कर्णाली प्रदेश स्तरीय शैक्षिक बहसबाट १५ बुद्धे घोषणा पत्र जारी

जुम्ला – हामी सुधार्छाै हाम्रो विद्यालय भन्ने मुल नारासहित राष्ट्रिय अभियान सुरु भएको छ । कर्णाली प्रदेश स्तरीय शैक्षिक बहस तथा उप्रेरणा कार्यक्रमले १५ बुद्धे घोषणा पत्र २०८० जारी गरेको हो ।
सामुदायिक विद्यालयले रणनीतिक योजना र वार्षिक विद्यालय सुधार योजना निर्माण गर्नेछौं । योजनामा विना बजेट र कम बजेटबाट सम्पन्न गर्न सकिनेहरुलाई प्राथमिकता दिनेछौं । साथै आवश्यक कार्यको लागि बजेट व्यवस्था गर्न स्रोतको खोजी गर्नेछौं ।
विद्यालयमा शैक्षिक गुणस्तर बृद्धि गर्न गुणस्तरको मानक सहित परिभाषित गर्नेछौ । गुणस्तरीय शिक्षाको लागि विद्यालय व्यवस्थापन समितिको क्षमता बढाउनेछौं । विद्यालय सञ्चालन तथा व्यवस्थापन पक्ष र गुणस्तर सुधारका लागि शिक्षककले प्रधानाध्यापक सँग, प्रधानाध्यापकले विव्यस सँग शैक्षिक उपलब्धीमा आधारित काय ’संपादन करार सम्झौता गरी कार्यान्वयमा ल्याउँने प्रतिबद्धता गर्दछौं ।
प्रविधिमैत्री सिकाईको लागि स्थानीय सरकारको सहजिकरणमा प्रत्येक शिक्षकको हातमा ल्यापटप उपलब्ध गराई प्रयोगमा ल्याउनेछौं । जुम्ला जिल्ला अन्तर्गत सामुदायिक विद्यालयका शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरुको सन्ततीलाई सामुदायिक विद्यालयमा नै पठनपाठन गर्नेछौं ।
जुम्ला जिल्लाका स्थानीय पालिका भित्रका विद्यालयहरु सुधार गर्न सामुदायिक विद्यालयको अपनत्व र स्वामित्व अभिभावक र समुदायमा ल्याउनेछौं । राम्रो विद्यालय सँग सहकार्य गर्न शिक्षक, विद्यालय व्यवस्थापन समिति र विद्यार्थीहरुको शैक्षिक अवलोकन एवं सिकाई आदान प्रदान गर्नेछौं
शिक्षण सिकाईमा पारिवारिक कार्य, स्थानीय सामग्री पाठ्यक्रमसँग जोडेर सिकाई गर्नेछौं । विद्यार्थीको व्यक्तिगत प्रोफाइल निर्माण गर्नेछौं । जहाँ विद्यार्थीले चाहेका, जानेका र अभिभावक सँग भएको सीपको पहिचान गरी बालबालिकाको सिकाईमा जोड दिनेछौं ।
जुम्ला जिल्ला लगायत हिमाल जिल्लाको शैक्षिक सत्र बैशाख १ गते देखि लागू गरिएकाकोमा सो अव्यवहारिक भएको महशुस भएकाले, साविककै शैक्षिकशत्र फागुन १ गतेदेखिको प्रावधान लागू गर्न सम्बद्ध सरकार समक्षमाग गर्नेछौं ।
गुणस्तरीय शिक्षाको मानक, शिक्षकको स्व–मुल्यांकन, विद्यार्थी स्व–मुल्यांकनको साधन निर्माण तथा कार्यान्वयन गर्नेछौं । सामुदायिक विद्यालयमा पठनपाठन गर्ने विद्यार्थीहरुको अनिवार्य बचत गर्नेछौं । यसको लागि अभिभावक र व्यावसायिक सामाजिक उत्तरदायित्वको कोषसँग जोड्नेछौं ।
विव्यस महासंघ नेपालका स्थानीय सञ्जालिकरणका लागि सहजीकरण गर्दै सबै स्थानीय पालिका शिक्षा समिति र जिल्ला शिक्षा समितिहरुमा अनिवार्य संस्थागत सहभागिता गर्न जोडदार माग गर्दछौं ।
जुम्ला जिल्लाका प्रधानाध्यापहरु र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुले विद्यालयतहको शिक्षालाइ स्थानीयकरण सँग जोडेर पठनपाठन गर्ने प्रतिबद्यता व्यक्त गर्दछौ ।
सामुदायिक विद्यालयले हरेक २ वर्षमा विद्यालयको समग्र कार्य क्षमता लेखाजोखा (परफरमेन्स अडिट) गराउने छौं । साथै उक्त लेखाजोखाले दिएको पृष्ठपोषणलाई पूर्ण रुपमा लागु गराउने छौं । विद्यालयभित्र स्थानीय उत्पादनलाई मात्र खाजाको रुपमा प्रयोगको सुनिश्चितता गराउनेछौं ।
विद्यालयलाई हरित विद्यालय परिसर जोड दिनेछौं । विद्यालयले प्रस्तुत गर्ने सांस्कृतिक कार्यक्रमहरुमा स्थानीय लोक कला सँस्कृतिको सम्बर्द्धन तथा प्रवर्द्धनलाई प्राथमिकता दिनेछौं ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल र नेपाल शिक्षक महासंघको संयुक्त अगुवाईमा शैक्षिक बहस तथा उप्रेरणा कार्यक्रम कर्णाली प्रदेशको जुम्लामा सञ्चालन गरिएको हो । शिक्षा विका तथा समन्वय इकार्य जुम्लाको संयोजक, शिक्षा विकास निर्देशनालय, सेप द चिल्डेन, प्लान नेपाल, पेस नेपाल, चन्दननाथ नगरपालिका जुम्लाको सहकार्य रहेको थियो ।

प्रकाशित मिति : २०८० चैत्र ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस