जुम्ला । जुम्लामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरर्गत १२ हजारबढी यूवा यूवती बेरोजगारका रुपमा सूचिकृत भएपनि १५ सय जनाले मात्रै सयदिनको रोजगारी पाएका छन् । गत आर्थिक वर्ष २०७९÷८० मा जुम्लाका आठ स्थानीयतहबाट कुल १२ हजार दुई सय १४ जना यूवा बेरोजगार सूचिकृत भएका थिए । जसमध्य एक हजार पाँच सय २६ जनाले मात्रै रोजगारी पाएको पाइएको हो ।
२०७५ फागुन ११ गतेबाट संचालनमा आएको प्रधानमन्त्री रोजगार कार्यक्रमले बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारीको प्रत्याभूति गर्ने,दक्ष तथा सक्षम जनशक्ति विकास गरी आन्तरिक रोजगारीको प्रर्बद्धन,नीजि क्षेत्रसंग सहकार्य गरी बेरोजगारी न्युनिकरण, रोजगार केन्द्रित आवश्यक नीतिगत र संरचनात्मक व्यवस्था गर्ने,र सार्वजनिक पूर्वाधारहरुको निर्माण,स्तरोन्तती र विस्तारमा योगदान गर्ने उदेश्य राखिएको छ ।
सोहिअनुसार स्थानीयतहमा रोजगारी प्रदान गर्नु पहिले बेरोजगार सूचिकृत गर्ने प्रावधान छ । तर सूचिकृत मध्यबाट थोरैले मात्र रोजगारी पाउने गरेका छन् । जसका कारण सूचिकृत भएका अधिकांश यूवा रोजगारी नपाउँदा पलायन हुन बाध्य छन् । बेरोजगारका रुपमा सूचिकृत हुँदा पनि स्थानीयतहमा रोजगारी नपाउँदा जुम्लाका सयौ यूवाहरु कालापहाड (भारत) कमाउन गएका छन् ।
जुम्लाका आठ पालिकाको गत आव ०७९÷८० को तथ्यांक हेर्दा कुल १२ हजार दुई सय १४ जना बेरोजगार सूचिकृत भएकोमा १५ सय २६ जनाले मात्रै रोजगार पाएको देखिन्छ । बेरोजगारका सूचिकृत भएका ४० वर्षमुनिका १० हजार ६८८ यूवा अझै काम विहिन छन् ।
कुन पालिमा कति पाए रोजगार ?
जुम्लाका आठ स्थानीयतह मध्य पातारासी गाउँपालिकामा कुल १२ सय ३५ जना बेरोजगार सूचिकृत भएकोमध्य एकसय जनाले मात्रै रोजगारी पाएका छन् । पातारासीमा महिला ७४७,पुरुष ४८८ जना बेरोजगारमा सूचिकृत भएका थिए ।
कनकासून्दरी गाउँपालिकामा दुई हजार २५ जना सूचिकृत भएकोमा दुई सय ९९ जना,सिंजामा १५ सय ७७ जना सूचिकृत हुँदा दुई सय ९६ जना,चन्दननाथ नगरपालिकामा ६७३ जना बेरोजगार सूचिकृत भएकोमा ७२ जनाले मात्रै रोजगारी पाएका छन् ।
त्यस्तै,गुठिचौर गाउँपालिकामा एक हजार १५ जना सूचिकृत मध्य दुई सय २० जना,तातोपानी गाउँपालिकामा १६ सय १५ जना सूचिकृत हुँदा १६२ जना,तिला गाउँपालिकामा १८ सय ५६ जना सूचिकृत भएकोमा एक सय ६४ जना र हिम गाउँपालिकामा २२ सय ५४ जना बेरोगारका रुपमा सूचिकृत हुँदा दुई सय १३ जनाले मात्रै रोजगारी पाएको प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रगती विवरणमा उल्लेख छ ।
यसैबीच गत आवमा जुम्लामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ८४ वटा योजना निर्माण भएका छन् । यो कार्यक्रमबाट विशेषगरी घोरेटो बाटो,पर्खाल निर्माण,घेराबार,सिँचाई कुलो मर्मत,तटबन्धन जस्ता काम हुने गरेका छन् । जसमा पातारासीमा ७,कनकासुन्दरीमा १६,सिंजामा ११,चन्दननाथमा १०,गुठिचौरमा ५,तातोपानीमा १४,तिलामा १३ र हिमामा ८ वटा गरी प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ८४ योजना निर्माण भएका हुन् ।
बेरोजगारका रुपमा सूचिकृत हुनेमा महिला ६ हजार ७७९ जना र पुरुष ५ हजार ४३५ जना रहेका छन् । बेरोजगार सूचिकृत भएपनि रोजगार नपाउने समस्याले यूवाहरु पलायन हुने र प्रायः महिलाहरुले काम पाउने गरेका छन् । बेरोजगारका रुपमा सूचिकृत गरी सकेपछि निश्चितलाई भन्दा सबैलाई कुनै न कुनै काममा जोड्नु पर्ने यूवा विरेन्द्र बहादुर शाहीको भनाई छ ।
तातोपानी १ का यूवा शाही भन्छन,‘हजारौको संख्यामा बेरोजगार सूचिकृत गरेर थोरैलाई मात्र रोजगारी दिनु उचित छैन् । प्रधानमन्त्री रोजगार कार्यक्रममा बजेट अभाव होला । सबैलाई काम दिन कठिन हुन सक्छ । तर पालिकाका अन्य विकास निर्माण,उद्यमशीलताका क्षेत्रमा सूचिकृत यूवालाई प्रथामिकता दिनुपर्छ । तर जिल्लामा त्यस्तो देखिदैन् । सूचिकृत भन्दा पहुँचका भरमा लाभ लिएको देखिन्छ ।’
प्रधानमन्त्री रोजगार कार्यक्रमको विवराण अनुसार हालसम्म नेपालभरी ७० लाख आठ हजार २४५ यूवा बेरोजगारको रुपमा सूचिकृत भएका छन् । भने एक लाख ६५ हजार ९८० जनाले मात्रै रोजगारी पाएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट अहिलेसम्म १८ हजार १९७ वटा योजना निर्माण भएका छन् ।
सरकारले आफै सूचिकृत गरेका यूवा यूवतीलाई रोजगारी दिन नसकेकै कारण नेपालबाट यूवा पलायन थामिनसक्नु छ । तर तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले पालिकाका विभिन्न कार्यक्रम र विकास निर्माणमा सूचिकृत बेरोजगार यूवालाई प्रथामिकता दिने गरेको बताए ।
उनले भने,‘पालिकाका हरेक विकास निर्माण र सिपमुलक तालिममा सूचिकृत यूवालाई पहिलो प्रथामिकता दिदैँ आएका छौ । हालै किर्डाक नेपालद्धारा संचालित मोबाईल रिपेरिङ,सिलाईकटाई,फर्निचर,पलम्वीङ लगायतका तालिममा सूचिकृत यूवा बढी छन् ।’
सरकारले सूचिकृत भएका सबै यूवालाई न्युनतम सयदिनको रोजगारीमा खटाउने नीति र बजेटको व्यवस्थापन गरेमा सहज हुने पातारासी गाउँपालिका अध्यक्ष पुर्णसिंह बोहारा बताउँछन् । उनी भन्छन,‘स्रोत अभावले सूचिकत भएका सबै यूवालाई रोजगारी दिन नसकिने समस्याले गर्दा अन्य विकास निर्माणमा छुटेका यूवालाई जोड्ने प्रयास गरिरहेका छौ ।’