जुम्लामा नेपाली विषयका ९९ जना एसइई परीक्षार्थी अनुपस्थित

जुम्ला – एसइईको दोस्रो दिन शुक्रबार नेपाली विषयको परीक्षामा जुम्लामा ९९ जना परीक्षार्थी अनुपस्थित भएका छन् । नेपाली विषयका दुई हजार पाँच सय २९ जना मध्ये नियमित तर्फ ८८ जना र ग्रेडबृद्धि तर्फ ११ जना परीक्षार्थी अनुपस्थित भएका हुन् ।
नियमित तर्फ छात्रा ३१ जना र छात्र ५७ जना अनुपस्थित भएका छन् । त्यस्तै ग्रेडबृद्धि तर्फ छात्रा ७ जना र छात्र ४ जना शिक्षा विकास तथा समन्वय इकाई जुम्लाका प्रमुख लालसरी बुढाक्षेत्रीले बताइन् ।
परीक्षा केन्द्र जनता मावि महतगाउँमा तीन जना, रत्नचुडेश्वर मावि बोहरा गाउँमा ६ जना, कर्णाली मावि अनामनगरमा १० जना, दुर्गा मावि लाम्रामा ४ जना, हिमशिखर मावि तातोपानीमा १२ जना र सरस्वती मावि कुडारीमा ५ जना परीक्षार्थी अनुपस्थित भएका छन् ।
त्यसैगरी सीता मावि रारालिहिमा ८ जना, कालिका मावि तलिकुडुमा १० जना, राहदेव मावि मोफ्लामा ६ जना, भैरव मावि नराकोटमा ३ जना, मालिका मावि धाँपामा २ जना, कनकासुन्दरी मावि लुड्कुमा २ जना, ऋणमोक्ष मावि डिल्लीचौरमा १० जना, सरस्वती मावि तल्फीमा ६ जना र त्रिभुवन मावि झारज्वालामा १ जना परीक्षार्थी अनुपस्थित भएको जनाएको छ ।
यस्तै ग्रेडबृद्धि तर्फ कर्णाली मावि अनामनगरमा २ जना, हिमशिखर मावि तातोपानीमा ६ जना, सिता मावि रारालिहिमा २ जना र भैरव मावि नराकोटमा १ जना परीक्षार्थी अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाई जनाले जनाएको छ ।

प्रकाशित मिति : २०८० चैत्र १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस