जुम्ला । जुम्लाको हिमा गाउँपालिका भित्र रहेका सबै वडामा समुदायिक स्वास्थ्य निरूपण सम्बन्धी कार्यक्रम सञ्चालन भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातक तह अन्तर्गत बि.पि.एच. दोस्रो वर्ष र एम.बि.बि.एस. प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरुले सञ्चालन गरेका हुन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले शैक्षिक पाठ्यक्रम बमोजिम अध्ययनरत विद्यार्थीलाई समुदायिक स्वास्थ्य निरुपणको लागि करिब एक महिनासम्म हिमा गाउँपालिका भित्रको समुदायमा पठाएको छ ।

समुदायको स्वास्थ्य स्थिति पहिचान गर्न, स्वास्थ्य सेवा र स्वास्थ्य समस्याहरू प्रति ज्ञान दृष्टिकोण र अभ्यासहरू मूल्याङ्कन गर्न,समुदायमा स्वास्थ्य समस्याको सम्भावित निर्धारकहरू पहिचान गर्न, जोखिममा रहेका जनसङ्ख्याको पहिचान गर्न बाहिर निस्कने र सम्भावित स्रोतहरू अन्वेषण गर्न, स्वास्थ्य समस्यालाई प्राथमिकता दिनुपर्छ र सामुदायिक सदस्यहरूसँग मिलेर यी समस्याहरू समाधान गर्न निर्देशित उपयुक्त सूक्ष्म स्वास्थ्य परियोजनाहरू विकास गर्नको लागि करिब एक महिनासम्म समुदाय स्तरमा यस कार्यक्रम भएको बि.पि.एच मा अध्ययनरत विद्यार्थी दिलिप हरिजनले बताए ।
यस सम्बन्धी कार्यक्रम सञ्चालन गर्न हिमा १ को स्वास्थ्य चौकीमा मिति २०८०/११/२२ मा अभिमुखिकरण गरिएको थियो । जसमा वडा अध्यक्ष, प्रहरी, ट्राफिक प्रहरी प्रमुख, शिक्षक, महिला स्वयं सेबिका लगायत समुदायका मानिसहरूको बाग्लो उपस्थितिमा सामुदायिक स्वास्थ्य निरुपण अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिष्ठानले २०८०/११/२२ गतेबाट २०८०/१२/२१ गते सम्म संचालन हुने सामुदायिक स्वास्थ्य निरूपणको लागि पठाइएको हुँदा यस अवधिभर आवश्यक सहयोग गरिदिन आग्रह गरेको छ ।
विद्यार्थीले गरेका यस अवधिभर सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रमको तथ्याङ्क सञ्चालन भएको ३० औं दिनमा प्रस्तुत हुनेछ ।



