तातोपानीको हिउँदे गाउँसभाः नीति निर्माणदेखि पूर्वाधार विकासमा फड्को

अर्धबार्षिक बजेटखर्च ३९ प्रतिशत, ८ वटा कार्यविधि पारित


जुम्ला । असारे विकासकालाई अन्त्य गर्न जुम्लाको तातोपानी गाउँपालिकाले बैशाख मसान्तमै योजना निर्माण तथा भुक्तानी गरेर सक्ने अभियान थालेको छ । सोहि अभियान अन्तरर्गत असोजमै योजना सम्झौता सक्ने देखि बैशाख मसान्त सम्म अन्तिम भुक्तानी दिएर सक्ने लक्ष्यका साथ पूर्वाधार विकासका कामलाई पालिकाले तिब्र गतीमा अघि बढाईरहेको हो ।

असारे विकासको प्रवृतिलाई अन्त्य गर्ने उदेश्यले योजनाहरुको वैशाख मसान्त भित्र कार्य सम्पन्न गर्ने र अन्तिम भुक्तानी दिने लक्ष्यनुसार ८ वटै वडाको योजना सम्झौता असोजमा सकिएको थियो । वित्तिय समानिकरण अनुदान अन्तर्गतका कुल ७६ वटा योजना÷कार्यक्रम मध्ये ६१ वटाको सम्झौता कार्य सम्पन्न ८०% उपलब्धी हाँसिल भएको तातोपानीले जनाएको छ ।

विहिबार तातोपानी गाउँपालिका गाउँसभाको १४ औँ अधिबेशनमा सार्वजानिक गरिएको अर्धवार्षिक प्रगती विवरणनुसार चालु आर्थिक वर्षको हालसम्म ९ वटा योजना निर्माण सम्पन्न भएको र ८ वटा योजनाको अन्तिम भुक्तानी समेत भईसकेको छ ।
भने,करिब एक दर्जन योजनाको अनुगमन भएर अन्तिम भुक्तानी दिने तयारी छ । जिल्लाका अन्य पालिकाले योजनानै सम्झौता गर्न नसकेको अबस्थामा तातोपानीले ८ वटा योजना निर्माण सम्पन्न गरी अन्तिम भुक्तानी गरेको हो ।

गत वर्षपनि बैशाखमै सबै योजना निर्माण अन्तिम भुक्तानी दिएको तातोपानीले ईच्छा शक्ति भएको खण्डमा असारे विकासको अन्त्य गर्न सम्भव रहेको उदाहरण पनि पेश गरेको छ । पुष समान्त सम्म तातोपानी गाउँपालिकाले कुल बजेटको ३९.४२ प्रतिशत बजेट खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि चालु र पुँजीगत गरी कुल ५५ करोड ६० लाख २५ हजार सात सय रुपैया विनियोजन गरेकोमा ६ महिनामा समग्रमा १७ करोड ४१ लख ५८ हजार अर्थात ३९ प्रतिशत बजेट खर्च भएको तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेवती रावलद्धारा प्रस्तुत प्रगती विरणमा उल्लेख छ ।

जसमा पुँजीगत तर्फ १८ करोड १९ लाख ५६ हजार बजेट मध्य २ करोड ६८ लाख ५३ हजार अर्थात १४.७५ प्रतिशत खर्च भएको छ । भने, चालु तर्फको कुल ३७ करोड ४० लाख ६९ हजार ७ सय रुपैया मध्य १४ करोड ७३ लाख ५ हजार ४ सय अर्थात ३९.३७ प्रतिशत खर्च भएको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायतले बताए ।

उनका अनुसार पूर्वाधार विकासमा तिब्रता संगै सेवा प्रवाह र सुशासन प्रर्बद्धनमा सन्तोषजनक प्रगती भएको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन तर्फ ८१% अंक हासिल गरि देशको ७५३ वटा स्थानीय तहमध्ये तातोपानी उत्कृष्ट पाँच भित्र पर्न सफल भएको थियो ।

भने स्थानीय आर्थिक विकास एलईडीको को काम सम्पन्न गरी जिल्ला समन्वय समितिमा पेश गर्दा ७४.५ प्रतिकत अंक प्राप्त गरि हाल सम्म प्रदेशकै पहिलो र देशव्यापी रुपमा तेस्रो स्थानमा रहेको प्रमुख प्रशासकिय अधिकृत कठायतले जानकारी दिए ।
त्यस्तै तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले श्रमदान अभियान अन्तरर्गत आधा दर्जनबढी योजना निर्माण गरिएको बताए । उनका अनुसार वर्षौदेखि अलपत्र भेरीखोलाको थलाले टावर समेत सञ्चालनमा आएको छ । जिल्लामै पहिलो कार्यसम्पादन सम्झौता गरी असारे विकासको अन्त्य गर्न पूर्वाधार विकासका कामलाई तिब्रता दिएकोले भौतिक विकासमा सन्तोषजनक नतिजा आएको उल्लेख गरे ।

उपाध्यक्ष रेवती रावलले राजश्व शिर्षक र दरका विषयमा जानकारी गराएकी थिईन् । कृषिबाली,घरनक्सा पास,पुरानो घरको अभिलेखीकरण लगायतका काम गर्दा कति राजश्व लाग्ने भन्ने बारे उल्लेख गरिन् । उपाध्क्ष रावलका अनुसार ६ महिनामा तातोपानीको १० लाख १७ हजार ९ सय ७७ रुपैया राजश्व संकलन भएको छ ।

साथै पालिकामा नीजि उद्योग दर्ता गर्दा १ लाखदेखि ५ लाखसम्म पुँजी भएका उद्योगदर्ता गर्दा दर्ता शुल्क एक हजार र नविकरणमा २ सय लाग्ने र ५ लाखदेखि १० लाख सम्म पुजी भएको उद्योग दर्ताशुल्क ४ हजार र नविकरण शुल्क ८ सय तोकिएको उपाध्यक्ष रावलले जानकारी दिईन् । उनका अनुसार प्रदेश सरकार सशर्त अनुदान अन्तर्गत १७ वटा मध्य १० वटाको सम्झौता कार्य सम्पन्न भएको छ ।

तातोपानी प्राकृति, धार्मिक सांस्कृतिक तथा पर्यटकिय क्षेत्रको रुपमा परिचित पालिका हो । असिमित मानविय आवश्यक्ता, केहि कानूनी बाधा अड्चन, स्रोत र मानविय जनशक्तीको अभावका बीच पनि ‘सुखि र समृद्ध पालिका’ निर्माणमा जुटेको छ ।

आठ वटा नीति पारित
गाउँपालिकाका दैनिक काम कारवाहिलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न ८ वटा (कानून) ऐन, नियमावली, कार्यविधि, र मापदण्ड निर्माण गरि पारित गरिएको छ ।

गाउँ सभाको १४ औँ अधिवेशनबाट बहुमतले ८ वटा नीति पारित गरिएको गाउँपालिकाका प्रवत्ता अम्मर रोकायाले बताए । उनका अनुसार भु– उपयोग कार्यान्वयन कार्यविधि–२०८०, भूमि व्यवस्थापन ऐन–२०८०,दिवा खाजा सञ्चालन तथा व्यवसथापन सम्बन्धी कार्यविधि– २०८० पारित भएको छ ।

एमबिबिएस अध्ययन छात्रवृत्ति सम्बन्धी कार्यविधि–२०८०,गरिवी निवारण कोष व्यवस्थापन कार्यविधि–२०८०,तातोपानी गाउँपालिकाको नक्सा पास सम्बन्धी कार्यविधि–२०८०,सडक आश्रित सहयोगापेक्षी मानव उद्धार पुन स्थापना तथा व्यवस्थापन कार्यविधि–२०८० र स्थानीय तह यूवा विकास समिति नियमावली–२०८० गरी ८ वटा ऐन नियमालीवली तथा कार्यविधि पारित भएको प्रवक्ता रोकायाले जानकारी दिए ।

अब तातोपानी गाउँपालिकामा पनि नीजि तथा सार्वजानिक घर भवन निर्माण गर्दा अनिवार्य नक्सा पास गर्नु पर्ने छ । नक्सा पास बिना घर भवन बनाउन पाईने छ । त्यस्तै पालिकाले ५० प्रतिशत अनुदानमा एमबीबीएस पढाउने भएको छ । प्रबक्ता रोकायाले पारित भएका सबै ऐन कानुनको बारेमा व्याख्या समेत गरेको थिए । पालिकाले आठ वटै कार्यविधिको पुस्तकनै तयार गरेको छ ।
नीति निर्माणले आबश्यक कानुन अभावले दैनिक कार्यसम्पादनमा देखिएका अन्यौलता हट्ने काम गर्न सहज हुने समेत कर्मचारीको अपेक्षा छ । कानुन बिना काम गर्न मुस्किल हुने भएकोले जनप्रतिनिधिहरु विकास भन्दा नीनि निर्माणमा केन्द्रित हुनुपर्नेमा नागरिकको जोड छ ।
सुखी र समृद्ध तातोपानी गाउँपालिका निर्माणमा पुर्ण प्रतिवद्ध रहेको बताउँदै पालिकाले लिएको लक्ष्य र उदेश्य प्राप्तीका लागि सरोकारवाला निकाय र नागरिकलाई विकासका काममा हातेमालो गर्न समेत अपिल गरेको छ ।

प्रकाशित मिति : २०८० माघ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस