जुम्लामा पाँच किलोमिटरको दौड प्रतियोगिता हुदै

जुम्ला – जुम्लामा पाँच किलोमिटरको दौड प्रतियोगिता हुने भएको छ । जयारत्न कर्णाली बोर्डिङ स्कुल जुम्लाको आयोजनामा १६ वर्षमुनिका बालबालिका बीच चैत २५ गते पाँच किलोमिटरको दौड प्रतियोगिता हुने भएको हो ।
हरेक वर्षको बार्षिक परीक्षाको अन्तिम तिर र नयाँ शैक्षिक सत्र सुरु हुनु भन्दा अगाडी १६ वर्षमुनिका विद्यार्थीका लागि अतिरिक्त क्रियाकलाप अन्र्तगत दौड प्रतियोगिताको आयोजना गर्ने योजना बनाएको स्कूलका प्रधानाध्यापक फुर्वा शेर्पाले बताए ।
दौड प्रतियोगितामा विजेता प्रथम खेलाडीलाई नगद पाँच हजार रुपियाँसहित मेडल र प्रमाणपत्र पुरस्कार स्वरुप प्रदान गरिने सहायक प्रधानाध्यापक अमरनाथ योगीले बताए । उनले भने दोस्रो स्थान हासिल गर्ने खेलाडीलाई तीन हजार, तृतीय खेलाडीलाई दुई हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
दौड प्रतियोगिता छात्र र छात्रा दुबै विधामा हुने छ । जयारत्न कर्णाली बोडिङ स्कूलको मैदानबाट सुरु भएर चन्दननाथ मन्दिर अगाडि टुंगिने छ । १९–२४ चैतसम्म सहभागी खेलाडीले नाम दर्ता गर्न सक्ने समयसिमा रहेको आयोजकले जनाएको छ । दौड प्रतियोगितामा दर्ता शुल्क एक सय रुपैयाँ तोकिएको छ । प्रतियोगितामा ७० हजार रुपियाँ खर्च अनुमान गरिएको छ ।
प्रतियोगिताको प्राविधिक सहयोग कर्णाली खेलकुद क्लब रहेको छ । दौडको रुट कर्णाली बोडिङ स्कूलको खेल मैदानको दक्षिण गेटदेखि टेलिकम, हुलाक कार्यालय, बसपार्क, राजासिम, कालेखोली, नन्दावक्स गणको पुर्वी गेट, मानव चोक, टुडिखेल हुँदै चन्दननाथ मन्दिर गएर टुंगिने क्लबका सचिव मधुराज न्यौपानेले बताए ।

प्रकाशित मिति : २०८० चैत्र १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस