सिंजामा पाठेघर सम्बन्धी शिविरमा २५० जनाको स्वास्थ्य परीक्षण

जुम्ला : सिंजामा पाठेघर सम्वन्धी शिविरमा २५० जनाकाे परीक्षण भएकाे छ ।   कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल,  जनस्वास्थ्य सेवा कार्यालय, सिंजा गाउँपालिका स्वास्थ्य शाखा, प्लान नेपाल र पेस नेपाल जुम्लाकाे समन्वयमा दुई दिने पाठेघर सम्वन्धी शिविर सञ्चालन गरिएकाे हाे ।
फागुन ८ र ९ गते दुई दिने निशुल्क  शिविरमा २५० जना महिलाको स्वास्थ्य परीक्षण, १४० जना पाठेघर क्यान्सरको चेकजाँच, ५ जना महिलाकाे पाठेघरमा रिङ राखेको, ३ जनालाई शल्यक्रियाका लागि रेफर, ५ जनामा क्यानसर पोजेटिप देखिएकाे आसंङ्खा  र ३ जना महिलाको पाठेघर संक्रमण देखिएको सिँजा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले बताए ।
दुर्गम दुर दराजकी महिलाहरुले स्वास्थ्यलाई ख्याल नगरि धेरै गरुँगो भारी बोक्ने र महिनावारी र सुत्केरी अवस्थामा सुरक्षित नभएको कारणले पाठेघरको समस्या देखिने सङ्का भए पछि सिँजा गाउँपालिका स्वास्थ्य शाखाले महिलाहरुका लागि स्तन र पाठेघर सम्बन्धि शिविरको आयोजना गरेको प्रमुख रोकायाले बताए ।
कर्णालीका ग्रामिण भेगका अधिकांश महिलामा स्वास्थ्य समस्या देखिने गरेको वरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर राजिव शाहले बताए। उनले भने, ‘अधिकांश महिलालाई पाठेघरको समस्या छ। कठोर परिश्रमले महिलाको स्वास्थ्य जटिल बन्दै गएको छ।’
सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार हामीले स्वास्थ्य शाखा र स्वास्थ्य चौकीलाई राखी चुस्त राखेका छौं। जनस्वास्थ्यलाई ख्याल गरि स्वास्थ्यकर्मी तयारी अवस्थामा राखेका छौं ।  उनले भने, ‘सरकारले ९२ प्रकारका ओैषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ। तर हामीले सय भन्दा बढी प्रकारका ओैषधि उपलब्ध गराउँदै आएका छौं।’
उनका अनुसार गम्भीर प्रकृतिका रोगको समेत नि:शुल्क उपचारको प्रबन्ध मिलाउन पालिकाले बेलाबेला स्वास्थ्य शिविर संचालन गर्दै आएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले विकट क्षेत्रका १३ जिल्लाका विभिन्न पालिकामा डाक्टर पठाएर सेवा दिदै आएको प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले बताए।
‘विभिन्न क्षेत्रमा आयोजना गरिने स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सक पठाएर सेवा दिदै आएका छौं,’ उनले भने, ‘सिंजामा पनि हामीले कर्णालीमा लामो अनुभवी हासिल गरेका दक्ष चिकित्सकबाट सेवा दियौं। जसले धेरै नागरिकले सेवा लिन पाएको महसुस भएको छ।’

प्रकाशित मिति : २०८० फाल्गुन ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस