जुम्लाको मुकाम खलंगामा कृषि कचहरी हुने

जुम्ला – जुम्लाको सदरमुकाम खलंगामा बृहत कृषि कचहरी हुने भएको छ । कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालको आयोजनामा कृषि कचहरी हुने भएको हो ।
कृषि क्षेत्रका विषयमा संघीय, प्रदेश र स्थानीय तहमा के कस्ता नीति छन् । कार्यन्वयनको अवस्था के छ र आगामी दिनमा के कस्तो नीति आयोजना हुनु पर्दछ भन्ने बृहत कृषि कचहरी बुधबार हुने भएको हो ।
कचहरी शब्दले इतिहासमा मुद्दा छिन्ने जस्तो देखिए पनि वर्तमान समयमा परिवर्तनका लागि सम्बाद भन्ने भाष्य निर्माण गर्नका निम्ति कचहरी गर्न थालिएको किर्डाक नेपालका कार्यकारी निर्देशक गोविन्द शाहीले बताए । उनले भने ‘जुम्लामा गरिने कृषि कचहरीले सबै तहका सरकारको कृषि सम्बन्धि नीति बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ’ ।
उनले सरकारले आउँदो आर्थिक वर्षमा बन्ने बजेटमा कर्णालीको कृषिका योजना राख्ने र दिर्घकालीन योजनामा कृषि सम्बन्धि योजना समेटिने गरि कार्यक्रमको तयारी गरिएको बताए ।
प्रशस्तै सम्भावना भएको कर्णालीका रैथाले बालीबाट आत्मनिर्भर हुन सक्ने गरि व्यापक रुपमा छलफल चलाउन थालिएको किर्डाक नेपालकी अध्यक्ष सम्झना मल्लले बताइन् । ‘हाम्रा स्थानीय उत्पादनले हाम्रो स्वास्थ बलियो हुन्छ । तर यही कुरा हामीले थाहा पाएनौं,’ उनले भनिन्, ‘अब हामी निरन्तर छलफल र बहसको माध्यमबाट कर्णालीको कृषि क्षेत्रमा देशको ध्यानाकर्षण गराउनु पर्दछ ।’
कार्यक्रममा कृषि क्षेत्रका विज्ञ, सरकारी निकायका प्रतिनिधि, कृषि क्षेत्र अनुभवी व्यक्ति र किसानको उपस्थिति रहने किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक दिपराज रावतले बताए ।

प्रकाशित मिति : २०८० चैत्र २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस