जुम्ला : जिल्लाका ८ वटा स्थानीय तहमध्ये कार्यसम्पादन मूल्यांकनमा कनकासुन्दरी गाउँपालिका पहिलाे भएको छ । आर्थिक वर्ष २०७९/८० को प्रदेश र स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकनको प्रारम्भिक नतिजा प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकन अनुसार १७ वटा सूचकमा आधारित भएर मूल्यांकन गर्दा सबैभन्दा धेरै अंक जिल्लाको कनकासुन्दरीले ल्याएर पहिलाे भएकाे हाे।
वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकन अनुसार कनकासुन्दरी गाउँपालिकाले ३६ दशमलव ३५ अंक ल्याएको प्रथम भएको छ । दोस्रोमा नगरपालिका चन्दननाथले ३४ दशमलव ९४, तेस्रोमा हिमा गाउँपालिकाले ३२ दशमलव १४ अंक पाएको छ ।
यस्तै सिंजाले ३१ दशमलव ६१,तिलाले ३० दशमलव ०१, तातोपानीले २९ दशमलव ७५, गुठिचौरले २५ दशमलव २४ र सबैभन्दा कम पातारासी गाउँपालिकाले १८ दशमलव २२ अंक प्राप्त गरेको प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनको तथ्यांकमा उल्लेख गरिएको छ ।
आयोगका अनुसार १० असारभित्र बजेट ल्याए र नल्याएको, ३० असार भित्र बजेट पास गरेनगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर वापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रुपमा दिएनदिएको लगायतका आधारमा मूल्याकंन गरेको छ ।
स्थानीय तहले आगामी आवको आयव्ययको प्रक्षेपणसहितको अनुमानित विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पठाए नपठाएको, स्थानीय तहले समेत बजेटको वार्षिक समिक्षा कात्तिक मसान्त भित्र सार्वजनिक गरे नगरेको जस्ता आधारमा पनि अंक दिएको छ ।
आन्तरिक राजस्व संकलनको प्रक्षेपित लक्ष्य, आन्तरिक राजस्व संकलनको विवरण, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) को प्रयोग लगायतका पक्ष पनि हेरिन्छ । स्थानीय तहले आफ्नो अधिकार क्षेत्र भित्र स्थानीय स्तरको विकासका लागि आवधिक योजना तर्जुमा गरे नगरेको पनि मूल्यांकन वित्त आयोगले गरेको छ ।
स्थानीय तहमा विद्यालय भर्ना भएका बालबालिकाको संख्या, सामुदायिक विद्यालयबाट एसईईमा ल्याएको ग्रेडिङ, गर्भ जाँच, प्रसूति संख्या, बालबालिकाको संख्या, पूर्ण खोप पाएका बालबालिकाको संख्यालाई समेत सूचकमा राखिएको छ ।
यस्ता सूचकमा गरिएको मूल्यांकनका आधारमा धेरै स्थानीय तहको प्राप्तांक ५० भन्दा कम छ । कर्मचारी र जनप्रतिनिधिको समन्वय र सहकार्यको माध्यमबाट काम गर्दा पालिकाले यो नतिजा हासिंल गरेको कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्याले भनाई छ ।
कर्णालीमा हुम्लाकाे सिमकाेट पहिलाे
कर्णाली प्रदेशका १० जिल्लाका स्थानीय तहमध्ये हुम्लाको सिमकोट गाउँपालिकाले ४८ दशमलव ३३ अंक ल्याएको प्रथम भएको छ ।
दोस्रो स्थानमा रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाले ४७ दशमलव ३६ र तेस्रोमा डोल्पाको जगदुल्लाले ४४ दशमलव ३६ अंक ल्याएको छ । आयोगको मूल्यांकनमा सबैभन्दा धेरै अंक ल्याउने कोशी प्रदेशको ३०.८९ मात्रै छ । दोस्रो स्थानमा रहेको बाग्मतीले २७ दशमलव २९, गण्डकीले २३ दशमलव ०७, मधेशले २२ दशमलव ३१, सुदूरपश्चिमले २१ द्यशमलव ०८, कर्णालीले २० दशमलव ९८ र लुम्बिनीले १६ दशमलव ९९ अंक मात्रै पाएको छ ।



