जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले आफू संसदमा कसैको घाँटी काटेर गुडिरहेको बसमा बम पड्काएर नआएको भन्दै किन राजिनामा दिने भनेर प्रश्न गरेका छन् । जुम्ली जनताको अपार माया र आर्शिवाद पाएर बहुमतले निर्वाचित भएको भन्दै अमुख व्यक्तिले भनेका भरमा राजिनामा दिनु संबैधानिक व्यवस्था नरहेको बताए ।
सांसद शाहीले आइतबारको बैठकको विशेष समयमा आफ्नो राजीनामा माग्ने माओवादी सांसद माधव सापकोटालाई लक्षित गर्दै संविधानले दिएको अधिकार प्रयोग गरेको भन्दै आफू ८ वर्षको बच्चालाई घाँटी काटेर, मान्छेको हत्या गरेर नआएको र राज्यको सम्पति विनाश पनि नगरेकोले किन राजिनामा दिने भन्दै प्रश्न गरे
शाही बोल्दाबोल्दै माओवादीका सांसद पाण्डेले नियमापत्ति गरेका थिए । पाण्डेको नियमापत्तिपछि कांग्रेस सांसद सुनिल शर्माले एउटा सांसदले बोल्दा सत्तापक्षका सांसदले नियमापत्ति गर्न नपाउने बताए । शर्माले आफूलाई सरकारले थुनेर छुटेपछि संसदमा बोल्ने बेला पनि पाण्डेले यसैगरी नियमापत्ति गरेको भन्दै शाहीलाई समर्थन गरेका थिए । शाहीको दर्जनपछि सत्ता पक्षका सांसदहरुनै विभाजित भएका थिए ।
सांसद शाहीले कविता मार्फत समेत बालकुमारी घटनाका बारेमा सरकारको ध्यानर्कषण गराएका थिए । साथै उनले संसदमा फरक विचार र धारणाको समान गर्ने पद्धतीको विकास हुनु पर्नेमा जोड दिए ।



