्त भित्र कार्य सम्पन्न गरि अन्तिम भुक्तानी दिने लक्ष्यलाई भेटाउन सम्बन्धित ८ वटै वडा कार्यालयहरुमा गई योजना सम्झौता कार्य सम्पन्न असोज मसान्त सम्म गरिसकिएको छ । हाल सम्म वित्तिय समानिकरण अनुदान अन्तर्गतका जम्मा ७६ वटा आयोजना/कार्यक्रम मध्ये ६१ वटाको सम्झौता कार्य सम्पन्न गरि करिब ८०% उपलब्धी हाँसिल भएको छ । त्यसैगरि प्रदेश सरकार सशर्त अनुदान शिर्षक अन्तर्गत १७ वटा मध्य १० वटाको सम्झौता कार्य सम्पन्न भएको छ भने समपुरक र विशेष अनुदान शिर्षकको क्रमश २ र १ गरि जम्मा ३ वटा योजनाको सम्झौता गरि काम अगाडी बढिसकेको छ । ठेक्का मार्फत सञ्चालन हुने सबै आयोजनाहरुको सूचना आह्वान भई ती मध्ये ७ वटाको सम्झौता गरि कार्य अगाडी बढेको र २ वटा योजनाको (आसय पत्र) LOI निकालिएको कुरा यहाँहरुलाई जानकारी गराउँदछु ।

२. हाल सम्म जम्मा ९ वटा योजनाहरुको कार्य सम्पन्न र गाउँपालिका स्तरीय अनुगमन समिति मार्फत अनुगमन भई ८ वटा योजनाहरुको अन्तिम भुक्तानी दिईसकिएको छ । बाँकी सम्झौता भएका योजनाहरुको कार्यान्वयनका लागि आवश्यक जनशक्ती परिचालन गरिएको र विविध कारण सम्झौता हुन बाँकी योजना/कार्यक्रमहरुको तत्कालै सम्झौता गरिने कुरा यहाँहरुमाझ प्रतिवद्धता व्यक्त गर्दछु ।

३. श्रम संस्कृतिको विकास मार्फत सामान्य योजनाहरुको थोरै लगानीबाट पनि सम्पन्न गर्न सकिने उदेश्यले प्रत्येक महिनाको दोस्रो शनिबार सञ्चालन भएको श्रमदान अभियान हालसम्म निरन्तर बढेको कुरा यहाँहरुलाई अवगत नै छ । यस अभियान मार्फत अहिले सम्म मन्दिर, वृद्ध चौतारा, सिचाई कुलो, वृक्षारोपण र गोरेटो बाटो सहित जम्मा ६ वटा योजनाहरु जनप्रतिनिधि, कर्मचारी, राजनैतिक दलका प्रतिनिधि, पत्रकार र केहि नागरिकहरुको सहभागितामा सम्पन्न भएको छ । यस श्रमदान अभियानले राष्ट्रिय स्तरमा समेत चर्चा भएको कुरा यहाँहरुलाई जानकारी नै छ । तर अझै पनि उक्त कार्यमा जनप्रतिनिधि र कर्मचारी बाहेक अन्य निकायबाट न्युन सहभागिता भएकाले कार्यक्रमलाई अझ बढी प्रभावकारी बनाउन सकिएको छैन । आगामी श्रमदान कार्यमा यस कुरालाई मध्यनजर गर्दै पालिकाले प्रभावकारी कदम चाल्ने कुरा जानकारी गराउँदछु ।

४. स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA), स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA ) को काम सम्पन्न गरि FRA मा समग्रमा ८१% अंक हासिल गरि देशको ७५३ वटा स्थानीय तह मध्ये तातोपानी गाउँपालिका उत्कृष्ट पाँच भित्र पर्न सफल भएको छौं । त्यसै गरि LISA मा समग्रमा ८५.५% अंक प्राप्त गर्न सफल भएका छौं । यो नतिजा गत आर्थिक बर्ष भन्दा राम्रो रहेको कुरा यहाँहरुमाझ निवेदन गर्दै यसै आ. व. बाट शुरु भएको स्थानीय आर्थिक विकास (LED) को समेत कार्य सम्पन्न गरि मुल्यांङ्कनका लागि जिल्ला समन्वय समितिमा पेश गर्दा ७४.५% अंक प्राप्त गरि हाल सम्म प्रदेशमा पहिलो र देशव्यापी रुपमा तेस्रो स्थानमा रहेको जानकारी समेत गराउँदछु ।

५. तातोपानी गाउँपालिकाको अगुवाई र ४ नं वडा कार्यालयको अग्रसरता तथा नेपाल टेलकम प्रादेशिक कार्यालयको आर्थिक सहयोगमा हाँकु लाग्ना टेलिफोन टावर सम्म विद्युत विस्तार तथा अन्य सरोकारवाला निकायहरु संगको समन्वय र सहकार्यमा वडा नं ८ स्थित थलालेमा 4G सहितको टेलिफोन नेटवर्क भर्खरैमात्र सञ्चालनमा ल्याई आम नागरिकहरुलाई सञ्चार सेवाको पहुँचमा वृद्धि गरिएको छ । २ नं वडा जर्मी स्थित पर्यटकिय स्थल तातोपानी धारालाई थप व्यवस्थित बनाउनका लागि यस अघि ल्याईएको तातोपानी धारा संचालन तथा व्यवस्थापन कार्यविधि, २०७९ कार्यान्वयनमा ल्याईएको छ । यसैगरि सोहि स्थानमा पर्यटकहरुलाई सूचनामा सहज पँहुच पुर्याउन डिजिटल बोर्ड जडान गरि सञ्चालनमा ल्याईएको छ ।

६. उपभोक्ता समिति मार्फत सञ्चालन हुने आयोजना/कार्यक्रमहरुको कामलाई चुस्त दुरुस्त राखि योजनालाई दिगो रुप दिन सम्बन्धित आयोजनाका समितिका पदाधिकारीहरुलाई १ दिने क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको छ । उक्त तालिममा प्रत्येक्ष रुपमा २६० जना भन्दा बढी उपभोक्ता समितिका पदाधिकारी, कर्मचारी, शिक्षक र जनप्रतिनिधिहरु लाभान्वित भएका छन् ।

७. वडा नं १, २, ६, ७, ८ बाट जेष्ठ नागरिक तथा लक्षित समुहका नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको छ । जाजरकोट जिल्लाको रामीडाँडालाई केन्द्रविन्दु भई कार्तिक १७ गते गएको ६.४ रेक्टर स्केलको भुकम्पका कारण यस यस पालिकामा समेत केहि घरमा भौतिक क्षति हुन पुगेको र उक्त भौतिक क्षति हुन पुगेका ३, ७, ८ नं वडाका जम्मा ९ जना पिडितलाई तत्कालै खाद्य सामाग्री र लत्ता कपडा सहित राहत वितरण गरिएको छ ।

८. पालिकाको आन्तरिक स्रोत बाट गाउँपालिका हाताभित्र रहेको प्रशासकीय भवनको दोस्रो तलाको निर्माण सम्पन्न भए संगै शाखाका कामहरु उक्त भवनबाट सेवा प्रवाह भएको हुँदै आएको छ । त्यसैगरि सुरक्षित नागरिक आवासमार्फत हालसम्म ५० घरधुरीलाई रु ५० हजारका दरले अन्तिम भुक्तानी दिईएको छ ।

९. यसै बर्षबाट उपभोक्ता समिति दर्ता गर्ने कार्य थालनी गरिएको छ जस अन्तर्गत ४ वटा उपभोक्ता समिति, व्यावसाय तर्फ वाणिज्य र उद्योग तर्फ क्रमशः ५/५ व्यावसाय दर्ता गरिएको कुरा यहाँहरुलाई जानकारी गराउँदछु ।

१०. कार्यालयको काम कारवाहिलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न ८ वटा (कानून) ऐन, नियमावली, कार्यविधि, र मापदण्ड निर्माण गरि पारितका लागि सम्मानित गाउँ सभाको चौधौं अधिवेशनमा पेश गरिएको छ । निर्माण भएका कानूनहरु निम्नानुसार रहेका छन् ।

१. भु- उपयोग कार्यान्वयन कार्यविधि, २०८०

२. भूमि व्यवस्थापन ऐन, २०८०

३. दिवा खाजा सञ्चालन तथा व्यवसथापन सम्बन्धी कार्यविधि, २०८०

४. एमबिबिएस अध्ययन छात्रवृत्ति सम्बन्धी कार्यविधि, २०८० ५. गरिवी निवारण कोष व्यवस्थापन कार्यविधि, २०८०

६. तातोपानी गाउँपालिकाको नक्सा पास सम्बन्धी कार्यविधि, २०८०

७. सडक आश्रित सहयोगापेक्षी मानव उद्धार पुन स्थापना तथा व्यवस्थापन कार्यविधि, २०८०

८. स्थानीय तह यूवा विकास समिति नियमावली, २०८०

११. राजश्व मार्फत आन्तरिक आय स्रोतलाई बढाई पालिकाको आम्दानीमा वृद्धि गर्न गत आ.व. देखि अनलाईन प्रणाली मार्फत राजश्व संकलनलाई तिव्रता दिईएको छ । केहि वडा कार्यालयहरुमा कमजोर ईन्टरनेटको अवस्थाका कारण लक्ष्य अनुरुप संकलन हुन नसकेपनि हालसम्म रु १० लाख १७ हजार ९ सय ७७ रुपैया राजश्व संकलन गरिएको

छ ।

१२. विभिन्न समयमा प्राकृतिक प्रकोप भुकम्प, बाढीपहिरो लगायत अन्य कारणले बर्षेनी भौतिक संरचनाको क्षेति हुँदै आएकाले उक्त कुरालाई मध्यनजर गर्दै चालु आ.व. देखि पालिकाको सम्पुर्ण घरका लागि घर बीमा कार्यक्रम शुरु गरि हाल सम्म करिब ८ सय घरधुरी घरबीमा कार्यक्रमबाट लाभावन्वित भएको कुरा यहाँहरुलाई जानकारी गराउँदछु ।

१३. हालसम्म ७५० भन्दा बढी पशुपक्षीको उपचार, कृषकहरुलाई चुना तथा निलोतुथो वितरण लगायत गरिवी निवारण लघु उद्यम विकास ( मेड्पा) कार्यक्रम मार्फत २० जना युवालाई सिपमुलक सिलाईकटाई, पावर टिलर मर्मत तालिम सम्पन्न गरिएकोछ भने किर्डाक नेपाल संगको साझेदारीमा अटो मोबाईल, प्लम्बिङ्ग, हाउस वायरिङ् लगायत अन्य सिपविकास तालिमका लागि ७५ जना युवाहरुका लागि तालिम सञ्चालन हुँदैगरेकोछ ।

१४. तातोपानी गाउँपालिकाले आ.व. २०८०।०८१ मा गाउँ सभा मार्फत पुँजीगत र चालु शिर्षकमा कुल ५५ करोड ६० लाख पच्चिस हजार सात सय अन्ठाउन्न रुपैंया बराबरको बजेट ल्याएको थियो । जसमा पुँजीगत तर्फ १८ करोड १९ लाख ५६ हजार थयो भने हाल सम्म उक्त शिर्षकको खर्च २ करोड ६८ लाख ५३ हजार ४ सय गरि ९४.७५% (प्रतिशत) खर्च गर्न सफल भएको छ । त्यसैगरि चालु तर्फ ३७ करोड ४० लाख ६९ हजार ७ सय अन्ठाउन्न रुपैंया मध्ये १४ करोड ७३ लाख ५ हजार ४ सय तीन रुपैंया खर्च गरि ३९.३७% (प्रतिशत) प्रगती हासिल गरेको छ । पुँजीगत र चालु शिर्षकमा कुल विनियोजित रकम मध्ये समग्रमा १७ करोड ४१ लाख ५८ हजार ८ सय तीन रुपैयां खर्च गरि ३९.४२ प्रतिशत वित्तीय प्रगती हाँसिल गरेको छ ।

ठेक्का मार्फत सञ्चालन हुने आयोजनाहरुको रकम बढी हुने भएका कारण पुँजीगत खर्च केहि न्युन देखिएको भएतापनि हाल दुई वटा आयोजना बाहेक अन्य सात वटा ठेक्का मार्फत सञ्चालन हुने आयोजनाहरुको काम सुचारु भईसकेको अवस्था छ र आर्थिक बर्षको अन्त्य सम्म शत प्रतिशत प्रगती हाँसिल गर्ने लक्ष्यका साथ अगाडी बढेको कुरा यहाँहरुलाई जानकारी गराउँदछु ।

अन्त्यमा, सुखि र समृद्ध तातोपानी गाउँपालिका निर्माणमा अहिलेको सरकार पुर्ण प्रतिवद्ध छ । एउटा मात्र निकायको प्रयास र लगावले मात्र पालिकाले लिएको लक्ष्य र उदेश्य प्राप्तीमा कठिनाई हुने भएकाले सरोकारवाला निकाय र नागरिकलाई विकासका काममा हातेमालो गर्न विनम्र अनुरोध गर्दछु । यसका साथै पालिकाले सञ्चालन गरेका राम्रा र नमुना अभियानमा समेत जोडिन अपिल गर्दछु । प्रभावकारी रुपमा बजेट कार्यान्वयन गर्न सकिएको अवस्थामा मात्र गाउँपालिकाले लिएको लक्ष्य र उदेश्य पुर्ति हुने भएकाले सोको कार्यान्वयनमा यहाँहरुको पुर्ण साथ र समर्थनको आश गरेको छु ।

हाल सम्म स्थानीय सरकारले चालेका कदममा जनप्रतिनिधि, कर्मचारी, नागरिक, I/NGOs, पत्रकार, सुरक्षाकर्मी लगायतको साथ र सहयोग अतुलनिय र प्रशंसनीय छ । हामिले गर्ने कार्य सम्पादनका क्रममा यहाँहरुबाट आएका गुनासो, सुझाब, सल्लाह र प्रतिक्रियालाई आत्मसात गर्दै अगाडी बढीरहेका छौं र आगामी दिनमा समेत यहाँहरुबाट यस्तै किसिमको रचनात्मक साथ सहयोगको अपेक्षा गर्दछु ।

(

प्रकाशित मिति : २०८० माघ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस