जुम्ला-जुम्लाको सिंजा गाउँपालिका – ६ को दुर्गम जोडुगाउँमा माध्यामिक विद्यालयको सुन्दर आर्कषक भुकम्प प्रतिरोधी भौतिक संरचना भवन निर्माण भएको छ । अपांगमैत्री भौतिक संरचना चार कोठे भवन, तीन कोठे शौचालय र बालमैत्री खानेपानीका धारा निर्माण भएका छन् । राज्यका विकास साँझेदार संस्था प्लान नेपाल र पेस नेपाल जुम्लाले सञ्चालन गरेको आधार परियोजना अन्र्तगत विद्यालयका भौतिक संरचना निर्माण भएका हुन् ।

जुम्लाको दुर्गम भेगको जोडु माध्यामिक विद्यालय । पुराना भौतिक संरचना । चारैतिर भत्किएका पर्खाल । जहाँ भत्किएका पर्खाल भित्र विद्यालयमा यसअघि विद्यार्थीको पठनपाठन हुने गरेको थियो । लामो समयदेखि बाढीपहिरो प्रभावित विद्यालय हो । जोडु र भाडगाउँको बिचमा पर्ने जोखिमपूर्ण स्थानमा विद्यालय रहेको छ । बाढीपहिरोले विद्यालयका सबै संरचना भत्किएका छन् । त्यही भत्केकै विद्यालयमा घाम लागेको दिनमा विद्यार्थी पठनपाठन गर्न बाध्य छन् । जब पानी पर्न थाल्छ अनि विद्यालयबाट आधा पढेरै घर जानुपर्ने स्थिति थियो ।

सिंजा गाउँपालिका शिक्षा शाखा प्रमुख शंकर धितालका अनुसार अब यहाँका विद्यार्थीले पहिलेको जस्तो स्थितिमा पठनपाठन गर्नुपर्ने बाध्यता अन्त्य भएको छ । नयाँ शैक्षिक सत्रसँगै विद्यार्थी पुराना भत्तेका भवनमा नयाँ निर्माण भएका भौतिक संरचना सर्ने भएका छन् ।
गतवर्ष राष्ट्पति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत दुई कोठे भवन निर्माण भएको छ । अहिले प्लान नेपाल र पेस नेपालको सहयोगमा चार कोठे भवन, तीन कोठे शौचालय र खानेपानी, हात धुने धारा बनेका छन् । गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले भने अहिले नयाँ शैक्षिक सत्रको भर्ना अभियान चलिरहेको छ । अब बैशाख १५ गतेभित्र विद्यार्थी नयाँ निर्माण गरेका भवनमा सर्ने छन् । पठनपाठन सहज हुने भएको छ । अघिल्लो शैक्षिक सत्र अनुसार विद्यालयमा २ सय ९८ विद्यार्थी अध्ययनरत छन् । नयाँ शैक्षिक सत्रमा पनि विद्यार्थी थपिन्छन् ।

हिमा गाउँपालिका – ३ जोगीवाडास्थित भैरव आधारभुत विद्यालयमा चार कोठे भवन, ३ कोठे शौचालय र ६ ओटा धारा निर्माण कार्य अन्तिम चरणमा पुगेका छन् । यसै गरी सोही गाउँपालिका– ४ माथिल्ला कुडुस्थित महादेव आधारभुत विद्यालयमा ४ कोठे भवन, शौचालय र हात धुने स्थान निर्माणाधिन अवस्थामा छन् । कनकासुन्दरी गाउँपालिका –४ लेकपोरस्थित भैलेपाटा आधारभुत विद्यालयमा २ कोठे दुई ब्लक विद्यालय भवन निर्माण भईरहेको छ । यसै गरी सोही गाउँपालिका – ६ गोरुचौरस्थित श्रीआधारभुत विद्यालयमा ४ कोठे भवन, ३ कोठे शौचालय र ६ वटा धारा भएको हातधुने स्थान निर्माणाधिन छन् ।
पेस नेपालका कार्यकारी निर्देशक किशोर न्यौपानेका अनुसार जोडु माध्यामिक विद्यालयको सवै संरचना निर्माण सम्पन्न भएका छन् । कनकासुन्दरी र हिमा गाउँपालिका ४ विद्यालयमा निर्माणाधिन संरचना बैशाख १५ गतेभित्रै सम्पन्न गरी विद्यालयलाई हस्तान्तरण गर्ने गरी काम तिब्रगतिमा भईरहेको छ ।




