जुम्ला — जुम्ला रारा अल्ट्रा म्याराथनको उपाधि जुम्लाका धिर बुढा र खोटाङकी प्रिया राई प्रथम भएका छन् । पुरुषतर्फ धिर र महिलातर्फ प्रिया प्रथम भएका हुन् । धिरले जुम्ला सदरमुकाम खलंगादेखि रारातालसम्मको ४९ किलोमिटर दूरी ४ घण्टा ५७ मिनेट ३१ सेकेन्डमा पार गरेका थिए । त्यस्तै प्रियाले ६ घण्टा ७ मिनेट ५७ सेकेन्डमा दूरी पार गरेकी थिईन ।
पुरुषतर्फ जुम्लाकै दलबहादुर कुँवर र शेरबहादुर बुढाले क्रमशः दोस्रो र तेस्रो स्थान ल्याए । दलबहादुरले ५ घण्टा १२ मिनेट ४० सेकेन्डको टाइमिङ निकाले भने शेरबहादुरले ५ घण्टा १८ मिनेट ३५ सेकेन्डमा उक्त दूरी पार गरेका थिए । दलबहादुरले चाैथाे सस्करणमा गतवर्ष प्रथम जित हासिल गरेका थिए । महिलातर्फ जुम्लाकी राज्यलक्ष्मी रावलले ६ घण्टा १५ मिनेट ९ सेकेन्डको टाइमिङ निकाल्दै दोस्रो भइन् । तिला गाउॅपालिका जुम्लाकी अनिता बुढाले ६ घण्टा ३३ मिनेट ३४ सेकेन्डमा निर्धारित दूरी पार गर्दै तेस्रो भइन् ।
म्याराथनमा ४ विदेशी खेलाडीसहित ५४ जना दौडिएका थिए । कर्णाली स्पार्ट्से क्लब जुम्लाको आयोजना भएको जुम्ला रारा अल्ट्रा म्याराथन संघीय सरकारका युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले उद्घाटन गरेका थिए । म्याराथनमा सोलुखुम्बु, खोटाङ, रुकुम पूर्व, कालीकोट, मुगु, ओखलढुंगा, सिन्धुपाल्चोकका र जुम्लाका धावकले भाग लिएका थिए ।आयोजकका अनुसार जुम्लादेखि दौडिएका ५४ जना धावक मुगुको राराताल पुगेका थिए ।
जुम्ला खलंगाको बालमन्दिरदेखि सुरु भएको म्याराथन रारातालको छेउमा गएर टुंगिएको हो ।म्याराथनमा प्रथम हुनेलाई १ लाख रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई ७५ हजार र तेस्रो हुनेलाई ५० हजार रुपैयाँ दिइएको छ । म्याराथनमा सहभागी हुन सार्क राष्ट्रका धावकलाई १४ हजार ५ सय, अन्य राष्ट्रका धावकलाई १६ हजार, नेपाली धावकका लागि ७ हजार र स्थानीय धावकका लागि ५ हजार दर्ता शुल्क तोकिएको थियो ।



