जुम्लामा गतवर्ष भन्दा ३२० जनाले घट्यो एसइई परीक्षार्थीको संख्या

जुम्ला – चन्दननाथ नगरपालिका – ९ श्रीदुस्कास्थित शम्भुनाथ ज्ञानकुज्ज माध्यामिक विद्यालयमा यस वर्षको एसइई परीक्षाका लागि १५ जनाले रजिष्ट्रेसन फाराम भरेका हुन् । तर उक्त विद्यालयबाट अहिले १० जना विद्यार्थीले मात्रै एसइई दिदै छन् । यस वर्षको एसइई १५ चैतदेखि सुरु हुदै छ ।
शुम्भुनाथ माविका लेखापाल लक्ष्मी प्रसाद उपाध्यायका अनुसार एसइई परीक्षाको मिति नजिकिसक्यो प्रवेश पत्र पनि लिन आउदैनन् । एक जना विद्यार्थीलाई घरमै पुगेर परीक्षा दिन आउनु भनेर प्रवेश पत्र दिएर आयौँ । उनले भने आधा पढ्ने उमेरमै विवाह गर्ने, कुलतमा फस्ने, इण्डियाँ (भारत) तिर जाने जस्ता कारणले रजिष्ट्रेसन फाराम भरेका शतप्रतिशत विद्यार्थी परीक्षा दिने आउने गरेका छैनन् ।
तातोपानी गाउँपालिका – ५ एैरेनीस्थित दुर्गा माध्यामिक विद्यालय लाम्राबाट यस वर्षको एसइई परीक्षाका लागि ५६ जना विद्यार्थीले रजिष्ट्रेसन फाराम भरेका हुन् । रजिष्ट्रेसन फाराम भरेका ५६ जना विद्यार्थीले मध्ये ५४ जना विद्यार्थी मात्रै एसइई परीक्षा दिन आउने स्थिति देखिएको प्रधानाध्यापक प्रेमबहादुर शाहीले बताए । उनले भने, एक जना विवाह गरेको भारततिर गएको र अर्काे एक जना विद्यार्थीका अभिभावकले प्रवेश पत्र लिए पनि परीक्षा दिन नआउने जस्तो देखिन्छ ।
सिंजा गाउँपालिका – ६ स्थित माध्यामिक विद्यालय जोडुबाट यस वर्ष एसइई परीक्षाका लागि २५ जना विद्यार्थीले रजिष्ट्रेसन फाराम परेका हुन् । यस मध्ये २३ जनाले मात्रै परीक्षा दिने भएका छन् । दुई जनाले परीक्षामा सहभागी नहुने देखिएको प्रधानाध्यापक सिंहबहादुर बुढाले बताए । उनले भने बीचमा पढाई छोड्ने विवाह गर्ने जस्तो समस्याले रजिष्ट्रेसन फाराम भरेका शतप्रतिशत विद्यार्थी परीक्षामा सहभागी नहुने देखिएको छ ।
बेलैमा पुस्तक नपाउने कर्णालीका विद्यार्थीको पढाइको गुणस्तर बर्सेनि खस्किँदै गएको छ । भौगोलिक रूपमा विकट हुनु, राज्यले शिक्षामा पर्याप्त लगानी नहुनु, पढ्ने उमेरमा विवाह गर्नु, कुलतमा फस्नु, गरिबीजस्ता कारणले कर्णाली शिक्षामा पछि परेको शिक्षाविद् बताउँछन् ।
जुम्लामा १६ परीक्षा केन्द्र तोकिएको छ । यस वर्ष जुम्लाबाट २ हजार पाँच सय ५७ जना विद्यार्थीले एसइई परीक्षा दिने भएका छन् । गतवर्ष जुम्लाका २ हजार ८७७ जना परीक्षार्थी परीक्षामा सहभागी थिए । जुम्लामा पनि गतवर्ष भन्दा यसवर्ष परीक्षार्थीको संख्या ३२० जना विद्यार्थी घटेको तथ्यांक देखिन्छ ।
सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलराज चौलागाई अनुसार शिक्षा गुणस्तर भन्दा पनि प्रजनन् दर घट्न र जिल्लाबाट बाहिर बसाईसराई बढेपछि गतवर्ष भन्दा यसवर्ष एसइई परीक्षार्थीको संख्या तथ्यांकमा घटेको देखिएको हो ।

प्रकाशित मिति : २०८० चैत्र १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस