क्यानडाविरुद्ध नेपालको दोस्रो जित

काठमाडौं स् नेपालले क्यानडालाई ४ विकेटले हराएको छ। टियु क्रिकेट मैदानमा क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल अगावै पूरा गर्‍यो। 

क्यानडाले नेपाललाई ठूलो स्कोरको लक्ष्य दिए पनि कप्तान रोहित पौडेल र देव खनालले उत्कृष्ट साझेदारी गरेपछि विजयी सम्भव भएको हो। नेपालका लागि कप्तान पौडेलले ८७ रन र खनालले ७६ रन बनाए। १०१ बलमा पौडेलले ८ चौका र ४ छक्का प्रहार गरे भने खनालले ८१ बलमा ७ चौका र २ छक्का प्रहार गरे। 

त्यस्तै पवन सर्राफ ८ बलमा १४ रन र भीम सार्की २१ बलमा ४ चौकासहित २३ रनमा आउट भए भने ओपनर आरिफ शेख १० रन बनाएर आउट भए। अर्का ओपनर अनिल साह भने कीर्तिमानी अर्धशतक बनाएर आउट भएका थिए। त्यस्तै सोमपाल कामी र कुशल मल्ल ९(९ रनमा अविजित रहे।

त्यसअघि टस जितेर ब्याटिङ गरेको क्यानडाले २८६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। क्यानडाका लागि आरुन जोहन्सनले सर्वाधिक ६५ रन बनाए। त्यस्तै नभनितले ४६, श्रेयसले ४०, पर्गतले ३८ र निकोलशले २० रन बनाए। उदय भागवान भने २० रनमा अविजित रहे। 

नेपालले क्यानडासँगको अन्तिम खेल पर्सी खेल्नेछ। त्यसलगत्तै नेपालले नेदरल्यान्ड्स र नामिबिया सम्मिलित आइसीसी लिग २ को खेल खेल्नेछ। सोही टिमसँग विश्वकप लक्षित टी(२० खेल पनि नेपालले खेल्दैछ।

प्रकाशित मिति : २०८० माघ २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस