जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाले आठ महिनामा २५ प्रतिशत मात्रै विकास बजेट कार्यान्वयन गरेको छ । गुठिचौर चालु आर्थिक वर्ष २०८०÷८१ को आठ महिनामा पुँजीगत तर्फ विनियोजित कुल बजेटको २५ प्रतिशत विकास बजेट मात्रै कार्यान्वयन गरेको हो ।
चालु आवमा विनियोजित कुल ३४ करोड ९५ लाख २५ हजार सात सय बजेट मध्य फागुन मसान्तसम्मा चालु र पुँजीगत गरी जम्मा १३ करोड ५८ लाख ४६ हजार ८८४ बजेट खर्च भएको गुठिचौर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत ध्रुर्ब गिरीले बताए । उनका अनुसार समग्रमा कुल बजेटको ३८ दशमलब ८६ प्रतिशत बजेट कार्यान्वयन भएको छ ।
तर गुठिचौरले बितेको आठ महिनामा भने पुँजीगत खर्च सन्तोषजनक रुपमा गरेको छैन् । पुँजीगत तर्फ विनियोजित १२ करोड ९८ लाख पाँच हजार ६ सय रुपैया मध्य आठ महिनामा तीन करोड ३१ लाख ९७ हजार ४६२ रुपैयाँ अर्थात २५.५७ प्रतिशत मात्रै पुँजीगत बजेट खर्च भएको छ ।
जबकी चालु तर्फ २० करोड ९७ लाख २० हजार एकसय विनियोजित भएकोमा फागुन मसान्तसम्म १० करोड २६ लाख ४९ हजार ४२२ रुपैया अर्थात ४६.७१ प्रतिशत चालु बजेट खर्चको भएको गुठिचौर गाउँपालिकाद्धारा सार्वजानिक गरिएको दोस्रो चौमासिक प्रगती प्रतिबेदनमा उल्लेख छ ।
बुधबार आयोजित गुठिचौरको चालु आवको प्रथम र दोस्रो चौमासिक सार्वजानिक सुनुवाईमा सार्वजानिक भौतिक तथा वित्तिय प्रगती विवरणनुसार पुँजीगत भन्दा चालु खर्च बढी भएको देखिएको हो ।
आर्थिक वर्ष सकिन तीन महिना मात्रै बाँकी रहँदा विकास बजेट मात्रै ११ करोड ७ लाख ७० हजार ६७८ रुपैया कार्यान्वयन हुन बाँकी छ । त्यसैगरी गुठिचौर आठ महिनामा १६ वटा योजनाको अन्तिम भुक्तानी दिएको प्रमुख प्रशासकिय अधिकृत गिरीले जानकारी दिए । उनले भने,‘हामीले हाल सम्म १३० वटा योजना सम्झौता गरेका छौ । जसमा १६ वटा निर्माण सम्पन्न भई अन्तिम भुक्तानी पनि भईसकेको छ । भने,१ योजनाको ठेक्का सम्झौता भएको र दुई वटा ठेक्का खोलिएको छ ।’

हाकिम नटिक्ने समस्याले पुँजीगत बजेट कार्यान्वयन अपेक्षित रुपमा हुन नसकेको प्रशासकिय अधिकृत गिरीले उल्लेख गरे । केही महिनायता पूर्वाधार विकास तथा पालिकाका कार्य सम्पादनक चुस्त रुपमा भईरहेकोले ढिलोमा जेठ भित्रै सबै योजना निर्माण तथा भुक्तानी दिएर सक्ने गुठिचौरको लक्ष्य छ ।
सार्वजानिक सुनुवाई कार्यक्रममा करिब २६ जना स्थानीयले प्रश्न,जिज्ञासा राखेका थिए । गुठिचौर अझै अपेक्षाकृत विकास र सेवा प्रवाह गर्न नसकेको,उत्पादनमुखी क्षेत्रमा लगानी नगरेको,टुक्रे योजना जोड दिएको,देखिने विकास केहि नभएको जस्ता गुनासो राखेका थिए ।
अध्यक्ष बुढाले सुनाए दुई वर्षका उपलब्धीको फेहरिस्त
स्थानीयको प्रश्न,जिज्ञासा र गुनासोको संबोधन गर्दै गुठिचौर गाउँपालिका अध्यक्ष दान बहादुर बुढाले निर्वाचित भएको दुई वर्षमा भएका उल्लेखीय कामहरुको फेहरिस्त सुनाए । नागरिक प्रश्न गरेजस्तो,दलहरुले प्रतिसोध साँधे जस्तो निर्वाचित भएको दुईवर्ष कानमा तेल हालेर नसुतेको भन्दै कामहरुको फेहरिस्त सुनाएका हुन् ।
जससमा सुरक्षित गाउँपालिका निर्माणका लागि मदिरा नियन्त्रण अभियान संचालन,स्वास्थ्य सेवामा पहूँच बढाउन एम्बुलेन्स सेवा सुरु,वडा नंं.४ मा ५० लाखको स्टिल ट्रस पुल निर्माण,हाकिम नटिक्ने समस्याको अन्त्य,एक करोड लगानीमा गुठिचौरदेखि ठाकुरज्यु पदमार्ग निर्माण प्रक्रिया बढीरहेको,शंकर बहुदश्यीय मावि विद्यालयमा घेराबार निर्माण गरिएको उल्लेख गरे ।

त्यस्तै, सानो गुठिचौरमा औधोगिक ग्राम निर्माण प्रक्रिया बढेको,अत्याधुनिक सेवा सहितको पालिकाको प्रशासनिक भवन निर्माण भईरहेको,पालिकाका दुर्गम वडा नं. १ र २ का जेष्ठनागरिकमै घरमै भत्ता बाडेको, वडा नं. ३ मा आफ्नै पक्की भवन निर्माण भईरहेको,वडा नं. २ मा पाँच शैया अस्पताल निर्माण प्रक्रिया बढाएको,वडा नंं. ५ मा गरिब विपन्नका छोराछोरीका लागि आवासिय विद्यालय संचालन भएको,कालिका आधारभूत विद्यालयमा डिजिटल प्रविधिबाट पढाई भएको लगायतका उपलब्धीहरु अध्यक्ष बुढाले उल्लेख गरेका हुन् ।
गुठिचौरलाई पाँच वर्षमा जिल्लाकै उत्कृष्ट पालिका बनाउने समेत अध्यक्ष बुढाको दाबी छ । गुठिचौरका निवर्तमान गाउँपालिका अध्यक्ष हरि बहादुर भण्डारीले गुठिचौरलाई समृद्ध पालिका बनाउन राजनीति पूर्वाग्राहि भन्दा माथि उठेर साँझा रुपमा बढ्नु पर्ने बताए । उनले भने,‘पहिलो कार्यकालमा स्थानीय सरकारको जग बसाल्ने काम गर्यौ,कानुन बनायौ । अहिले काम गर्न सजिलो छ । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गरेको खण्डमा समृद्ध गुठिचौर बन्छ । सबैको हातेमालो हुन जरुरी छ ।’
सार्वजानिक सुनुवाई कार्यक्रमको सहजीकरण सिंजा मल्टि मिडिया प्रा.लीले गरेको थियो ।



