१८ महिनामै सकिनु पर्ने चुकेनी जलविद्युत आयाेजना ४ वर्षपछि  अन्तिम चरणमा

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका वडा नं. १ मा निर्धाणधिन चुकेनी जलविद्युत आयोजना चार वर्षपछि अन्तिम चरणमा पुगेको छ । १८ महिनामै सकिनु पर्ने आयोजना करिब चार वर्षपछि निर्माणको अन्तिम चरणमा पुगेको हो ।

करिब एक मेघावाट (९९८) किलोवाट क्षामताको चुकेनी जलविद्युत आयोजना झण्डै ४३ करोड लगानीमा निर्माण भएको हो । चुकेनी जलविद्युत आयोजनाको सम्झौता २०७६ जेठ १० गते भएको थियो । उक्त सम्झौताको मितिबाट १८ महिनामै सकिनु पर्ने थियो ।  तर म्याद थप गर्दै निर्माण गरे पनि आयोजना निर्माणले गति लिन नसक्दा चर्को आलोचना समेत हुदै आएको थियो ।

चुकेनी जलविद्युत आयोजनाको कुल लागत ४३ करोड रहेको छ । जसमा ३० करोड वैकल्पिक ऊर्जाको लगानी छ भने, १३ करोड पालिका र स्थानीय जनताको लगानी छ । जनताले चुकेनीखोला सहकारी संस्थामार्फत् आफ्नो घर जग्गाको लालपुर्जा धरौटी राखेर ६ करोड बराबरको सेयर लगानी गरेका छन् ।

बत्ती बल्ने भन्दै विभिन्न भाका तोकिए पनि निर्माण पक्ष असफल हुदैँ आएकोमा बल्ल बल्ल बत्ती बाल्ने अन्तिम तयारी भईरहेको छ । आयोजना निर्माणमा भएको ढिलासुस्तीले आक्रोसित बनेका जुम्लाबासी चाडै चुकेनीको बत्ती बल्ले खबरले उत्साहित भएका छन् ।

नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत १८ महिनामा सकिनु पर्ने आयोजना करिब ४ वर्षपछि अन्तिम चरणमा पुगेर बत्ती बल्ने कुराले खुसी भएको बताउँछन् । ढिलै भएपनि आयोजना निर्माण भयो । उनले भने,‘चुकेनी विद्युत आयोजना अन्य आयोजना जस्तो अलपत्र भएन् । सम्झौता मिति भन्दा ढिलै निर्माण भएपनि जुम्लाको बत्ती अभावको समस्या टेर्ने भयो । उद्योगी व्यापारी तथा उपभोक्ताले राहत पाउने आशा छ ।’

पटक पटक बत्ती बल्ने भाका तोकिएपनि अससफल भएकोले अन्तिम अब नागरिकको बेग्र प्रतिक्षा पुरा हुने उनको भनाई छ ।
विद्युतको लाईन परिक्षण सुरु
चुकेनी जलविद्युत आयोजनाबाट उत्पादन भएको बत्तीको लाईन परिक्षण सुरु गरिएको छ । चार वर्षपछि अन्तिम चरणमा पुगेको उक्त आयोजनाले पातारासी गाउँपालिकाका ७ वटै वडा र जुम्ला सदरमुकाम क्षेत्रमा लाईन विस्तार गर्न लागेको हो ।

आईतबार एक सूचना जारी गर्दै चुकेनीखोला विद्युत सहकारी संस्थाले पावरहाउसमा बत्ती बली सकेको र विद्युतको लाईन विस्तार बत्ती परिक्षणको काम भईरहेको जनाएको छ । विद्युतको तार तथा पोल जडान भएका क्षेत्रमा विद्युत परिक्षण सुरु भएकोले अर्को सूचना नहुन्जेल सम्म पोल तथा तार नचलाउन,नछुन र सावधानी अपाउन समेत आयोजनाले सर्वसाधारणलाई अपिल समेत गरेको छ ।

पातारासी गाउँपालिका वडा नं. १ देखि ७ सम्म पोल तथा तार जडान भएका क्षेत्र,चन्दननाथ नगरपालिकाको ठिन्के देखि घुघुती  सम्मका लाईनका तार तथा पोल र चुकेनी खोलादेखी,लासी उर्थु हुदैँ जुम्ला बजारको मुख्य लाईनका तार पोल परिक्षण अवधिभर नछुन आग्रह गरेको छ ।

ढिलोमा अबको एक महिनाभित्र सबैघरघरमा  बत्ति बाल्ने गरी विद्युत आयोजनाको लाईन परिक्षण भईरहेको छ ।  पातारासीका स्थानीय बुद्धि एैडी भन्छन्, ‘आयोजना कहिले बन्ला भनेर दिन गन्दै बसेका स्थानीयका लागि ढिलै भएपनि चुकेनी आयोजनाले खुसीको खबर दिएको छ । विभिन्न समयको भाका पुरा नभएपनि पावर हाउसमा बत्ती बलेर लाईननै परिक्षण सुरु भएपछि चाडै गाउँघर झिलीमिली हुने आशामा स्थानीय छन् ।’

चुकेनी जलविद्युत आयोजना निर्माणको ठेक्का फेवा कन्स्ट्रक्सन प्रालि पोखराले लिएपनि स्थानीयस्तरमा मेगाहाइड्रो एण्ड इन्जिनियरिङमार्फत् काम गरिरहेको छ ।

मेघाका प्रबन्धक चन्द्र भण्डारीले कोरोना तथा केहि प्राविधिक समस्याले सम्झौता भन्दा ढिला भएपनि डिजाईन स्टमेटअनुसार काम भएको बताए । लाईन परिक्षण सकेर उद्घाटन गरी आयोजना हस्तान्तरण गर्ने तयारी भएको उनको भनाई छ ।

प्रकाशित मिति : २०८१ बैशाख ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस