
जुम्ला – नेकपा एमाले पार्टीको भातृ संगठन राष्ट्रिय जन सांस्कृतिक महासंघ नेपालले शुभकामना सांस्कृतिक साँझ २०८० को आयोजना गर्ने भएको छ । सांस्कृतिक कार्यक्रममार्फत नेपाली मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले सांस्कृतिक साँझको आयोजना गरिएको हो ।
रास्ट्रिय जनसाँस्कृतिक महासङ्घका कर्णाली प्रदेश इन्चार्ज पदम रोकायाका अनुसार आगामी चैत ३० गते काठमाडौंस्थित राष्ट्रिय नाचघर जमलमा सांस्कृतिक साँझको आयोजना गर्न थालिएको छ । त्यसको तयारी तीव्र भइरहेको छ ।
‘दार्चुलाको कालापानीदेखि ताप्लेजुङको ओलाङ्चुङ गोलासम्मको मौलिक नाच हामीले सांस्कृतिक साँझमा देखाउने छौँ’, उनले भने, ‘आजसम्मकै सबैभन्दा फरक र मौलिक कार्यक्रम हुने छ ।’

नेपालको मौलिकता नेपालीको शान, कला र संस्कृति हाम्रो पहिचान भन्ने नाराका साथ आयोजना गर्न लागिएको सांस्कृतिक साँझमा पूर्णकला बिसी, वैकुण्ठ महत, ठानेश्वर गौतम, अमृत खाती, साजन राई, लगायतका कलाकारको प्रस्तुति रहने जनाइएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारी पनि कार्यक्रममा सहभागी हुने छन् । पार्टी अध्यक्ष ओलीले राष्ट्रिय जन सांस्कृतिक महासंघका पूर्व तीन अध्यक्षलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको जन सांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले बताए ।