जुम्ला । जुम्लाको हिमा गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गर्न थालेको छ । विकास निर्माण गति दिन,विकासे बजेटमा हुने फजुल खर्चलाई रोक्न र उपभोक्ताको राहतका लागि हिमा गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गर्न थालेको हो ।
जसअन्तरर्गत पहिलो दिन मंगलबार हिमा गाउँपालिका वडा नंं. २ मा पुगेर योजना सम्झौता गरिएको हिमा गाउँपालिका ईन्जिनियर तोरन खड्काले बताए । उनका अनुसार वडा नंंं. २ का रिखिदेउ,कोईरेलीर ओदीका ७ वटा योजना सम्झौता गरिएको छ ।
उपभोक्ताको राहत र पालिका गएर योजना सम्झौता गर्दा विकास बजेटमा हुने अनाआबश्यक खर्च रोक्नका लागि प्रमुख प्रशासकिय अधिकृत,ईन्जिनियर,योजना शाखा प्रमुख,उपाध्यक्ष,वडा प्राविधिक सहितको टोली वडामै पुगेर योजना सम्झौता गरिरहेका छन् ।
भौगोलिक रुपमा विकट हिमाका गाउँ गाउँबाट पालिका पुग्न ५÷६ घण्टा लाग्ने र योजना सम्झौता गर्न पालिका आउँदा अटो रिजर्व गरेर आउनु पर्ने र समग्रमा विकास बजेटको फजुल खर्च अन्त्य गर्न गाउँ गाउँमा पुगेर योजना सम्झौता गर्ने अभियान थालिएको प्रमुख प्रशासकिय अधिकृत रण बहादुर बुढाले बताए ।
उनका अनुसार वडामै सम्झौताले दिन दिनै अटो रिर्जव गर्ने,खाजा नास्ता खाने,प्रक्रिया नमिल्दा काम ढिला हुने जस्ता समस्याले हुने फजुल खर्च रोकिने छ ।
प्राय उपभोक्ता समितिका पदाधिकारीले योजना सम्झौता गर्न जाँदा धेरै खर्च भएको भन्दै विकास बजेटको केहि रकम लिने प्रचलन छ । त्यस्तो प्रबृत्तीलाई रोक्न वडामै योजना सम्झौता वैज्ञानिक मानिएकोले यसलाई निरन्तरता दिने प्रमुख प्रशासकिय अधिकृत बुढाको भनाई छ ।
हिमा गाउँपालिका योजना शाखा प्रमुख कार्तिक रोकाया भन्छन,‘भौगोलिक विकटताले गदाए उपभोक्ता ५÷६ घण्टा हिडेर पालिका आउने,कागजपत्र नमिल्ने दुख पाउने,आउ जाउमा खर्च बढी हुने जस्ता समस्या छन् । यसले विकासमा ढिलाई भएको छ । भुक्तानी प्रक्रिया पनि थाहा नपाउँदा उस्तै समस्या छ । त्यसैले गाउँमै योजना सम्झौता गर्न थालेका हौ । यसले उपभोक्तालाई राहत हुने । विकास बजेटको फजुल खर्च पनि बच्ने आशा छ ।’
हिमा गाउँपालिकामा चालु आर्थिक वर्ष २०८०÷८१ म संघ,प्रदेश र स्थानीयतहका गरी साना ठुला एक सय २० भन्दा बढी योजना रहेका छन् । जसमध्य करिब ८० जत्ती योजना सम्झौता हुन बाँकी छन् ।
आगामी चैत १५ गते सम्म पालिकाका ७ वटै वडामा पुगेर सबै योजना सम्झौता सकेर जेठभित्रै योजना निर्माण तथा अन्तिम भुक्तानी दिने लक्ष्य राखिएको योजना शाखा प्रमुख कार्तिक रोकायाले जानकारी दिए ।
हिमाका ७ वटै वडाका एक सय २० भन्दा बढी योजनाका उपभोक्ता समितिले पालिकामा अब खाता खोल्न मात्र जाने छ । भने चैत दोस्रो सातादेखि काम अघि बढाउने भएका छन् । वडामै आएर योजना सम्झौता गर्दा राहत मिलेको उपभोक्ताको भनाई छ ।
साथै सिंजा क्षेत्रमा हिमा,सिंजा र कनकासुन्दरी गाउँपालिमा दशै तिहार पछि अधिकांंश पुरुष व्यापारमा जाने र फागुन चैतमा मात्रै फर्किने भएकोले विकासका केहि समस्या रहेको पाइएको छ । पालिकाले समयमै योजना सम्झौताको लक्ष्य राखेपनि गाउँमा मान्छेनै नहुँदा प्राय फागुन चैतबाट विकास सुरु हुने गरेको छ ।



