जुम्लामा आज सार्वजनिक बिदा,घरघरमा मार्सीधानको विउँ राखिदै


जुम्ला । कर्णाली प्रदेश सरकारले आज (सोमवार) जुम्लामा सार्वजनिक बिदा दिएको छ । राष्ट्रिय धान दिवस मनाइने भएकाले जुम्लामा आज (सोमवार) सार्वजनिक बिदा दिएको हो । आज जुम्लाका घर घरमा मार्सीधानको विउँ राखिदै छ । आज राखिएको विउँ चैत २० गतेसम्म पानीमा भिजाउने र चैत २० गते विसुवाँ पर्वका दिन बेर्नामा छरिन्छ ।

चैत १२ गतेबाट जुम्लामा मार्सीधान खेतीको प्रारम्भ हुने भएकोले चैत १२ गते (बारुवा)लाई कर्णाली प्रदेश सरकारले धान दिवसका रुपमा मनाउन सार्वजानिक विदा दिदै आएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले चैत १२ अर्थात आज जुम्लामा राष्ट्रिय धान दिवस मनाइने भएकाले जिल्लाका सबै सरकारी तथा सार्वजनिक संघ संस्थामा सार्वजनिक बिदा दिइएको जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले कर्णाली प्रदेश सरकारको प्रदेश राजपत्रमा चैत १२ गते जुम्लालाई सार्वजानिक विदा दिएको बताए । उनका अनुसार मार्सीधान खेतीको प्रारम्भ आजैदेखि हुने भएकोले धान दिवसका रुपमा बनाउन प्रदेशले विदा दिएको हो ।

प्रकाशित मिति : २०८० चैत्र १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस