चर्किएर भत्काएको २ वर्षपछि पूलको पुननिर्माण हुदैँ

पक्की पुल नबन्दा दुई दशक पुरानो बेलिव्रिजबाट जोखिम पुर्ण यात्रा गर्नुपर्ने बाध्यता

जुम्ला । जुम्ला–कालिकोटको सिमावर्ती क्षेत्र नाग्ममा निर्माण नसकिदैँ चर्किएको पुल करिब दुई वर्षपछि पुननिर्माण गर्न थालिएको छ । ६ वर्षदेखि अधुरो पूल निर्माण नसकिदैँ चर्किएपछि भत्काएको झण्डै दुई वर्षपछि पुननिर्माण थालिएको हो ।

२०७९ साल असार पहिलो साता उक्त पुल एकाएक चर्किएको थियो । पुलको अन्तिम निर्माणकार्य चलिरहँदा पुल एक्कासि चर्किएपछि भत्काइएको थियो । भत्काएर ५÷६ महिनामै निर्माण गरीसक्ने बाचा गरेको ठेकेदारले निर्माण विलम्ब गरेको थियो ।

पूल निर्माणको ठेक्का पाएको (सूर्य कन्ट्रक्सन प्रालि) सुर्खेतले अब आफ्नै निजी खर्चमा पुल पुननिर्माण गर्ने भएको छ । पुल निर्माणको हाल सम्म सुक्को भुक्तानी नपाएको निर्माण कम्पन्नीले आफ्लै लापरबाहिले पुल चर्किएको र निर्माणमा ढिलाई भएको भन्दै सडक डिभिजन सुर्खेत भुक्तानी दिएको छैन् । स्टेमेटनुसार निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेपछि मात्रै भुक्तानी गरिने जनाएको छ ।

पुलको फाइनल स्टेसिङ गर्दा बीचमै चर्किएपछि निर्माण रोकिएको पुलको पुनर्निर्माण थालिएको सडक डिभिजन सुर्खेतले जनाएको छ । उच्च प्रविधियुक्त अर्थात् (प्रि–स्ट्रेस) प्रविधिको कर्णालीकै दोस्रो पुल भएकोले निकै सावधानी पुर्वक निर्माण गर्नुपर्नेमा केहि कमीकमजोरीले पुल भत्काउनु परेपनि अब चाडै निर्माण हुने काम अघि बढेको साइट इन्जिनियर अशोक चौधरी बताउँछन् ।

उनी भन्छन,‘चर्किएपछि भत्काउनै केहि महिना लाग्यो । ०७९ साल असोजमा बेमौसमी वर्षापछि ठुलो बाढी आएपछि काम हुन सकेन् । हिउँदको चिसो महिना काम गर्न कठिन छ । निर्माण कम्पन्नीले हालसम्म सुक्को भुक्तानी पाएको छैन् । ठेकेदार दोहोरो मारमा परेपछि जनशक्ति,निर्माण सामाग्री बजेट जुटाउदै ढिला भयो । अब काम दुर्त रुपमा अघि बढ्छ ।’

कमसल सामग्रीको प्रयोग नभई फाइनल स्ट्रेसिङ अर्थात् (लडा तान्दा) समस्या आएको कम्पन्नीको दाबी छ । हाइअल्टिच्युडमा फरक प्रविधिको पुल बनाउँदा अन्तिममा समस्या देखिने विरलै घटना भोग्नु परेको उनको भनाई छ ।

पुर्ण रुपमा निर्माण सकिएको पुल दुई तर्फका पिल्लर बाहेक माथिको सबै संरचना भत्काइएको छ । अहिले पुन सूरुबाटै काम सञ्चालन भईरहेको छ । पिल्लरमा भने कुनै समस्या छैन् । पक्की पुलबाट यात्रा गर्न उत्साहित भएका नागरिक पुल निर्माण नसकिँदै चर्किंदा निरास भएका छन् । २०६१÷०६२ सालबाट सञ्चालित जीर्ण बेलिब्रिजबाटै ठूलासाना सवारी जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।

उक्त पुलको तीन पटक म्याद थपिसकिएको छ । तर निर्माण कम्पनीको ढिलासुस्ती र कोभिडमा निर्माण रोकिनु,अन्तिमा चर्किनुले निर्माणमा ढिलाई भएको हो । पुलको लम्बाइ ४० मिटर र चौडाइ ११ मिटर छ । यो पुल ५० टन लोड धान्ने क्षामता छ ।

निर्माण कम्पन्नीले पुल पुननिर्माणको काम पुनः थालेपछि स्थानीयबासी उत्साहित भएका छन् । तिला गाउँपालिका ६ शेर रोकाया पुल निर्माण गुणस्तर बनाउन सबैले चासो दिनुपर्ने बताउँछन् । पुरानै बेलिव्रिजबाट जोखिम पुर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेकोले पक्की पुल निर्माणलाई गति दिन सबैले चासो र सम्बन्धी निकायले अनुगमन निरिक्षण दिनु पर्ने उनको भनाई छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस