जुम्ला‐रारा अल्ट्रा म्याराथन प्रतियोगिता बैशाखमा हुने

जुम्ला – जुम्ला– रारा अल्ट्रा म्याराथन नयाँ वर्ष बैशाख १ गते हुने भएको छ । कर्णाली स्पोर्टस् क्लब जुम्लाको आयोजनामा आगामी बैशाख १ गते ४९ किलोमिटर लामो ‘जुम्ला–रारा अल्ट्रा म्याराथन २०८१’ हुने भएको हो ।

क्लबका अध्यक्ष सरोज शाहीले म्याराथनका लागि खेलाडी दर्ता खुला गरिएको बताए । उनले भने, ‘अहिले आयोजना गरिएको पाँचौँ म्याराथन प्रतियोगिता हो । क्लवले ०७५ सालदेखि निरन्तर अल्ट्रा म्याराथन प्रतियोगिता आयोजना गर्दै आएको छ ।
समुद्री सतहबाट दुई हजार तीन सय मिटरको उचाइमा रहेको जुम्ला सदरमुकाम खलंगाबाट सुरु हुने म्याराथन तीन हजार तीन सय मिटरको उचाइमा रहेको डाँफे लेक, चार हजार एक सय मिटरको उचाइमा रहेको चुच्चेमारा लेक हुँदै दुई हजार ८ सय ९० मिटरको उचाइमा रहेको रारा तालछेउमा समापन हुनेछ । जुम्लादेखि दुई दिनको पदयात्रा रहेको सो रुट व्यवसायिक खेलाडीले पाँचदेखि सात घन्टामा पार गर्दै आएका छन् । चौँथो प्रतियोगितासम्म १८ सय हाराहारी खेलाडीले सहभागिता जनाएका छन् । पाँचौँ प्रतियोगितामा कम्तिमा एक हजार खेलाडी सहभागिता हुने अपेक्षा राखिएको छ ।


यसका साथै सोही दिन पाँच किलोमिटिर खुला, कर्मचारी, उद्योग व्यापारी, १६ वर्षमुनिका विद्यार्थीको प्रतियोगिता हुने छ भने एक किलोमिटर १० वर्षमुनिका बालबालिका र जेष्ठ नागरिकको पनि प्रतियोगिता हुने आयोजकले जनाएको छ ।
४९ किलोमिटरको खुला अल्ट्रा म्याराथन प्रतियोगितको प्रथम महिला पुरुष पुरस्कार एक लाख, दोस्रो ७५ हजार, तेस्रो ५० हजार, चौँथो र पाँचौ २०÷२० हजार प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै खुला पाँच किलोमिटर महिला पुरुष प्रथम पाँच हजार, दोस्रो तीन हजार र तेस्रो हुनेलाई दुई हजार रुपियाँ पुरस्कार प्रदान गर्ने जनाएको छ ।
बालबालिका स्तरीय एक किलमिटर प्रतियोगिता (बाल, बालिका) प्रथम तीन हजार, दोस्रो दुई हजार र तेस्रो एक हजार रुपियाँ पुरस्कार रहेको छ । विद्यालय स्तरीय पाँच किलोमिटर प्रथितियोगितामा (बाल, बालिका) प्रथम पाँच हजार, दोस्रो तीन हजार र तेस्रो स्थान हासिल गर्नेलाई दुई हजार रुपियाँ पुरस्कारको व्यवस्थापन गरिएको छ ।


जेष्ठ नागरिक एक किलोमिटर प्रतियोगितामा (महिला, पुरुष) प्रथम तीन हजार, दुई हजार र एक हजार रुपियाँ प्रदान गरिने छ । कर्मचारी स्तरीय पाँच किलोमिटर म्याराथन प्रतियोगितामा (महिला पुरुष) प्रथम पाँच हजार, दोस्रो तीन हजार र तेस्रो हुनेलाई दुई हजार रुपियाँ पुरस्कार रहेको आयोजकले जनाएको छ । उद्योग तथा व्यापारी स्तरीय पाँच किलोमिटर म्याराथन प्रतियोगितामा (महिला, पुरुष) प्रथम पाँच हजार, दोस्रो तीन हजार र तेस्रो हुनेलाई दुई हजार रुपियाँ पुरस्कार रहेको छ ।
प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र चौँथो हुने खेलाडीलाई क्रमश स्वर्ण, कास्य, फिनीसर मेडल, प्रमाण पत्रसहित नगद पुरस्कार प्रदान गर्ने व्यवस्थापन गरिएको कर्णाली खेलकुद क्लव जुम्लाले जनाएको छ ।


सार्क राष्ट्रका धावकको दर्ता शुल्क १४ हजार पाँच सय र अन्य राष्ट्रका धावकका लागि दर्ता शुल्क १६ हजार रुपियाँ रहेको छ । नेपाली खेलाडीका लागि सात हजार र स्थानीय खेलाडीका लागि पाँच हजार रुपियाँ दर्ता शुल्क रहेको जनाएको छ ।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यका अनुसार यो म्याराथन प्रतियोगिताले जुम्लालाई विश्वसामु परिचित गर्ने काम गरेको छ । उनले भने जुम्लाका धावक हरि रोकाया, सुनमाया बुढा जस्ता धावकले जुम्लासहित नेपालको शिर उचो बनाएका छन् । यस तर्फ राज्यले लगानी बढाउने र आवश्यक भौतिक संरचना निर्माण गर्नु पर्दछ ।

प्रकाशित मिति : २०८० चैत्र ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस