जुम्ला – कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्लाबाट नेपालगज्ज, सुर्खेत, काठमाडौँ, मुगुसम्म झण्डै एक दर्जन व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्ने गरेका छन् । तर सिमित व्यवसायीले मात्रै अपांगता भएका व्यक्तिलाई एक सिटमा ५० प्रतिशत भाडामा छुट दिने गरेका छन् ।
कर्णाली हिमचितुवा यातायात प्रालि जुम्लाले ९ सिटे गाडी जुम्ला सुर्खेत नेपालगज्ज सञ्चालन गरेको छ । यसमा अपांगता भएका व्यक्तिलाई एक सिटमा ५० प्रतिशत चुट दिने गरेको छ । यस्तै तिला कर्णाली यातायात व्यवसायी संघले पनि जुम्लादेखि काठमाडौँ जाने ३२ सिटे नाइट गाडीमा ५० प्रतिशत छुट हुने गरेको जनाएको छ ।
अपाङ्गता भएका व्यक्तिले सार्वजनिक यातायातमा छुट पाउने कानुनमै व्यवस्था गरेको छ । अपाङ्गता व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ मा अपाङ्ता भएका व्यक्तिलाई सार्वजनिक यातायातमा ५० प्रतिशत छुट दिने व्यवस्था भए पनि धेरै जसो व्यवसायीले कार्यान्वयनमा ल्याएको पाईदैन ।
जुम्लाबाट सार्वजनिक यातायात सञ्चालन गर्ने झण्डै एक दर्जन व्यवसायी छन् । तर यहाँ दुई वटा व्यवसायी कर्णाली हिमचितुवा र तिला कर्णाली यातायात प्रालिले मात्रै एक सिटमा ५० प्रतिशत छुट दिन सकेको अपांग पुर्नस्थापना तथा विकास केन्द्र जुम्लाका अध्यक्ष रामकृष्ण न्यौपानेले बताए । उनले भने सवै सार्वजनिक यातायात व्यवसायीले कानुनमा व्यवस्था भए बमोजिम भाडामा ५० प्रति छुट दिनु पर्ने हो । तर दिएका छैनन् । कानुन कार्यन्वयन राज्यका निकाय नै मौन छन् । जसका कारण अपांगता भएका व्यक्तिहरु अधिकारबाट बञ्चित भएका हुन् ।
ऐनमा अपाङ्गता भएका व्यक्तिलाई बस, रेल, हवाई टिकटमा ५० प्रतिशत छुट उपलब्ध गराउनुपर्ने व्यवस्था छ । ऐनमा अपाङ्गता भएका व्यक्तिको अधिकार उल्लङ्घन गरेमा वा निजप्रतिको दायित्व पूरा नगरेमा सम्बद्ध व्यक्तिलाई ५० हजारसम्म जरिवाना हुने उल्लेख छ । तर कानुन कार्यन्वयन छैन ।
सार्वजनिक यातायातले अपाङ्गता भएका व्यक्तिलाई भाडामा छुट दिनुको सट्टा अपाङ्गता देख्ने वित्तिकै चालक वा सहचालकले गाडीमा चडाउन आनाकानी गर्ने गरेको अभियान्ता नन्दराज धितालले बताए । उनले भने सिमिति व्यवसायीले भाडामा ५० प्रतिशत छुट दिएका छन् । उनीहरु धन्यवादका पात्र हुन् । तर सवै सार्वजनिक यातायात व्यवसायीले भाडामा छुट दिन सकेका छैन ।
राष्ट्रिय जनगणना २०७८ अनुसार जुम्लाको जनसंख्या एक लाख १८ हजार ३४९ जना रहेका छन् । जम्मा जनसंख्याको २ दशमल ४ प्रतिशत अपांगता भएका व्यक्ति रहेका छन् ।



