महोत्तरी — बर्दिबास नगरक्षेत्रमा उमेर पुगेर विवाह गर्ने मुसहर जाति समुदायका दम्पतीले ५० हजार रुपैयाँ प्रोत्साहन रकम पाउने भएका छन् । सोमबार बर्दिबास नगरपालिका-१४ स्थित नमुना मुसहर बस्तीमा एक सय आठ जनाको लघुजीवन बिमा गराएपछि मेयर प्रह्लादकुमार क्षेत्रीले सो प्रोत्साहन रकम उपलब्ध गराउने घोषणा गरे ।
‘छोराछोरीको उमेर २० वर्ष पुगेपछि मात्र उनीहरुको विवाह गर्नुहोस्, नगरपालिका कार्यालयले ५० हजार नगद प्रोत्साहन रकम दिनेछ,’ नगरप्रमुख क्षत्रीले भने, ‘यसले तपाईंहरुको स्वास्थ्य र परिवार राम्रो बन्ने छ ।’ यो कार्यक्रम नगरक्षेत्रका सबै मुसहर समुदायमा लागू हुने क्षेत्रीले स्पष्ट पारे ।
नगरक्षेत्रभित्रका स्थायीबासी मुसहर पुरुष महिला दुवैलाई यो रकम उपलब्ध गराइने क्षत्रीको भनाइ छ । सानै उमेरमा विवाह गरी बच्चा जन्माउँदा मुसहर महिलाको स्वास्थ्यमा समस्या बढ्दै गएको क्षेत्रीले बताए । २० वर्ष नपुगी विवाह गर्न नपाइने व्यवस्था भएपनि मुसहर बस्तीमा बालविवाह भने यथावत नै छ ।
अठारदेखि ६९ वर्ष उमेर समूहका मुसहरहरुको तीन वर्षे लघुजीवन बिमाबापत् रकम बर्दिबास नगरपालिकाले एकमुष्ठ एक लाख १९ हजार तीन सय ४५ जम्मा गरेको हो । बिमा ‘लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स’ लिमिटेड बर्दिबास शाखामा गरिएको छ ।
नगरप्रमूख क्षत्रीसहित बिमा कम्पनीका अधिकृत बस्तीमै पुगेर लघुजीवन बिमा गराइएको हो । गरिबी, अशिक्षा र सबैखाले अवसरबाट वञ्चित मुसहरलाई भइपरी आउने दुर्घटनामा राहत होस् भन्ने उद्देश्यले लघुजीवन बिमा गराइएको जनाइएको छ । बीमितले तीन वर्षपछि भवितव्य पर्दा रु एक लाख नगद पाउने लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका शाखा प्रमुख रवीन्द्रकुमार मिश्रले जानकारी दिए ।
नगरपालिकाले बिमा गरिदिँदा स्थानीय सरकारबाट सहयोग पाइने आशा जागेको बस्तीकी ५८ वर्षीया मानकी सदाले बताए। सोही बस्तीका ६६ वर्षीय सुकेश्वर सदा र २२ वर्षीया निशा सदाले लघुजीवन बिमा गरिदिएकोमा खुशी व्यक्त गरे ।
मुसहर बस्तीकी ५७ वर्षीया रजिया सदाले आफ्ना नातिनातिनालाई २० वर्ष उमेर कटाएर मात्र विवाह गर्न सल्लाह दिने बताए। बर्दिबास–१४ को नमुना मुसहर बस्ती धुर्मुस सुन्तली फाउण्डेसनले बनाएर ५२ मुसहर परिवारलाई २०७४ साल वैशाख १ गते हस्तान्तरण गरेको थियो ।
कान्तिपुरबाट



