पातारासीमा वन जंगल फडानीसँगै नासिए पानीका मुल

जुम्ला – पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले वन जंगलसँगै पानीका मुल पनि नासिदै गएका बताए । उनले भने पातारासी जल, जमीन, जंगल र जडिबुटिको खानी हो । यहाँका यिनै महत्वपूर्ण सम्पत्ति हुन् । यिनै सम्पत्तिको संरक्षण गर्न आवश्यक छ ।
पूर्व सामुदायिक वनका अध्यक्षसमेत रहेका अध्यक्ष बोहराले वन जंगल फडानी, जडिबुटि जथाभावी उत्खननले नासिए गएपछि पानी मुल पनि नासिदै सुक्दै गएका छन् । बढ्दो जलवायू परिवर्तनका कारण समयमा हिउँ नपर्दा हिमाल काला पत्थरमा परिणत भएका छन् । हामी घरछेउमा बग्ने खोला नदी पनि सुक्ने अवस्थामा पुगेका छन् ।
अध्यक्ष बोहराले पातारासी गाउँपालिकामा किर्डाक नेपालले सञ्चालन गरेको सामाजिक परीक्षण कार्यक्रममा यस्तो बताएका हुन् । किर्डाक नेपाल जुम्लाले पातारासीमा सञ्चालन गरेको पानी सम्वन्धी सुमात्रा परियोजनाले नीति निर्माणमा सहयोग पुगेको अध्यक्ष बोहराले बताए । बढ्दो वन विनासले गर्दा पानीका मुहान सुक्ने अवस्थामा पुगेको उनको भनाइ छ । उनले भने, वन क्षेत्रमा सुशासन ल्याउनका लागि अभियान सञ्चालन गरेका छौँ । वन संरक्षण भएमा पानीका मुहान संरक्षण हुने उनको भनाई छ ।
जथभावि रुपमा वन फडानि भएको भेटिएमा स्थानीय सरकारले कानुनी कारबाहीका लागि पहल गर्नेछ । शुद्ध पानी पिउनका लागि मुहान संरक्षण गर्नु पर्ने अध्यक्ष बोहराको भनाई छ । जंगलको महत्व बुझन उनले पातारासीका नागरिकलाई अपिल गरेका छन् । जल, जमिन, जंगल र जडिबुटीमा पातारासी क्षेत्र धनि छ । स्थानीय सरकारले वन संरक्षणका लागि जनसुकै कदम चाल्न तयार हुने अध्यक्ष बोहराको भनाइ छ ।
पातारासीमा मुल÷नाउला (कुवा) २४१ वटा, साना खोल्सा २३३ वटा, खोल्सा १९ वटा, नदी २ वटा गरी जम्मा पानीका स्रोत ४९५ वटा रहेका छन् । अहिले प्रयोगमा आएका १२९ वटा छन् भने प्रयोगमा नआएका ३६६ वटा पानीका स्रोत रहेका छन् ।
पातारासीमा १८ प्रतिशत खानेपानी, ३ प्रतिशत सिचाई, एक प्रतिशत विद्युत, १ प्रतिशत पानीघट्ट, खानेपानी तथा सिचाईमा ३ प्रतिशत र ७४ प्रतिशत पानीको स्रोत प्रयोगमा आएको छैन ।
राम्रोसँग सञ्चालनमा आएका पातारासीमा ८ वटा छन् भने ठिकठिकै सञ्चालनमा रहेका ८९ वटा योजना रहेका छन् । सञ्चालनमा नआएका विग्रेका २ वटा खानेपानीका आयोजना रहेका छन् । वडा नम्बर ६ को थन्केखोला खानेपानी आयोजना निर्माणाधिन अवस्थामा रहेको जनाएको छ ।
यस्तै नयाँ तर्जुमा भएका ६ वटा खानेपानी आयोजना रहेका छन् भने मर्मत गर्नुपर्ने ३६ वटा रहेका छन् ।
पातारासीमा १२ वटा सिचाई आयोजना रहेका छन् । राम्रोसँग सञ्चालनमा रहेका ३ वटा आयोजना छन् भने ठिकठिकै सञ्चालनमा रहेका ३ वटा आयोजना रहेका छन् । ६ वटा सिचाई आयोजना नराम्रो विग्रेको अवस्थामा रहेका छन् । नयाँ २४ वटा र मर्मत गर्नुपर्ने ३ वटा सिचाई आयोजना तर्जुमा भएका छन् ।
पानीबाट सञ्चालन हुने पातारासी गाउँपालिकामा १२ वटा अघुविद्युत आयोजना रहेका छन् । १२ वटा आयोजनाबाट २०९ किलोवाट विद्युत उत्पादन भईरहेको छ । पानीबाट सञ्चालन हुने पातारासीमा २५ वटा पानी घट्ट रहेका छन् । यसमध्ये ५ वटा घट्ट सञ्चालन छन् भने पानी अभावका कारण २० वटा घट्ट ठिकठिकै कहिलेकाही सञ्चालनमा आउने गरेका छन् ।
सामाजिक परीक्षण कार्यक्रममा किर्डाक नेपालका कार्यक्रम विकास तथा गुणस्तर सुनिश्चतता प्रबन्धक असिम पौडेलले संस्थाले गरेका कार्य प्रगतिका विषयमा जानकारी गराए । करिव ४४ करोड रकम किर्डाक नेपालले विभिन्न दातृ निकायको साँझेदारीमा खर्च गरेको उनको भनाइ छ । पौडेलले गत कार्तिक १७ गते जाजरकोटमा गएको भुकम्प पीडितलाई राहत वितरण गरेको, शिक्षा, स्वास्थ्य, मानव अधिकार संरक्षण, जीविकोपार्जन, विपद् लगायतका क्षेत्रमा किर्डाकले काम गर्दै आएको बताए ।
संस्थाले गरेको काम र खर्चका बारेमा उनले जानकारी गराए । कर्णालीको आवाज राज्यलाई सुनाउनका लागि संस्था स्थापना भएको उनको भनाई छ । किर्डाक नेपालको केन्द्रीय कार्यालय जुम्लामा रहेको छ । पातारासी गाउँपालिकामा सुमात्रा, एनआरएल र बाल संरक्षण परियोजना गरी तीन वटा परियोजना सञ्चालनमा रहेका छन् । । प्रवन्धक पौडेलका अनुसार हामी रहेक वर्ष सामाजिक परीक्षण गर्ने गर्दछौँ । यो पटक पातारासीमा गरेका छौँ ।
पारदर्शिता कायम गर्न र नागरिकका सुझाव संकलन गर्नको लागि सामाजिक परीक्षण गर्दै आएको पौडेलले बताए । किर्डाकले कर्णाली प्रदेशका १० वटा जिल्ला, लुम्बिनी र गण्डगी प्रदेशसहित २२ वटा जिल्लामा काम गर्दै आएको छ । समृद्धिसहित न्यायपूर्ण समाज निर्माण गर्ने किर्डाक नेपालको उद्देश्य रहेको छ । संस्थाको उद्देश्य अनुरुप विभिन्न जिल्लामा काम गर्दै आएको प्रवन्धक पौडेलले बताए ।
सामाजिक परीक्षण कार्यक्रमलाई अनुसन्धानात्मक ढंगबाट अध्ययन गर्न खोजिएको उनको भनाई छ । सामाजिक परीक्षण कार्यक्रममा उठेका सवाललाई टिपोट गर्दै आगामी दिनमा गरिने कार्यमा सुधार गर्ने लक्ष्य रहेको छ । पौडेलले भने सामाजिक परीक्षणको सैद्धान्तिक पक्षको अनुसरण र सामाजिक परीक्षण कार्यको उत्तरदायित्व पुरा गर्न खोजिएको हो ।

प्रकाशित मिति : २०८० चैत्र २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस